आमाको साहास : चितुवाको मुखबाट छोरा खोसेर बचाइन्

आमाको साहास : चितुवाको मुखबाट छोरा खोसेर बचाइन्

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ९ १४:१९ बजे
आमाको साहास

 काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका(१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।

साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको जनाइएको छ । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको  जनाइएको छ ।  साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको  डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताएका छन् । 

परियारलाई लैजान थालेपछि उनकी आमा लक्ष्मी पनि चितुवाको पछि पछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीयले बताएका छन् । 

घाइते परियारको बन्दीपुर गाउँपालिका(४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले  बताएका छन्।

परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

२०७९ भदौ ९ १४:१९ बजे

प्रतिक्रिया