कैलाली। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।भुर्तेलले डडेल्धुराको फेन्ड्स क्लबबाट धनगढीमा यही माघ १९ देखि २८ गतेसम्म हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन्।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा डडेल्धुराको फेन्ड्स क्लबले डीसीए धनगढी विरुद्ध खेल्नेछ।प्रतियोगिता हेर्न खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिइएको आयोजकले जनाएको छ। डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिइने भएको छ।फेन्ड्स क्लबले माघ २१ गते वोस्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ। लिग चरणका सबै खेलका प्रमुख तथा गेम चेञ्जर खेलाडीहरुको रुपमा कुशल भुर्तेल रहनेछन्।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना हुने अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रुपमा टी-२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन्।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।प्रतियोगितामा देशका ८ वटा क्लबको सहभागिता रहेको छ। सबै टोलीले ‘ए’ क्याटोगोरीका चार, ‘बी’ क्याटोगोरीका पाँच र बाँकी ‘सी’ क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन्।
प्रतिक्रिया