संसदीय व्यवस्था तथा प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने संविधान संशोधन नौटङ्की मात्र हो, जनगणतान्त्रिक संविधान निर्माण गरौ-गौरव

नेपालको वर्तमान अर्थ–राजनीतिक समस्याको प्रमुख आन्तरिक कारण दलाल तथा नोकरशाही पुँजीवादी र सामन्त वर्गीय राज्यसत्ता हो भने वाह्य कारण मुख्यतः अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद हुन् ।

bimbonline बिम्ब अनलाइन
२०८१ माघ ३ ०९:१० बजे
सि.पि. गजुरेल गौरव क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका का.वा. महासचिव

काठमाण्डौ। सत्तासिन सँसदिय पार्टीहरु नेपाली काग्रेस र नेकपा((एमाले)ले सविधान सँशोधन गर्ने सहमति गरेर गठवन्धन सरकार निर्माण गरे पछि अहिले देशमा  संविधान संशोधनको बहसले चलिरहेको छ। यस सम्बन्धमा क्रान्तिकारी कम्युनिष्ट  पार्टीका का.वा. महासचिव गौरवले आज एक वक्तव्य  जारी गरिएको छ । 

वक्तव्यमा भनिएको छ- नेपालमा २००७ सालदेखि जनसंघर्ष, जनयुद्ध लगायत विभिन्न जन आन्दोलनहरु हुँदै आएका छन् । ती नै संघर्षका बलमा पटक–पटक नयाँ संविधान लेखिएका छन् र शासन व्यवस्थामा आंशिक रुपमा केही सकारात्मक राजनीतिक परिवर्तन पनि भएका छन् । तर ती राजनीतिक परिवर्तन पछि निर्मित कुनै पनि संविधानले देशको अर्थ–सामाजिक अवस्थामा आधारभूत परिवर्तन गरेका छैनन् । राणाकालीन राज्यसत्ताको संरचना र कानुन अहिलेसम्म यथावत छन् । अर्थ–सामाजिक अवस्था तथा राज्यसत्तामा आमूल परिवर्तन नभएसम्म देश र जनताले भोग्दै आएका राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका यावत समस्याहरु कहिल्यै समाधान हुदैनन् । फलतः बारम्बार आन्दोलन र संविधान संशोधनका मुद्दा उठिरहन्छन् । 

नेपालको वर्तमान अर्थ–राजनीतिक समस्याको प्रमुख आन्तरिक कारण दलाल तथा नोकरशाही पुँजीवादी र सामन्त वर्गीय राज्यसत्ता हो भने वाह्य कारण मुख्यतः अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद हुन् । नेपालमा साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको नेतृत्वमा रहेको संसदीय व्यवस्था तथा प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने कुनै पनि प्रकारको संविधान संशोधनको नौटङ्की आन्दोलित जनतालाई भ्रममा पार्ने र नेपाललाई सधैं वाह्य शक्ति केन्द्रहरुको अखडा बनाइराख्ने भ्रमजाल बाहेक अरु केही होइन । यसकारण हाम्रो पार्टीले यो प्रतिक्रियावादी संविधानको संशोधन होइन यसको पूर्ण खारेजीे र संघीय जनगणतान्त्रिक संविधान निर्माणको माग गर्दछ ।

के कुरा प्रस्ट छ भने साम्राज्यवाद तथा विस्तारवादका दलाल प्रतिक्रियावादी शासकहरुले सजिलै जनगणतान्त्रिक संविधान निर्माण गर्न दिने छैनन् । यसका लागि देशका मजदुर तथा किसान सहित आम उत्पीडित जनसमुदायको संघर्षको दवाव आवश्यक हुन्छ । यस स्थितिमा हाम्रो पार्टीले मजदुर, किसान सहित आम उत्पीडित जनता र संपूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरुसित वर्तमान संविधानको पूर्ण खारेजी र संघीय जनगणतान्त्रिक संविधान निर्माणका लागि सडकबाट आवाज बुलन्द गर्न हार्दिक अपील गरिएको छ ।

वक्तव्य-

 



२०८१ माघ ३ ०९:१० बजे

प्रतिक्रिया