माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग क्युवाली कम्युनिष्ट पार्टीका नेता फर्नान्डो गोञ्जालेजले भेट गरेका छन् । गोञ्जालेज महान अक्टोबर समाजवादी क्रान्तिको १०७औँ वार्षिकोत्सवको अवसरमा भारत हुँदै नेपाल आइपुगेका हुन् ।
फर्नान्डो उनै गुप्तचर नेता हुन्,जसलाई अमेरिकाले सन् १९९८ मा पक्रेर डेढ दशकपछि सन् २०१४ मा रिहा गरेको थियो । १५ वर्षको जेल सजाय कटाएर अमेरिकी जेलबाट रिहा भएका क्युबाली ‘पाँच जासुस नेता’ लाई क्युवाका तत्कालीन राष्ट्रपति राउल क्यास्ट्रोले राजधानी हवानामा स्वागत गर्दै ‘राष्ट्रनायक’ घोषणा गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँगको भेटमा उनले दशकौँ लामो क्युवाविरुद्धको अमेरिकी प्रतिबन्ध मानवाधिकारको सिद्धान्तविपरीत रहेको दाबी गरेका छन् । मानवताविरोधी गतिविधिको चर्को बिरोध र न्यायोचित व्यवहारको पक्षमा नेपालले निरन्तर पैरवी गरिरहेको जनाउँदै उनले नेपाली कम्युनिस्टहरूलाई धन्यवाद दिएको बताइन्छ ।
क्युवाली नेता फर्नान्डोले काठमाडौँ आउनुअघि नयाँ दिल्लीमा भारतीय कम्युनिस्ट पार्टीका विभिन्न नेताहरुसँग पनि भेटघाट गरेका थिए । उनले वामपन्थीहरुको गढ मानिने जेएनयूको अन्तरक्रिया कार्यक्रममासमेत आफ्नो धारणा राखेका थिए ।
नेपाल र क्युबाबीच झण्डै पाँच दशकदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । सन् १९७५ मार्च २५ देखि कूटनीतिक सम्बन्ध रहेको क्युवा मामिला हेर्ने जिम्मेवारी क्यानाडाको ओटावास्थित नेपाली दूतावासलाई दिइएको छ । नेपालका लागि भने क्युवाको नयाँ दिल्लीस्थित आवासीय राजदूतावासले उक्त जिम्मेवारी पाएको छ ।
प्रतिक्रिया