पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देही लगिँदैछ। उनलाई आज बयानका लागि रुपन्देही लैजान लागिएको हो।
प्रहरीले लामिछानेलाई रुपन्देही लैजानका लागि बिहानै पोखरा एयरपोर्ट पुर्याएको छ। उनलाई आजै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी छ।प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएको हो।
प्रतिक्रिया