सहकारी पीडित र रास्वपाको आन्दोलन

bimbonline बिम्ब अनलाइन
२०८१ कात्तिक १२ ०७:०२ बजे
विक्रम थापा

वास्तबमा यो हप्ता पोखरा समचारको केन्द्र भागमा रह्यो किनकि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा रास्वपाको केन्द्रीय कार्यालयबाटै प्रहरी प्रशासनले गिरफ्तार गरी रातारात सडक मार्ग हुँदै कास्की स्थित जिल्ला प्रहरी कार्यालय गैह्रापाटनमा उपस्थित गराइएको थियो । अर्को तर्फ रास्वपाका समर्थकहरुले सडक मार्गका खास खास स्थानहरुमा जम्मा भएर आफ्ना नेताको गिरफ्तारीको बिरोध गरेका थिए ।

रबि लामिछानेको पक्राउ पछि पोखरामा आसपासका जिल्लाहरुबाट मात्रै हैन देशै भरिबाट आफ्ना कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु जम्मा भए । खासमा रास्वपाका समर्थकहरूको पोखरा आगमनलाई दुई प्रकारले हेर्न सकिन्छ । पहिलो, आफ्नै नेताको पक्राउको बिरोधमा सहभागी हुनु र दोस्रो , पर्यटनको राजधानी पोखरा घुमघाम आदि । शनिबारको बिदा पारेर पोखरा ल्याइएकोले पहिलो दिन जिल्ला प्रहरी कार्यालय क्षेत्र नजिक केही तनाबको स्थिति देखिन्थ्यो भने आसपासका ठाउँहरु महेन्द्रपुल, चिप्लेढुङ्गा क्षेत्रहरुमा बाक्लै सुरक्षा तैनाथ गराइएको थियो । यता रास्वपाका समर्थकहरु सडकमा आफ्ना मागहरू सहित गैरराजनैतिक भाष्य समेतको प्रयोग गरेर टाउकोमा सेतो कफन बाँधेर सडक बिरोधमा उत्रेको गज्जबको रोचक दृश्य देखिन्थ्यो 

आइतबारको दिन रबि लामिछानेलाई अदालतमा हाजिर गराइ अनुसन्धानको लागि ६ दिनको म्याद थमाउने कार्य सम्पन्न भएको थियो । यो समयमा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यलयको नजिकको क्षेत्रहरुमा निषेधित क्षेत्र नै घोषणा गरी सुरक्षा ब्यबस्थालाई मजबुत पारिएको थियो किनकि कास्कीमा कृयाशील ठुला र सत्ता पक्षीय पार्टीहरु एमाले र काङ्ग्रेसले एक पार्टी प्यालेसमा संयुक्त बैठक बसी सहकारी पीडितहरुलाई सहयोग गर्ने भद्र सहमति गरेका थिए । यो सहमतिले सहकारी पीडितहरुका लागि सकारात्मक सन्देश पैदा गर्यो भने अर्को तर्फ सहकारी पीडितलाई अघि सारेर सत्ता पक्षले प्रतिशोध साधेको जस्तो पनि देखियो तर यो आलेख तयार गर्दा सम्म सहकारी पीडितहरुको आन्दोलन एकत्रित भएर नगएको भने पक्का छ 

पछिल्लो समयमा रास्वपाको आन्दोलनको कार्यक्रम सहकारी पीडितहरुको पक्षमा देखिनुले अबका दिनमा काङ्ग्रेस र एमालेलाई समर्थन गर्ने सहकारीका ठग, अपराधीहरु राज्यको कानुनी दायरामा ल्याउन सक्ने ल्याकत बर्तमान सरकारले राख्छ कि राख्दैन या सरकारको आयुमा नै प्रश्न चिन्ह खडा हुन्छ रु यो हेर्न बाकी छ भने अर्को तर्फ पोखराका नागरिक अगुवाहरुले अदालती काम कार्वाहीमा असर गर्ने गतिविधि नगर्नको लागि अपिल गर्दै बक्तब्य समेत जारी गरेका छन् । यता पोखराका विभिन्न ठाउँहरुमा रास्वपाका कार्यक्रमहरु निरन्तर रहने जानकारी समेत सार्बजनिक मिडियामा देख्न सकिन्छ ।सबै सहकारीका पीडितहरु एक ठाउमा नरहेको बुझिन्छ ।

सहकारी पीडितहरूले पनि आन्दोलन गरेका छन् तर सहकारी पीडितहरूका वीचमा एकता भएको देखिएन। रबिको रिहाइको आन्दोलनले कानुनी राज्यको मुल्य÷ मान्यता माथि दख्खल गरेको आरोप लाग्ने देखिए पछि आन्दोलनको स्वरुपमा परिबर्तन गरी सहकारी पीडितहरुको पक्षमा बोलेको देखियो । काङ्ग्रेस र एमाले भित्रै सहकारीका ठूला रकमको अपचलन गर्ने पात्रहरु पनि छन् जुन मिडियामा छर्पस्ट देख्न सकिन्छ ।

संसदीय छानबिन समितिको प्रतिवेदनले रबिलाई सहकारीमा दोषी देखाएको छैन भन्ने रास्वपाका कार्यकर्ताको बुझाइ छ । स्वयं रबिले पनि गल्ती गरेको होइन भन्ने आत्मविस्वास प्रकट गर्नु , भर्खर जन्मिएको पार्टीले पुरानो दलहरूको औचित्य माथि प्रश्न गर्दै हमला गर्नु आदिले कार्यकर्तामा उत्साह देखिन्छ ।

हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पहिले नै प्रेस बक्तब्य मार्फत त्यस सम्बन्धमा आफ्नो धारणा स्पष्ट गरेको छ । हाम्रो पार्टी सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्दछ र रबि मात्र होइन सबै सहकारीका ठगहरु÷रकम अपचलन गर्ने अपराधीहरु सबैलाइ कानुनी दायरामा लिएर कार्बाही गर्नु पर्छ । बचतकर्ताका रकम फिर्ता हुनु पर्छ ।

(लेखक- क्रान्तिकारी कम्युनिष्ट पार्टी कास्कीका सचिव हुनुहुन्छ)



२०८१ कात्तिक १२ ०७:०२ बजे

प्रतिक्रिया