ब्यापारी तस्करको पार्टी बन्दै एमाले

ललिता निवासको सरकारी जग्गा प्रकरणमा गुरुङलाई विशेष अदालतका न्यायाधीसहरु खुशीराम थारु, रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख जरिवाना फैसला सुनाएको थियो

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २९ १२:१८ बजे

काठमाण्डौ।नेपालमा नामुद ब्यापारीका रुपमा कहलिएका छन्, मीनबहादुर गुरुङ । उनको काठमाडौंसहित देशैभर गरी २५ वटा भाटभटेनी सुपरस्टोर छन् । ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय भवन बन्दैछ, त्यो पनि गुरुङले नै निर्माण गरिदिँदैछन् । त्यसको लागत कति खुलेको छैन तर ब्यापारीबाट सहयोग लिएर पार्टी कार्यालय बनाउन लागिएकोमा एमालेभित्रैबाट आलोचना भइरहेको छ । 

भाटभटेनी सुपरमार्केटका सञ्चालन मिनबहादुर गुरुङ पछिल्लो समय आफूले दान दिएको १० रोपनी १४ आना जग्गामा एमालेको सुविधा सम्पन्न भवन बनाइने विषयले पुनः चर्चामा छन् । गुरुङ ललिता निवासको सरकारी जग्गा प्रकरणमा पनि मुछिएका ब्यक्ति हुन् । ललिता निवासमा मीन बहादुर र उनका नातेदारहरुको नाममा झण्डै २९ रोपनी जग्गा भेटिएको थियो । ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा उनी पटक पटक पक्राउ परेका छन् । गुरुङलाई विशेष अदालतका न्यायाधीसहरु खुशीराम थारु, रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख जरिवाना फैसला सुनाएको थियो

। पछिल्लो पटक २०८० भदौमा जिल्ला अदालत काठमाडौंको आदेशमा २ करोड ४६ लाख धरौटी जम्मा गरी छुटेका थिए । अनुसन्धानका क्रममा गुरुङ पक्राउ पर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली तत्कालिन सरकारमाथि निकै आक्रोशित थिए । उनै गुरुङले काठमाडौंको कीर्तिपुरमा एमालेलाई उपलब्ध गराएको जग्गामा उनैले नै अत्याधुनिक पार्टी कार्यालय भवन बनाइदिने घोषणा गरेपछि प्रधानमन्त्री ओलीले भवनको शिलान्यास गरिसकेका छन् । तर ब्यापारीको सहयोगमा पार्टी कार्यालय निर्माण गर्न लागिएकोमा भने एमालेका नेता कार्यकर्ताहरुले नै आलोचना गरिरहेका छन् । एमाले स्थायी समिति सदस्य समेत रहेकी डा. विन्दा पाण्डेले सामाजिक सञ्जालमा नै पार्टी कार्यालय निर्माण गर्न लागिएकोमा आलोचना गरेकी छन् । एमालेको निर्णयलाई उनले साढे ५ लाख पार्टी सदस्यको शीर झुकाउने तथा २८ लाख मतदाताको अपमान गर्ने कदम भनेकी छन् ।  

‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ ।’ –विन्दाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छन् । एमाले थुप्रै नेता कार्यकर्ताहरुले यस्तो कदमले पार्टीलाई लज्जित बनाएको बताएका छन् । तर विन्दाले जस्तो खुलेर विरोध गर्न भने सकिरहेका छैनन् । 

एमाले महासचिव शंकर पोखरेलले भने आधुनिक नेपाल निर्माणको सन्दर्भमा पार्टीलाई आधुनिक भवन खाँचो पर्ने बताइरहेका छन् । जसका लागि ब्यापारी गुरुङ पार्टीको सारथि बनेका छन् । गुरुङले ९ रेक्टरको भूकम्प धान्ने गरी सबै विपद्लाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाइदिने भन्दै आगामी वर्ष २०८२ को घटस्थापनामा भवन उद्घाटनको निम्तो समेत दिइसकेका छन् ।  



२०८१ असोज २९ १२:१८ बजे

प्रतिक्रिया