फुटपाथ बजार हटाएर मोटरसाइकल पार्किङ, पैदलयात्रीलाई उस्तै सास्ती

फुटपाथ बजार हटाएर मोटरसाइकल पार्किङ, पैदलयात्रीलाई उस्तै सास्ती

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १४:३७ बजे
पैदलयात्रीलाई उस्तै सास्ती

काठमाडौं । देशको राजधानी काठमाडौं मुख्य मुख्य चोकहरू फुटपाथ पसल र मोटरसाइकलले भरीएका छन् । महिना दिन अगाडिको मात्र घटना हो काठमाडौंको नगर प्रहरीले फुटपाथ बजार हटाउने क्रममा एक मकै पोलिरहेका ठेला व्यापारीका सामान फ्याँक्दै ठेला गाडीमा हालेको दृश्य सामाजिक सञ्जालमा भाइरल नै बन्यो । त्यसपछि यो घटना धेरै दिनसम्म चर्चामै रह्यो । सामान्य नागरिकले ठेलामा मकै बेच्न पनि नपाउने, नेताले देश बेचे पनि केही नहुने भन्दै विरोध र आलोचना पनि भयो ।

 काठमाडौंलाई  सुन्दर र व्यवस्थित बनाउन  काठमाडौं महानगरपालीका निरन्तर लागि रहेको छ ।  काठमाडौंलाई  अव्यवस्थित बजार भन्दा  पनि फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौतीको रुपमा  खडा भएको छ । पछिल्लो समय काठमाडौं महानगरले नयाँ बानेश्वर र रत्नपार्कको फुटपाथ बजार हटाएको छ । पैदलयात्रीलाई हिडडुलमा असहज भएको र भिडभाड धेरै हुने गरेको भन्दै फुटपाथ बजार हटाइयो तर पनि महानगरको उद्देश्य पूरा हुन सकेन ।

नयाँ बानेश्वरमा जहाँ पहिले फुटपाथ बजार लाग्थ्यो त्यो हटाइ सकेपछी अहिले त्यहाँ मोटरसाइकल  खचाखच भरीएका छन् । पैदलयात्रीलाई हिड्न भनेर छुट्याइएको फुटपाथमा मोटरसाइकल पार्किङ मात्र हैन मोटरसाइकल नै आवतजावत गर्छन् तर यसतर्फ कसैको ध्यान गएको देखिदैन जसले झनै असहज भएको पैदलयात्री बताउछन् । 'महानगरले फुटपाथ बजार हटायो, राम्रो काम हो तर यहाँ अहिले जसरी लस्करै मोटरसाइकल पार्किङ गरिएको छ यो र फुटपाथ बजारमा के फरक भयो र,' आइतबार बेलुका बानेश्वरको फुटपाथमा हिड्दै गरेका प्रेम साउदले भने, 'फुटपाथ बजार हटाएर यसरी अव्यवस्थित पार्किङ गर्दा पनि पैदलयात्री मर्कामै पर्ने त हुन ।'

यो विषयमा काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरसँग बुझ्दा उनले नयाँ बानेश्वर र रत्नपार्कको फुटपाथ बजार हटाइएको बताउदै कतै पनि मोटरसाइकल पार्किङ नगरिएको बताए । उनले भने, नयाँ बानेश्वर र रत्नपार्कको फुटपाथ बजार हटाइएको हो । नयाँ बानेश्वरमा फुटपाथमै मोटरसाइकल पार्किङ गरिएको छैन, एकदुई जनाले गरेको भए अलग कुरा हो ।'

२०७९ भदौ ८ १४:३७ बजे

प्रतिक्रिया