काठमाडौं । संयुक्त राज्य अमेरिकाका ब्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्मा यतिबेला नेपाल भ्रमणमा छन् । भ्रमणको क्रममा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका उनले अन्य राजनीतिक भेटवार्ता तीब्र पारेका छन् ।
बर्मा नेपाल भ्रमणसँगसँगै भारतको भ्रमण गर्दैछन् । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट पारित भई कार्यान्वयनमा आएसँगै अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको हो ।
केही वर्षयता अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । २०७८ फागुन २५ गते प्रतिनिधिसभाबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) कम्प्याक्ट पारित गरेपछि अमेरिकी अधिकारीको नेपाल भ्रमण बाक्लिएको हो ।
एमसीसीका विषयमा सवत्र विरोध भएपछि राजनीतिक दलहरुले चलाखीपूर्वक १२ बुँदे ब्याख्यात्मक घोषणा गर्दै संसदबाट अनुमोदन गराएका थिए । एमसीसी परियोजना अमेरिकाको ‘इण्डो प्यासेफिक रणनीति’ भएको भन्दै राजनीतिक वृत्तमै विरोध भइरहँदा संसदबाट अनुमोदन गरिएपछि नेपाल भू–राजनीतिक चेपुवामा पर्ने चर्चा चुलिएको थियो ।
विरोधैकै संसदबाट एमसीसी कम्प्याक्ट अनुमोदन गरिएपछि अमेरिकाबाट जो बाइडेन प्रशासनका उच्च अधिकारीहरुले एकपछि अर्को गरी नेपाल भ्रमण गरेका छन् । झण्डै डेढ वर्षअघि अमेरिकी सरकारको मन्त्री सरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावरले नेपाल भ्रमण गरिन् । सामन्थाको भ्रमण अमेरिकी अधिकारीहरुको झण्डै २२ वर्षपछिकै उच्च थियो ।
सन् २००२ मा पूर्वअमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालमा सशस्त्र द्वन्द्वका बेला नेपाल भ्रमण गरेका थिए । त्यसपछिको अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण गर्ने सामन्था दोस्रो बनिन् ।
राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड, मध्य एसियाली मामिला ब्युरो (एससीए)का उपसहायक सचिव अफ्रिन अख्तर, राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार, अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल सिफर लगायतले नेपाल भ्रमण गरिसकेका छन् । त्यपछि पनि अमेरिकी सेनेटर (सांसद) क्रिस भान होलेनका साथै अमेरिकी अन्य सांसदहरूले नेपालको भ्रमण गरेका थिए ।
संयुक्त राज्य अमेरिकाका ब्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्मा यतिबेला नेपाल भ्रमणमै छन् । शुक्रबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका उनले संक्रमणकालिन न्याय सम्बन्धी टीआरसी विधेयकमा चासो राखेका थिए । प्रधानमन्त्री ओलीले सन् २०२६पछि अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन लागेको विषयमा पनि बर्मालाई जानकारी गराएका थिए ।
अमेरिकी अधिकारी बर्माले नेपालपछि भारतको भ्रमण गर्दैछन् । दक्षिण र उत्तरी छिमेकी मुलुकको प्रत्यक्ष राजनीतिक प्रभाव रहने गरेको नेपालमा पछिल्लो समय अमेरिको प्रभाव बढ्दै गएको छ ।एमाले–माओवादी गठबन्धन भत्किएर कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माणमा पनि दक्षिण र उत्तरी छिमेकीको नभई अमेरिकी हात रहेको आशंकाहरु गरिएका छन् ।
नेपाली राजनीतिक वित्तमा अमेरिकी प्रभावलाई सामान्य ठानिए पनि सरकार निर्माणमै अमेरिकी प्रभाव बढ्दै जानुलाई उत्तरी तथा दक्षिणी छिमेकी मुलुकहरुले भने गम्भीर रुपमा लिएका छन् ।
प्रतिक्रिया