काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक काठमाडौंमा सुरु भएको छ । २९ श्रावणसम्म सञ्चालन हुने बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका संयोजक मोहन वैद्य किरणले कञ्चन समुहको प्रवृत्ति किटान गर्नु भएको छ ।
उहाँले कञ्चन समुहले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद नभएर ‘सुधारवादी समाजवाद’ भएको पनि ठहर गर्नुभयो । पूर्व नेकपा (बहुमत) सित सम्बद्ध उक्त समूहले अराजकतावादी व्यक्तिवाद अवलम्बन गरी पार्टी एकताको सैद्धान्तिक एवम् राजनीतिक सहमति तोडेको, पार्टी एकताको तीन बुँदे विधि तथा पद्धति तोडेको, रहस्यमय भेटघाट र षड्यन्त्रमूलक कार्यशैली अवलम्बन गर्दै आएको र एक पार्टी दुई कार्यनीति अवलम्बन गरी गुटवाद र फुटवादको प्रक्रिया अगाडि बढाएको भन्दै उहाँले माक्र्सवादसँग असंगतिपूर्ण तर्क, तथ्यको तोडमोड, परिस्थितिको मनोगत विश्लेषण, विरोधाभाषपूर्ण र गम्भीर प्रकृतिको पश्चगामी चिन्तन, समाजवादमा कम्युनिस्ट अधिनायकत्वको हाँस्यास्पद तर्क, सर्वहारावर्गको अधिनायकत्वको निषेध आदिका कारणले कञ्चन समूहले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद नभएर ‘सुधारवादी समाजवाद’ भएको स्पष्ट पार्नुभयो ।
दर्शनको क्षेत्रमा बहुलवादी, सारसंग्रहवादी र वितण्डतावादी, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा दलाल पुँजीपतिवर्गको पक्षपाती, राष्ट्रिय आत्मसमर्पणवाद र साम्राज्यवाद परस्त चिन्तन, र समाजवादको क्षेत्रमा अराजकतावादी व्यक्तिवादमा आधारित चिन्तन, राष्ट्रिय मुक्ति आन्दोलन र युद्धलाई अस्वीकार, वर्गसमन्वयवादी आदि प्रवृत्ति देखिएको पनि उहाँले बैठकमा स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया