क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन कार्तिक २ गते काठमाडौंमा हुने

bimbonline बिम्ब अनलाइन
२०८१ असार १७ २१:५४ बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने निधो गरेको छ । महाधिवेशनबाट पार्टीको नयाँ कार्यदिशा र कार्यनीतिको विकासका लागि १९ वटा दस्तावेजहरु प्रस्तुत भएका छन् । ती दस्तावेजहरु छलफल र बहसका लागि तल्ला कमिटिहरुमा पठाउने सो पार्टीको केन्द्रीय समितिले निर्णय गरेको छ ।

बैठकमा प्रस्तुत गरिएका दस्तावेजहरु केन्द्रीय सदस्यहरुको समूह बनाएर छलफल गरिएको थियो । समूहमा उठेका विषयहरु समूह नेताहरुले प्रस्तुत गरेका थिए । विभिन्न १० वटा समूह बनाएर दस्तावेजहरुमाथि छलफल चलाइएको थियो ।

राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्ताव पार्टीका संयोजक किरणले, समानान्तर राजनीतिक प्रस्ताव सहसंयोजक कञ्चनले, सामरिक कार्यदिशासम्बन्धी प्रस्ताव दिपकले, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसम्बन्धी प्रस्ताव गौरवले, नेपालको कम्युनिस्ट आन्दोलनसम्बन्धी प्रस्ताव सुदर्शनले, सांगठानिक प्रस्ताव राजवीरले, विज्ञान तथा प्रविधि सम्बन्धी प्रस्ताव प्रवीरले, धर्म र संस्कृतिबारे प्रस्ताव प्रितमले, जलवायुसम्बन्धी प्रस्ताव सहसंयोजक असिमले, आर्थिक तथा उत्पादन सम्बन्धी नीति एसटिले, दलित सम्बन्धी नीति आजादले, आदिवासी जनजाति सम्बन्धी नीति प्रभाकिरणले र पार्टी विधान प्रस्ताव कञ्चनले प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा केही फरक मतहरु पनि प्रस्तुत भएका थिए । कार्यनीतिसम्बन्धमा राजवीर, जनजाति नीति तथा जातीय क्षेत्रीय स्वायत्तताबारे रामबहादुर बुढा, जनयुद्ध, माओवाद÷विचारधाराबारे असिम र राज्य पुनसंरचनाबारे कुमोदको फरक प्रस्ताव समेत प्रस्तुत भएका थिए ।बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा प्रस्तुत ती प्रस्तावहरुलाई तीनवटा विधि मार्फत् महाधिवेशनबाट नयाँ संश्लेषणमा पु¥याउने निर्णय गरेको छ ।

सहमतीय विधि, जनवादी–केन्द्रीयता, र द्वन्द्वात्मक भौतिकवादी विधि अर्थात् एकता–संघर्ष–रुपान्तरण, मुख्यतः रुपान्तरणको विधिबाट नयाँ आधारमा नयाँ एकताको ठाउँमा पुगेर नेपाली क्रान्तिको मार्गदिशा तय गर्ने गरी पार्टीको कार्यदिशा र कार्यनीतिको विकास गर्ने उद्देश्य राखिएको छ ।व्यवस्थित र मैत्रीपूर्ण वैचारिक संघर्ष सञ्चालन गर्नका निमित्त बैठकले ‘विचारधारा’ नामको पत्रिका सञ्चालन गर्ने निर्णय गरेको छ भने औपचारिक तथा अनौपचारिक रुपमा पार्टीभित्र फोरम सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

पार्टीको विचार र राजनीतिको विषयमा सामाजिक सञ्जालमा लेख्न र बहस गर्न प्रतिबन्ध लगाइएको छ । र, निश्चित मापदण्ड तथा आधारसंहिता बनाएको छ । बैठकले प्रतिनिधि, पर्यवेक्षक छनौट, व्यवस्थापन, प्रचार प्रसारका लागि विभिन्न समिति र उपसमितिहरु बनाउने पनि निर्णय गरेको छ ।महाधिवेशनलाई लक्षित गरेर छरिएर रहेका विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, व्यक्ति, समूहलाई पनि एकतामा आउन विशेष आग्रह पनि बैठकले गरेको छ ।


२०८१ असार १७ २१:५४ बजे

प्रतिक्रिया