सुदूरपश्चिममा एमालेका तीन जना मन्त्री सहभागी हुने

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २८ १३:४५ बजे

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुदूरपश्चिम सरकार विस्तारका लागि समझदारी जुटेपछि मुख्यमन्त्री सोडारीले सरकार विस्तारको तयारी गरेका छन्।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमाले सरकारमा सामेल नहुने अडानमा थियो। शीर्ष तहमा समझदारीपछि एमाले सरकारमा सामेल हुन तयार भएको छ।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने तीन मन्त्रीको नाम पनि टुंगो लगाएको छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र बहादुर पालको नेतृत्वमा एमाले सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने भएको छ। एमालेले दाबी गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पालले पाउने छन्।  यस्तै, एमाले सांसद बिरबहादुर थापा र हिरा सार्कीलाई सरकारमा पठाउने एमालेले तयारी गरेको प्रमुख सचेतक पालले बताए।

यस्तै, तीन मन्त्रालय पाएको नेकपा माओवादी केन्द्रले भने अझै मन्त्रीको नाम टुंगो लगाएको छैन। मन्त्रीका आकांक्षी बढी हुँदा नाम टुंगो लगाउनका लागि सहमति खोज्न अहिले माओवादी संसदीय दलको बैठक जारी छ। माओवादीबाट ओम बिक्रम भाट, अक्कल रावल, शिवसिंह ओली र लक्ष्मी विक मन्त्रीका दाबेदार छन्। यस्तै, यसअघि कांग्रेस नेतृत्वको सरकारमा मन्त्री रहेका रमेश धामी र झपट साउद पनि दोहोरिन खोजिरहेका छन्। नेकपा माओवादी केन्द्रले सामाजिक विकास मन्त्रालय पाउने समझदारी बनेको नेताहरू बताउँछन्।

अहिले एमाले र माओवादीबाट सरकारमा सामेल हुने तीनरतीन मन्त्रीमध्ये आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालयको मात्रै जिम्मेवारी तोक्ने तयारी छ।



२०८१ ज्येष्ठ २८ १३:४५ बजे

प्रतिक्रिया