मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २ १४:२८ बजे

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते बिहीबार विश्वासको मत लिनुहुने भएको छ । संविधानमा भएको व्यवस्था  बमोजिम उहाँले प्रदेश सभाबाट बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहीबार बिहान १०:१५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । उहाँ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्यलगायतको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्रीले यसअघि वैशाख २० र २१ गते गरेर दुई पटक विश्वासको मत लिने तयारी गर्नुभएको थियो तर तत्कालीन समयमा एमालेले तत्कालीन अवस्थामा विश्वासको मत दिन नसक्ने अडान लिएपछि स्थगित गरिएको थियो ।  

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्‍याउनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धन दल एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात र मुख्यमन्त्रीको आफ्नै पार्टी (एकीकृत समाजवादी) का चार जना प्रदेश सभा सदस्य हुनुहुन्छ । 

यसै गरी एक स्वतन्त्र प्रदेश सभा सदस्यको पनि मुख्यमन्त्रीलाई समर्थन रहेको छ । नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहे पनि पार्टी अध्यक्ष पक्षधर भनिएका दुई जना प्रदेश सभा सदस्यको मात्रै मुख्यमन्त्रीलाई समर्थन रहेको छ । मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन नसकेका कारण प्रदेश मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीले चाँडै विश्वासको मत प्राप्त गरेर सरकारलाई पूर्णता दिनुपर्ने माओवादी पार्टीको जोड छ ।

बजेट निर्माणको तयारीमा लाग्नुपर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिने र मन्त्रीपरिषद्लाई पूर्णता दिने काम चाँडै टुङ्ग्याउन आवश्यक रहेको माओवादीका अक्कलबहादुर रावलले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन समापनपछि बजेट अधिवेशन सुरु हुने छ । प्रदेश सभाको हिउँदे अधिवेशन अझै जारी रहेको छ । 


२०८१ ज्येष्ठ २ १४:२८ बजे

प्रतिक्रिया