आज मे ५ कार्ल माक्सको जन्म दिन,

माक्सवाद अजय र अमर रहने छ। यो पुराण नभइ विज्ञान हो

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख २३ २०:२९ बजे

काठमाडौं । कार्लमाक्स जन्म सन् १८१८ को मे ५ का दिन जर्मनीको ट्रिर शहरमा भएको थियो । माक्र्सले मानव जातिको इतिहास, अर्थशास्त्र, दर्शन, राजनीति र समग्र विश्वको परिभाषामा नै एउटा नविन भाष्य खडा गरे । माक्र्सले सामाजिक चेतनाका हरेक पक्षमा  धारणाहरु सम्प्रेषण गरेका छन् । माक्सवादको भाष्य सिर्जनामा फ्रेडरिस एंगेल्सको पनि महत्वपूर्ण योगदान रहेको छ । त्यसैले विज्ञहरुले माक्सवाद लाई माक्स र एंगेल्सका दुवै मतिष्कहरुको उपजका रुपमा परिभाषा गरेका छन् ।

समकालिन पुँजीवादले पैदा गराएको शोषण प्रधान व्यवस्थाका विरुद्धमा धावा बोलेर कार्लमाक्र्सले संसारका श्रमजीवी जनताको मुक्ति र श्रमजीवी जनताको नेतृत्वको सरकारको अनिवार्य आवश्यकताको विषयमा जोडदार वकालत गरे । त्यसैले प्रोफेसर म्याग्सेले “माक्र्सलाई विश्वका लाखौं मान्छेहरुले देवता ठान्छन् । लाखौंले राक्षस ठान्छन्” भनेका छन् । माक्र्सप्रति संसारका सचेत मजदुर किसान जनताले गहिरो वर्गचेतन श्रद्धा प्रकट गर्दछन् । माक्र्सले संसारको व्याख्या मात्र गरेका छैनन् संसारलाई बदल्ने कुरा गरेका छन् । माक्र्सवाद प्रतियोगितात्मक पुँजीवादी युगको सर्वहारा क्रान्तिको सैद्धान्तिक अस्त्र थियो । माक्र्सवाद शब्दको प्रयोग स्वयं माक्र्स र एंगेल्सले गरेका होइनन् । उनका अनुयायीहरुले गरेका हुन् । माक्र्सवाद प्रतियोगितात्मम पुँजीवादी युगको सर्वहारा क्रान्तिको सिंगो भाष्यमा उभिएर लेनिनले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेका थिए । माक्र्सवाद पुराण होइन । एउटा गतिशील अग्रगामी विचारधारा हो । त्यसैले लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवादको रक्षा, प्रयोग र विकास गरेर रुसको भूमिमा लागु गरे । वर्ग संघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र राज्यसत्ता प्राप्तिका लागि बल प्रयोगको अनिवार्यता माक्र्सवादी सिद्धान्तका राजनीतिक आधार हुन् ।

आज आधुनिक संशोधनवादीहरुले माक्र्सवादको गतिशीलताको आवरणमा माक्र्सवादलाई संसदवादी सुविधा तथा पुँजीवादका मूल्यहरु अनुशरण गर्ने शास्त्रका रुपमा विकृत व्याख्या गर्दछन् । यर्थाथमा माक्र्सवाद युरोपको संसदीय प्रणालीको विकृतिको विकल्पमा आएको भाष्य हो । यस्तो माक्र्सवादलाई विकृत पार्ने प्रयत्न माक्र्स पछाडि लगातार हुँदै आएको छ । लेनिनले नै माक्र्सवादलाई कार्ल काउत्स्कीको संसदवादी सोसल डेमोक्रेटिक भड्कावबाट जोगाए । रुसको भूमिमा प्रयोग गरेर देखाए । माओले माक्र्सवाद लेनिनवादलाई चीनको भूमिमा नयाँ ढंगले त्यहाँको परिवेश अनुरुप रक्षा र प्रयोग गरे ।

आजको विश्वमा माक्र्सवादी आन्दोलनमा भड्काव आएको छ । प्रतिक्रान्तिहरु भएका छन् । तर चिन्तनको इतिहासमा माक्र्सवादले आज पनि ठूला ठूला थिङक टैङकहरुको दिमाग हल्लाइरहेको छ । प्रतिक्रान्ति भएका मुलुकहरुमा मात्रात्मक रुपमा भएपनि माक्र्सवादी क्रान्तिका लागि कामहरु भइरहेका छन् । आजको विश्व पुँजीवाद भयानक संकट र युद्ध विभिषिकाबाट गुज्रिरहेको छ । पुँजीवादको विकल्प पुँजीवाद हुनसक्दैन भनेर माक्र्सले परिकल्पना गरेको वैज्ञानिक समाजवाद नै हुन्छ भन्ने कुरा प्रष्ट भएको छ । ढिलो चाँडोको कुरा मात्र हो । मानव जातिको इतिहासमा राजनीतिक चिन्तनमा आधारित धेरै विचारधाराहरु जन्मेका छन् । तर माक्र्सवादले जस्तो विश्वलाई आधारभूत रुपमै बदल्ने मूल्यमा आधारित विचार माक्र्सवाद मात्र हो । त्यसैले माक्र्सवादले विश्वका करोडौं मनुवाहरुको दिमाग हल्लाएको छ । यो न्यायपूर्ण तथा गरिबहरुको मुक्तिको दर्शन हो । त्यसैले आज पनि विश्वका लाखौं सचेत जनताले माक्र्सवादी दर्शन र राजनीतिलाई पच्छाइरहेका टछन् । मे ५ यस्ता विराट महापुरुष कार्ल माक्र्स जन्मेको दिन हो । मे ५ श्रमिक जनताको एउटा पर्वको दिन पनि हो ।



२०८१ वैशाख २३ २०:२९ बजे

प्रतिक्रिया