क्रान्तिकारीहरु बिचको एकतालाई असफल पार्न संशोधनवादी र अवरवादी कित्ताबाट भइरहेको भ्रामक प्रचारबाजीलाई चिरेर अगाडि बढौँ- मोहन वैध्य किरण अध्यक्ष क्रा.क.पार्टी नेपाल

पार्टीको एकता विपरीत गुटगत गतिविधिमा संलग्न रहेका पार्टीका सचिवालय सदस्यद्वय पूर्णबहादुर सिंह, खेम थपलिया र केन्द्रीय सदस्यहरु हरि श्रेष्ठ, विनोद थापा, अशोक सुवेदी, शम्भु फुयाँल, नवराज भट्ट, बद्री चौलागाई, रणबहादुर विक र केन्द्रीय सल्लाहकार ढुण्डीराजलाई पार्टीबाट निष्काशन गरेको छन।

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १८ ०७:३९ बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हिजो सम्पन्न एकता महाधिवेशन आयोजक समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतालाई सान्दार रुपमा सफल तुल्याउन महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गर्नु भएको छ । बैठकले पार्टी एकतासम्बन्धी अध्यक्ष किरणको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको बैठकमा सहभागी एक कार्यालय सदस्यले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकता गर्ने सम्बन्धमा भएको सहमतिका विषय स्पष्ट पार्नुभएको थियो । दुवै पार्टीको एकता संयोजन समितिका बिचमा अन्तरिम कालका लागि पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद  र विचारधारा रहने, दशवर्षे जनयुद्धलाई ‘ऐतिहासिक माओवादी जनयुद्ध’ भन्ने र जातीय क्षेत्रीय समस्याका विषयमा ‘जातीय र क्षेत्रीय स्वशासन’ को अवधारणा अगाडि सार्ने लगायतमा सहमति भएको जानकारी दिनुभएको थियो ।

बैठकमा अध्यक्ष किरणले मशालसँग एकता गरेपछि पार्टीले लगत्तै संयुक्त एकता महाधिवेशन गर्ने र त्यही महाधिवेशनबाट पार्टीको आगामी राजनीतिक तथा सामरिक कार्यदिशाको थप विकास गरेर क्रान्तिको अभिष्ट पूरा गर्न अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले पार्टीको कार्यदिशाको विकासका निम्ति सैद्धान्तिक, वैचारिक विषयमा बहसलाई महाधिवेशन अगाडि व्यवस्थित बनाएर तल्ला कमिटिसम्म लैजाने र महाधिवेशनमा पुगेर एकता–संघर्ष–रुपान्तरण, जनवादी केन्द्रीयता, अल्पमत, बहुमत र विशिष्ट अवस्थामा सहमतीय विधि प्रक्रियाबाट पनि आउने फरक मतहरुको व्यवस्थापन गरिने पनि स्पष्ट पार्नुभयो ।

मशालसँगको एकतापछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नयाँ अध्याय सुरु हुने भन्दै उहाँले क्रान्तिकारीहरु बिचको एकतालाई कमजोर पार्न र असफल पार्न संशोधनवादी र अवरवादी कित्ताबाट भइरहेका प्रयास र छरिएका भ्रामक प्रचारबाजीलाई चिरेर अगाडि बढ्न र त्यस्ता तत्वहरुको भ्रममा नपर्न पनि पार्टी पंक्तिलाई आग्रह गर्नुभयो ।

यसैबिच, पार्टीको एकता विपरीत गुटगत गतिविधिमा संलग्न रहेको आरोपमा बैठकले पार्टीका सचिवालय सदस्यद्वय पूर्णबहादुर सिंह, खेम थपलिया र केन्द्रीय सदस्यहरु हरि श्रेष्ठ, विनोद थापा, अशोक सुवेदी, शम्भु फुयाँल, नवराज भट्ट, बद्री चौलागाई, रणबहादुर विक र केन्द्रीय सल्लाहकार ढुण्डीराजलाई पार्टीबाट निष्काशन गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेकपमा मशालसहित भोलि संयुक्त एकता अधिवेशनको आयोजना गर्दैछ । एकता अधिवेशनबाट अन्तरिम राजनीतिक तथा सांगठानिक प्रतिवेदन र विधान प्रस्तुत एवम् पारित गरिने जनाइएको छ ।


 


२०८१ वैशाख १८ ०७:३९ बजे

प्रतिक्रिया