नेपाल र कतार बीच आठ वटा समझदारी

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १२ १९:५७ बजे

काठमाण्डौ। नेपाल र कतारबीच आठ वटा क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । सरकारीस्तर बाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा समझदारी तथा सम्झौता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानी सहितको प्रतिनिधि मण्डल बीच भएको वार्तापछि दुई देशका मन्त्रीहरू बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सरकारी स्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।

कतार र नेपालका राष्ट्रिय समाचार संस्थाहरू बीच समाचार आदानप्रदान र सहकार्य सम्बन्धी सम्झौता भएको छ । यस्तै दुई देशका संस्कृति र कलाको प्रवर्द्धन गर्ने सम्बन्धी समझदारी पत्र, शिक्षा तथा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान सम्बन्धी समझदारी पत्र, युवा र खेलकुद सहकार्य सम्बन्धी समझदारी पत्र र दुई देशका महान्यायाधिवक्ताको कार्यालय बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस्तै नेपालको इन्स्टिच्युट अफ फरेन अफेअर्स र कतारको कुटनीतिक निकाय बीच कर्मचारीलाई तालिम आदानप्रदान गर्ने विषयमा पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सरकारी स्तरमा भएका यीबाहेक दुई देशका निजी क्षेत्रबीच दुई वटा सम्झौता भएका छन् । निजी क्षेत्रको तर्फबाट भएका सम्झौतामा नेपालको तर्फबाट उद्योग वाणिज्य महासङ्घ र कतारका तर्फबाट पनि कतारका निजी क्षेत्रका व्यवसायीहरूको संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यस पटक कतारका राजाको भ्रमण हुँदा नेपालले सन् २००५ मा दुई देशले हस्ताक्षर गरेको श्रम सम्झौताको नवीकरण चाहेको थियो । पूर्णकालीन बीमा, कामदारको ज्यालावृद्धि जस्ता विषय समेट्ने सम्झौताका कतिपय विषय टुङ्गो नलागेकोले थाती राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्झौता गर्नुअघि कतारका राजा थानीसँग भएको भेटमा प्रधानमन्त्रीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न र इजरायलमा रहँदा हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

यस्तै नेपालमा कतारबाट हुन सक्ने लगानी र श्रम क्षेत्रमा थप सहकार्यका बारेमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले कतारका राजालाई पूर्वाधार, ऊर्जा, शिक्षा र यातायात जस्ता क्षेत्रमा नेपालमा लगानीका लागि अनुरोध गर्नुभएको छ ।



२०८१ वैशाख १२ १९:५७ बजे

प्रतिक्रिया