लेनिन सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १२ ११:२६ बजे

सर्वहारावर्गका महान् नेता लेनिन स्मृतिको शतवार्षिकीको सन्दर्भमा संघीय राजधानी काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय लेनिन सेमिनार– २०२४ शुरु भएको छ ।लेनिनको जन्मदिन अप्रिल २२ (वैशाख १०) को दिन पारेर शुरु भएको सो सेमिनारको आयोजना लेनिन स्मृति शतवार्षिकी, केन्द्रीय आयोजक समितिले गरेको हो ।

सेमिनारको उद्घाटन सत्रमा आयोजक समितिका संयोजक निनु चापागाईले उद्घाटन भाषण गरेका थिए । त्यस अवसरमा विभिन्न अतिथिहरुले आआफ्ना मन्तव्य राखेका थिए ।त्यस अवसरमा कम्युनिष्ट इन्टरनेशनलको गित गाइनुका साथै कलाकार जीवन शर्माले गीत गाएका तथा कवि विनोदविक्रम केसीले कविता वाचन गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा चीनका लागि पूर्व नेपाली राजदूत तथा वामपन्थ द लेफ्टका प्रधान सम्पादक डा. महेश मास्केले लेनिन इन ट्वान्टी फस्ट सेन्चुरी नेपाल शीर्षकमा कार्यपत्र पेश गरेका थिए । उनको कार्यपत्रमाथि करुणा पराजुलीले टिप्पणी गरेका थिए ।

त्यसैगरी, सांघाइ चीनका फुदान युनिभर्सिटी अन्तर्गत स्कुल आफ मार्क्सिजमका एसोसिएट प्रोफेसर जियानकुन गाओले ‘लेनिनज्म इन द गाइडिङ आइडियोलोजी अफ प्रोलेटारियन रिभोलुसन एण्ड कन्स्ट्रक्सन इन द ग्रेट एरा अफ इम्पेरिलिज्म’ शीर्षकमा इन्फु चेङ र उनको संयुक्त लेखन रहेको कार्यपत्र पेश गरेका थिए । त्यसमाथि पत्रकार एवं लेखक झलक सुवेदीले टिप्पणी गरेका थिए ।

चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीले ‘लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता’ शीर्षकमा कार्यपत्र पेश गरेका थिए । त्यसमाथि लेखक रोशन जनकपुरीले टिप्पणी गरेका थिए ।प्रत्येक कार्यपत्रहरुमाथि टिप्पणीकर्ताको टिप्पणीपश्चात मञ्चमा सहभागीहरुले आ–आफ्ना विचार एवं प्रश्नहरु राखेका थिए । त्यसमाथि कार्यपत्र प्रस्तोताले जवाफ दिएका थिए ।

पहिलो दिनको कार्यक्रमका सत्रहरुको संयोजन संगीत र मित्रलाल पङ्गेनीले गरेका थिए ।सेमिनारको दोस्रो दिन वैशाख ११ गते ५ वटा कार्यपत्रहरु प्रस्तुतको कार्यक्रम थियो ।

त्यसअनुसार, सोसियलिस्ट पार्टी अफ बङ्गलादेशका जोयदीप भट्टचार्यले ‘लेनिन अन पार्टी अर्गनाइजेशन’, लेखक एवं अर्थशास्त्री हरि रोकाले ‘लेनिन एण्ड इम्पेरिलिजमः द कन्टेम्पोररी कन्टेक्स’, भारतका एसयुसीआइ (कम्युनिष्ट) का अमिताभ चटर्जीले ‘लेनिनः द फाइटर अगेन्स्ट रिभिनिजम इन कम्युनिष्ट मुभमेन्ट’, माक्र्सवादी लेखक एवं मजदूर विगुलका सम्पादक अभिनव सिन्हाले ‘मिनिङ अफ लेनिन इन ट्वाइन्टी फस्ट सेन्चुरी’ र नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले ‘लेनिन्स कन्ट्रिव्यूसन इन द डेभलपमेन्ट अफ मार्क्सिस्ट फिलोसफी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

भट्टचार्यको कार्यपत्रमाथि धर्मेन्द्र वास्तोला कञ्चन, रोकाको कार्यपत्रमाथि रामराज रेग्मी, चटर्जीको कार्यपत्रमाथि सङ्गीत, सिन्हाको कार्यपत्रमाथि श्याम श्रेष्ठ र वैद्यको कार्यपत्रमाथि समीर सिंहले टिप्पणी गरेका थिए । 


२०८१ वैशाख १२ ११:२६ बजे

प्रतिक्रिया