नेकपा( मशाल) निकट रक्तिम सांस्कृतिक अभियानले ३८ औ स्थापना दिवस मनाइयो

सर्वहारा सास्कृतिक क्रान्ति जिन्दावाद” भन्ने मूल नाराका साथ रक्तिम सांस्कृतिक अभियानको स्थापना दिवश वनाइयो

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २६ २१:४४ बजे

प्रगतिशील सांस्कृतिक अभियानका नामले  परिचित रक्तिम सांस्कृतिक अभियानको ३८ औ स्थापना दिवस मनाइएको छ । “सर्वहारा सास्कृतिक क्रान्ति जिन्दावाद” भन्ने मूल नाराका साथ रक्तिम सांस्कृतिक अभियान केन्द्रीय कार्यालयको आयोजनामा २०८० चैत्र २६ गते काठमाडौंको बागबजारमा एक समारोहका बिच सो दिवस मनाइएको हो ।

समारोहमा रक्तिमलाई स्थापना दिवसको शुभकामना दिदै अतिथि वक्ताहरुले रक्तिमको इतिहास गौरवपुर्ण रहेको स्मरण गर्दै आगामी दिनमा पनि रक्तिमले विगतको क्रान्तिकारी स्पिरिड कायम राख्ने विश्वास व्यक्त गरेका थिए । देशमा श्रमजिवी जनताको व्यवस्था अझै स्थापित भैनसकेकाले रक्तिमका क्रान्तिकारी गीत÷सङ्गीत र कला साहित्यको महत्व अहिले पनि उत्तिकै कायम रहेको वक्ताहरुको भनाइ थियो ।

समारोहलाइ सम्बोधन गर्दै नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले समाजमा दुई वर्ग रहुन्जेल रक्तिमको कलाको महत्व कायम रहने बताए । “राजनैतिक पार्टीले पूरा गर्न नसकेको काम जनताका बीचमा गएर जनकलाकारले गर्न सक्छ्न ।” – महासचिव नेपालीले भने – “समाजमा वर्ग रहुन्जेल रक्तिमका गीत, सङ्गीत र कलाको महत्व पनि रहिरहनेछ ।” देश विदेशमा छरिएर रहेका जनकलाकारहरुलाई रक्तिम स्थापना दिवसको शुभकामना दिदै महासचिव नेपालीले वर्गीय पक्षधरतामा अडिक रहँदै रक्तिमले आफ्नो यात्रा निरन्तर जारी राख्ने विश्वास व्यक्त गरे ।

रक्तिमका अध्यक्ष नारायण शर्माको अध्यक्षता, महासचिव उदय रिजालको संचालन र कोषाध्यक्ष डमर भण्डारीको स्वागत मन्तव्यबाट अघि बढेको सो समारोहमा अखिल नेपाल महिला संघकी महासचिव मनु बिक, वामपन्थी नेता ओम बहादुर केसी, नेकपा (मशाल) का पोलिटब्युरो सदस्य चिन्तामणी पौडेल, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सागर भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य टेकहरी न्यौपाने र रक्तिम काठमाडौंकी उपाध्यक्ष पम्फा बन्जाडे लगायतका अथितिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा रक्तिमका केन्द्रीय कलाकारहरु अनु शर्मा र आकृति भण्डारी, काठमाडौं जिल्लाका कलाकार गिनिज बुढा र रक्तिमका सहयोगी प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो ।

स्मरणरहोस् रक्तिम सांस्कृतिक अभियानको स्थापना २०४३ साल चैत्र २६ गते भएको थियो । त्यस दिन काठमाडौंको घण्टाघरमा भएको  जनसङ्गितकर्मीहरुको जमघटले सङ्गठनको नाम रक्तिम राख्दै सर्वसम्मत रुपमा त्यसको नेतृत्वमा जीवन शर्मालाई चयन गरेको थियो । त्यस यता जनसङ्गितकर्मीहरुले हरेक वर्षको चैत्र २६ गते रक्तिमको स्थापना दिवस मनाउँदै आएका छन् । त्यही सिलशिलालाई निरन्तरता दिदै  आज २०८० चैत्र २६ गते रक्तिमको ३८ औ स्थापना दिवस मनाइएको छ ।


२०८० चैत्र २६ २१:४४ बजे

प्रतिक्रिया