नरसंहार तथा जातिसंहारको प्यालेष्टाइनी मानब सँकट र समाधान

प्यालेस्टिनी जनता त लडिरहेकै छन् निरन्तर आफ्नो हक, अधिकार, माटो, जमिन र जैतूनको बघैचाका लागि

bimbonline लोकनारायण सुवेदी
२०८० चैत्र २२ ११:५३ बजे

यतिबेला निरन्तरको इजरायली नरसंहारको शिकार भएर पनि लगातार अन्यायमा परेर अस्तित्व र मुक्तिका लागि  लडिरहेका प्यालेस्टिनीहरुप्रति बिश्वका न्याय तथा शान्तिकोपक्षमा रहेका अत्याधिक ठूलो जनसमुदायले प्यालेस्टिनीप्रति ऐक्यबद्धता र समर्थन जनाइरहेका छन् । बिश्वको यो सहानुभूति र समर्थन उच्च स्तरमा पुगेको छ । यद्यपि इजरायली नरसंहार भने निरन्तर जारी छ । अहिलेसम्म त्यहाँ मारिनेको संख्या सबै मिलाएर ४०  हजार पुग्न लागेको छ । यद्यपि अहिलेसम्म आधिकारिक रुपमा ३३ हजार पुगेको बताइैछ । त्यसरी मारिएका मध्येमा पनि ठूलो संख्या बालबच्चा र महिलाहरुको छ । यतिबेला दिनहूँ जसो साऊदी अरब, कतार, बहराइन र अरब लीगका देशहरुका आम जनताले जमेर सडकमै प्यालेस्टिनी जनताको न्यायपूर्ण संघर्षको पक्षमा प्रदर्शन गरिरहेका छन् । वास्तवमा जनताको यस प्रकारको बढ्दो दबाबको कारणले नै कतार र मिश्रले लगातार युद्ध बिरामको लागि  पनि मध्यस्थताको प्रयास समेत गरिरहेका छन् । अर्कोतिर त्यो क्षेत्रमा हिज्बुल्ला, हूती आदि जस्ता अन्य इस्लामिक कट्टरपन्थी तर जनतामा भिजेका शक्तिहरु गाजाको जनताको समर्थनमा र इजरायलका बिरुद्ध जमेर लडिरहेका छन् ।

यद्यति ती शक्तिहरु जनतामा भिजेका भन्ने गरिए पनि त्यसको मूख्य कारण भने बिचारधारात्मक रहेको छैन । ती समुच्चै जनता इस्लामिक कट्टपन्थी भएको भने अबश्य होइन । निश्चय नै पश्चिमा साम्राज्यबादका बिरुद्ध अरब जनताको अथाहा अप्रसन्नता र बिरोध रहेको छ । यस्तो स्थितिमा उनीहरु जो साम्राज्यबादका बिरुद्ध लडेका देखिन्छन् उनीहरु तिनको साथमा खडा हुन्छन् । अहिले हमास, हिज्बुल्ला र हुतीहरुको प्रतिरोधको धूरीले इजरायली सेनाको होस उठाउदै लगेको बिश्लेषकहरुले औंल्याइरहेका छन् । हुन पनि आज अरब बिश्वमा प्रगतिशील, धर्मनिरपेक्ष र क्रान्तिकारी शक्तिहरु छरपस्ट र कमजोर अबस्थामा रहन पुगेको र जनताको बिचमा बिकल्पहीनताको स्थिति छ । अनि चाहे हिज्बुल्ला  वा हमास पनि हिजो आज तिनको स्थापना कालमा अमेरिकी नियन्त्रणमा रहेको थियो, आज स्थिति त्यस्तो रहेको छैन र जनताको साथामा जनताको संघर्ष र उनीहरुको आकांक्षासँग जोडिनपुग्दा बदलिदो समय सँग-सँगै सीमित अर्थमा नै तिनीहरु निकै बदलिदै गएका पनि छन् । आज तिनको नेतृत्वमा अरब देशका जनता इजरायलका बिरुद्ध लडिरहेको देखिन्छ 

हिज्बुल्लाले २००६ मा इजरायललाई आच्छु आच्छु पारेर खेदेको थियो । गाजामाथि इजरायलको हमलाको प्रतिरोधमा हिज्बुल्लाले लगातार  सैन्य कारबाही जारी राखिरहेको छ । हिज्बुल्ला श्रोतको हवाला दिने बिश्लेषकहरुले भनिरहेका छन् कि  गाजा युद्धको आरम्भिक १२० दिनमा हिज्बुल्लाले सैन्य कारबाही जारी राखेको छ र गाजामा बढ्दो जन संहारलाई हेर्दा आउने दिनमा हमलाको तीब्रता अझ बढाउने कुरा पनि गरिरहेको छ ।माथि बताइएजस्तै इजरायलले आफ्ना मृतक तथा घाइते भएका इजरायली सेनाको बारेमा सही र पूरा तथ्य तथ्यांक दिने गर्दैन । त्यसरी नै हमासको हातबाट गाजामा घायल भएका या मारिएका इजरायली सेनाहरुको पूरा जानकारी पनि ईजरायलले दिने गर्दैन । त्यहाँ पनि जमिनको सतहबाट हुने गरेको लडाई इजरायली सैनिक घाइते हुने  र मारिने पनि गरेका छन्  । तर अहिलेसम्म इजरायलले दिएको मृत इजरायली सेनाको संख्या केवल ५९० मात्र रहेको छ । इजरायली सेना त्यहाँ नराम्रोसँग चारैतिरबाट घेरिएको र  उल्झनमा परेको छ । पश्चिम किनारामा पनि प्रतिरोध जारी छ ।अल अक्सा मस्जिदमा प्रतिरोधको रुपमा नामाज गर्न पुगेका ८०,००० भन्दा बढी प्यालेस्टिनीहरुको भन्दा ठूलो भीड इजरायली नियन्त्रण बाहिर-बाहिर गइरहेको छ । उता लेबनानको सिमानामा हिज्बुल्लासँग लडाई जारी रहेको छ । दिन-दिनै जसो हिज्बुल्लाले हानेका रकेटहरु इजरायमा खसिरहेका छन् । जसबाट हजारौ इजराली उपनिवशेबादी सेल्टरहरु बेघर र बिस्थापित हुन पनि पुगेका छन् भने कयौको मृत्यु पनि भइसकेको छ । तर यी सबैको सही तथ्यांक इजरायलले बाहिर ल्याएको छैन ।

अर्कोतिर हूतीहरुले इजरायलसँग सम्बन्धित सामुद्रिक जहाजहरुमाथि लगातार हमला जारी राखेको छ । जर्मनी, फ्रान्सदेखि लिएर अमेरिकाको यमनमाथि बढ्दो हमला भइरहेको भए पनि हूतीहरुले आफ्नो लडाईमा नोक्सानी बेहोर्दा बेहोदै पनि लाल सागर भएर गुज्रने तीन देश र अन्य इजरायल समर्थक देशहरुको सामुद्रिक यातायतलाई भयंकर ठूलोरुपमा प्रभावित पारिरहेका छन । बितेका केही दिनदेखि आक्रामकता पनि बढ् आएको छ । हिज्बुल्लाले चेतावनी पनि दिएको छ  कि यदि इजरायलले रफामा जमिनबाट आक्रमण गर्दछ भने उसले लेबनानी सिमानामा युद्ध पनि अझ तीब्र पार्नेछ । यस प्रकार रुस चीन र टर्कीको हस्तक्षेपको स्थिति बिकसित भएको देख्दै गर्दा सम्भावना के छ भने पूरै मध्यपूर्बलाई इजरायलले कुनै ठूलो युद्धमा घिस्याउन सक्छ ।

त्यसो त इजरायल अमेरिका र पश्चिम देशहरुको बलमा शेर बन्दैछ अन्यथा आफैमात्र एकल आउने हो भने मुखले आगो ओकल्ने इजरायली नेता नेतान्याहू  र उनको मन्त्रिमण्डल तथा इजरायलका सबै जातीबादी–जायनवादीहरुको मुखबाट एक शब्द पनि चुइक्क निस्किने थिएन ।अमेरिकाको पैसा र पश्चिमा देशहरुको हतियारको बलमा  चल्ने गरेका कायर जायनबादी इजरायलीहरुले बर्षौंदेखि  दुुइ दुइ पासपोर्ट राख्ने गर्दछन् । कतै इजरायल छोडेर भाग भन्ने खतराको घण्टी बज्ला कि भन्ने सन्त्रस पनि उनीहरुलाई छ ।प्यालेस्टिनी जनता त लडिरहेकै छन् निरन्तर आफ्नो हक, अधिकार, माटो, जमिन र जैतूनको बघैचाका लागि । इजरायलीहरु तिनमाथि कब्जा जमाएका छन् । इजरायलीहरुलाई यो कुरा थाहा नहुने कुरै छैन कि उनीहरु उत्पीडक हुन् । यसकारण उनीहरुले आफ्नो पापको दुष्परिणाम अबश्य पनि भोग्नु पर्नेछ ।

सबै मानबीय संकट अर्थात् भोक, रोग, औषधि उपचार, आवासको समस्याले आक्रान्त प्यालेष्टिन सर्बसाधारण जनताको कहाली लाग्दो र सन्त्रासमय तथा घोर अनिश्चय र महासंकटको  स्थितिबाट गुज्रिन बाध्य पारिएको आजको स्थितिबाट कसरी पार पाउने हुन अझै पनि अन्यौल नै छ । सहयोग र उद्धारकर्तामाथि पनि इजरायलले हमला गरिरहेको छ ।१९६ जना सहयोग समूहमा काम गर्ने उद्धारकर्मीहरु मारिसकिएका छन् र पछिल्लो समयमा त्यस्ता सहयोगी समूहका ७ जना मानिसहरु थप मारिएका छन् । यस्तो दुर्दान्त स्थितिमा पनि प्यालेस्टिनीहरु निन्तर लडिरहेका छन् र उनीहरुको स्वाधीनता र मुक्तिको संघर्षको सफलता बिना यो मानबीय संकटले सही निकास पाउने  कुनै बिश्वासिलो स्थिति फेरि पनि बन्ने कुरामा कोही बिश्वस्त हुन सकरहेको छैन । प्रारम्भिक दुइ राज्य अस्तित्वको समाधान एउटा प्रस्थान बिन्दू भने अबश्य बन्न सक्ला । तर साम्राज्यबाद र जातिबादबाट मुक्त नभएसम्म यस्ता सन्त्रासमय स्थितिबाट दीगोरुपमा पार पाउन भने सकिने छैन भन्ने कुरा बिश्वका शान्तिकामी जन समुदायमा अटलरुपमा रहेको छ । अहिलेसम्मको अनुभव र वास्तबिकता पनि यथार्थमा यही नै हो ।



२०८० चैत्र २२ ११:५३ बजे

प्रतिक्रिया