रेशम चौधरीको उपस्थितिमा नाउपाका केन्द्रिय सदस्य कुटिए

थारु मुक्तिका लागी भनि स्थापना गरेको नाउपा सत्तालिप्साका कारण कुटपिट सम्म पुगेका छन।नाउपाका नेताहरू पती-पत्नीबीचको व्यक्तित्वको संघर्ष को रुपमा चित्रित गर्छन्।

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १९ १७:११ बजे

काठमाडौं। विवादमा फसिरहेको नागरिक उन्मुक्ति पार्टीका नेताहरूमाथि कुटपिट भएको छ। सोमबार काठमाडौंको अनामनगर केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समितिको बैठक बस्नुअघि भइरहेको छलफलका क्रममा आफूहरूमाथि कुटपिट भएको सो पार्टीका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारुले  वताएका छन।

बैठक बिहान ८ बजे बोलाइएको उनले बताए। तर अध्यक्ष रञ्जिता श्रेष्ठ आइपुग्न केही ढिला हुने भएपछि आफूहरू संरक्षक रेशम चौधरीसँग अनौपचारिक छलफलमा रहेकै बेलामा कुटपिट भएको उनले बताए।

‘रेशम दाइसँग पार्टीको अबको बाटो के हुने भनेर छलफल गरिरहेका थियौं। संघ र प्रदेशमा फरकफरक गठबन्धनलाई साथ दिनलाई हाम्रो नैतिकताले दिँदैन भनिरहेका थियौँ। संघ र प्रदेशमा एउटै गठबन्धनमा सहभागी होऔँ भनिरहेका थियौं। महाधिवेशनबाट निर्वाचित भएका तर निर्वाचन आयोगले मान्यता नदिएका केन्द्रीय सदस्यलाई वैध बनाउने उपाय र पार्टीमा अहिले देखिएका विवादको विषयमा छलफल गरिरहेका थियौं’,  रामलालले भने, ‘त्यसै क्रममा रेशम दाइकै उपस्थितिमा कुटपिटको  घटना भयो। नघट्नुपर्ने घटना घट्यो।’

अर्का संस्थापक केन्द्रीय सदस्य रमेश विकले कार्यालय रहेको घरको बाहिर निस्किने मुख्य ढोकालाई बाहिरबाट बन्द गरेर आफूमाथि भौतिक आक्रमण भएको बताए। विकले प्रधानमन्त्री निवास बालुवाटार गएमा बाहिर निस्किँदा पिट्ने धम्की दिएको र सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जना (आइतबार रेशमलाई भेट्न जानेहरू) को हत्या समेत हुन सक्ने भनेर रेशम चौधरीले भनेको बताए। यद्यपि चौधरीले माफी समेत मागेको उनको भनाइ छ।

‘घरको एक्जिट ढोकामा बाहिरबाट बन्द थियो। र संस्थापक केन्द्रीय बाहेक बाहिरका मान्छेहरू पनि थिए। त्यसैले उहाँ (रेशम चौधरी)ले सुनियोजित ढंगले आक्रमण गराएको हो भन्ने लाग्छ’, विकले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा भने।तर उनीहरू एक्कासी आक्रमणमा उत्रिएको थारुले बताए। ‘रेशम चौधरीकै उपस्थितिमा आक्रमण हुनु भनेको सुनियोजित हो भन्ने लाग्छ’, उनले भने।

नागरिक उन्मुक्ति पार्टीमा पछिल्लो केही हप्ता रञ्जिता श्रेष्ठ र रेशम चौधरी पक्षबीच विवाद देखिँदै आएको छ। अध्यक्ष श्रेष्ठ संघदेखि प्रदेशसम्म एउटै गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन्। सोही अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिलाएकी छिन्। उनी सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ गठबन्धनलाई सघाउनुपर्ने पक्षमा छिन्।

अर्कोतिर रेशम चौधरी भने संघमा कुनै गठबन्धनमा लाग्न नहुने र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै साथ दिनुपर्ने पक्षमा छन्। सोही अनुसार उनले सरकारमा आफू निकटका मन्त्रीहरू पनि पठाएका छन्। ती मन्त्रीहरूलाई फिर्ता आउन र सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठले निर्देशन दिँदै आएकी छिन्।

नागरिक उन्मुक्ति पार्टी गठन हुँदा संरक्षकमा रेशम चौधरी र अध्यक्षमा रञ्जिता श्रेष्ठ थिए। उनीहरू पती पत्नी समेत हुन्। पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्ष चयन गरेको थियो। नयाँ केन्द्रीय समिति पनि निर्वाचित गरेको थियो। त्यसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिइएको थियो। तर आयोगले चौधरी अध्यक्ष हुन नसक्ने निर्णय गरेको थियो। जसकारण अहिले नाउपामा पुरानै केन्द्रीय समिति ब्युँतिएको छ। जसको अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्। उनले सोही समितिको बैठक राखेर निर्णय गर्दै आएकी छिन्। पछिल्ला घटनाक्रममा नाउपाका नेताहरू पती-पत्नीबीचको व्यक्तित्वको संघर्ष  को रुपमा चित्रित गर्छन्।


२०८० चैत्र १९ १७:११ बजे

प्रतिक्रिया