महावीर पुनजस्ता व्यक्तित्वहरू राष्ट्रिय सभामा हुनुपर्ने हो-खिमलाल देवकोटा

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ११ १५:०९ बजे

काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरू राष्ट्रिय सभामा हुनुपर्ने बताएका छन् ।शुक्रवार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए सांसद देवकोटाले पुनले चलाएका अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए ।उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताए ।सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।

उनले भने, ‘वीरगंज कृषि औजार कारखाना चलाउनु छ, पैसा चाहियो भन्दै किताब लेख्दै, किताब बेच्दै हिँडिरहनु भएको छ । एक जना व्यक्तिले किताब किन्नुहोस्, सरकारी कारखाना चलाउनुछ भनेर आँट र हिम्मतका साथ जसरी उहाँ अगाडि बढ्नुभएको छ । यसको प्रशंशा गर्नैपर्छ । तर सरकारका लागि यो विषय लज्जा हुनुपर्ने हो । मैले चाहीँ वास्तवमा त्यही महशुस गरेको छु । भोलि अन्य व्यक्तिहरू यसरी नै सरकारी संयन्त्रहरु चलाउनु छ भन्दै हिँड्न थाले भने के होला ? सरकार सरकारको रूपमा रहोस् । राज्य राज्यको रूपमा रहोस् । महावीर पुनसँग सरकारले कारखाना सञ्चालनको सन्दर्भमा के, कस्तो सम्झौता गरेको छ ? वास्तविकता के हो ? यो संसदलाई जानकारी दिनुपर्‍यो । महावीरकै सन्दर्भमा उहाँजस्तो सरल, योग्य, क्षमतावान र अनुभव भएका व्यक्तिको राज्यले सम्मान चाहीँ गर्नुपर्छ ।

अनुसन्धानको क्षेत्रमा उहाँले चाहेको वातावरण निर्माण गरिदिनु पर्छ । संघीय सरकारले मात्रै होइन, प्रदेश र स्थानीय तहले पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनको अभियानलाई साथ दिन आवश्यक छ । वास्तवमा यो राष्ट्रिय सभाकै चर्चा गर्ने हो भने पनि यो सभामा हुनुपर्ने व्यक्तित्वहरू भनेको महावीर पुनहरू जस्तै हो । ’सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरूलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।



२०८० फागुन ११ १५:०९ बजे

प्रतिक्रिया