प्रचण्डले छाड्दै माओवाद

माओवादी विधान अधिवेशन

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ४ ०८:०५ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा तीनवटा विषय जोडदार रुपले उठे– पार्टीको नेतृत्व चयन पद्दती , चुनाव चिन्ह  र पार्टीको नाम परिवर्तन ।

केन्द्रीय समिति चयनलाई प्रत्यक्ष निर्वाचित गराउने निर्णय गरेपनि माओवादीले तत्कालै चुनाव चिन्ह र पार्टीको नाम परिवर्तन नगर्ने निर्णय गरेको छ । यद्यपी माउपार्टीबाट फुटेर गएका सबै नेताहरुले माओवादलाई त्यागिसकेकाले उनिहरुलाई एक बनाउनका लागि प्रचण्डले पनि निकट भविष्यमै माओवाद छाड्ने कतिपयको आंकलन छ ।आफ्नो पहिलो विधान अधिवेशनमा छलफल गर्दा माओवादीका प्रतिनिधिहरुले पार्टीको नाम परिवर्तनका बारेमा पनि गहिरो विमर्श गरे ।

पार्टी उपमहासचिव जनार्दन शर्माले अधिवेशन अगावै प्रस्तावित विधानको मस्यौदामाथि पूरक प्रस्ताव ल्याएर पार्टीको नाम परिवर्तन गर्ने विषय अगाडी सारेपछि यो विषय अझ बहसमा आएको थियो । यद्यपी माओवादीको विधान अधिवेशनलाई पार्टीको नाम परिवर्तन गर्ने अधिकार छैन । त्यसैले तत्काल पार्टीको नाम नफेर्ने निर्णय विधान अधिवेशनले गरेको छ ।१० बर्षे सशस्त्र जनयुद्ध गरेर संसदीय राजनीतिमा आएको माओवादी पार्टीलाई माओवाद अब घाँटीमा अड्किएको हाडजस्तो बनेको छ ।यसलाई निल्ने भन्दापनि ओकेल्ने कसरतमा माओवादी पंक्ती देखिन्छ ।

प्रचण्डले नेतृत्व गरेको पार्टीमा अब माओवादको कुनै चरित्र बाँकी नरहेको अधिकांशको विश्लेषण रहने गरेको छ । त्यसैले अझैपनि पार्टीको नाम माओवादी राखेर जनतालाई झुक्याउने धन्दा छाड्नुपर्ने जानकारहरु बताउँछन् ।

जनयुद्धकालीन माओवादी पार्टी संसदीय राजनीतिमा प्रवेश गरेपछि २०६५ मा एकिकृत माओवादी र २०७३ सालमा नेकपा माओवादी केन्द्र बन्यो ।२०७५ जेठ ३ गते एमालेसँग एकता गरेर नेकपा बन्दा उसले आफ्नो नामबाट माओवादको अवशेष हटायो । एमालेसँगको विभाजनपछि फेरी माओवादी केन्द्रकै रुपमा छ । माओवादीकै अन्य घटकहरुले पनि माओवादी नाम हटाइसकेको अवस्थामा उनीहरुलाई फेरी एकतामा ल्याउने प्रयासस्वरुप प्रचण्डले पनि माओवादी नाम पुनः हटाउने निर्णय गरेमा आश्चर्य मान्नुपर्ने छैन ।


२०८० फागुन ४ ०८:०५ बजे

प्रतिक्रिया