आईसीसी क्रिकेट विश्वकप लिग–२: सुखत सुरुआतको लक्ष्यमा नेपाल

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ३ ०८:४४ बजे

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले अफ्रिकी प्रतिद्वन्दी नामिबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । आजबाट घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा छ । 

“तयारीको कुरा गर्दा क्यानडासँगको शृंखला हाम्रो लागि निक्कै महत्वपूर्ण थियो । उक्त शृंखलामा सबैजना राम्रो लयमा देखिएका छन् । त्यो तयारी हाम्रो एकदमै राम्रो थियो,” शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, “लिग–२ को कुरा गर्दा सन् २०१९–२३ सम्म भएको बेला हामीले सुरुआत राम्रो गर्न सकेका थिएनौँ । एकदमै महत्वपूर्ण प्रतियोगिता भएकाले यसपटक हामी सुखद सुरुआत गर्ने लक्ष्यमा छौँ । पूरा टिम उत्साहित छ ।”

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।लिग–२ को पहिलो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ मा सहभागी आठ टिममध्ये अंक तालिकाको शीर्ष चारमा रहने टिम सोझै विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।

यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको प्रतियोगिताको शीर्ष चारमा रहँदै नेपालले सोझै जिम्बाब्वेमा भएको विश्वकप छनोट खेलेको थियो ।




२०८० फागुन ३ ०८:४४ बजे

प्रतिक्रिया