१५ हजार नेपाली रुसी सेनामा भर्ना भएको दाबी

bimbonline बिम्ब अनलाइन
२०८० माघ २९ ०९:२४ बजे

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘सीएनएन’ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । यो सङ्ख्या सरकारले अनुमान गरेभन्दा ७५ गुणा बढी हो ।रुसी सरकारले गएको वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका विभिन्न स्रोतले बताएका सीएनएनले जनाएको छ ।

यो प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको खबरमा उल्लेख छ ।सूचकाङ्कअनुसार नेपाली राहदानी विश्वव्यापी गतिशीलताका लागि संसारमा सबैभन्दा खराबमध्ये एक उत्तर कोरियाको भन्दा तल १०३ औँ स्थानमा छ । नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ ।सांसद र अधिकारकर्मीहरूले सरकारले भनेको सङ्ख्या निकै कम भएको हुन सक्ने बताउँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनले अहिले चार जना नेपालीलाई युद्धबन्दी बनाएको छ । रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको भन्ने प्रश्नमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ ।रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेका खबरमा उल्लेख छ । धेरैजसो व्यक्तिहरूले आफूहरू यूएई वा भारत हुँदै गएको बताएका छन् ।

मस्को पुगेपछि एक वर्षको सम्झौतामा हस्ताक्षर हुने र भर्ना हुनेहरूको रुसी बैंक खातामा कम्तीमा दुई हजार डलर जम्मा गरिने र कतिपयले त महिनामा चार हजार डलरसम्म कमाएको बताउँछन् ।रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । नेपालीलाई लड्न पठाउनुअघि यस्तो छोटो प्रशिक्षण अवधिले रुसी सरकारको उदासीनता र अग्रपङ्क्तिमा मानव संशाधनको आवश्यकता देखिने नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवम् रणनीतिक विश्लेषकको रूपमा कार्यरत बिनोज बस्न्यात बताउनुहुन्छ ।

नेपाल प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ना गराउन पठाएको आरोपमा गएको महिना १८ जनालाई पक्राउ गरेको थियो । सरकारले अहिले नागरिकलाई कामका लागि रुस जान प्रतिबन्ध लगाएको छ भने पर्यटक भिसामा यूएई जस्ता देशमा जानेहरूलाई नियममा कडाइ गरेको छ ।


२०८० माघ २९ ०९:२४ बजे

प्रतिक्रिया