नयाँ जनवादी क्रान्तिको कार्यक्रम किन र कसरी समृद्ध पार्ने ?

मुलुकका भू-भागमाथि सिधै कब्जा जमाएर प्रत्यक्ष नियन्त्रण र शासन गर्ने परम्पराका स्थानमा मूलतः अब आर्थिक शोषण, साँस्कृतिक उत्पीडन र राजनीतिक हस्तक्षेपका माध्यमबाट आफ्नो अप्रत्यक्ष नियन्त्रण कामय राख्ने बाटो साम्राज्यवादले अख्तियार गर्न थाल्यो ।

bimbonline लोकनारायण सुवेदी
२०८० मंसिर २६ ०७:४५ बजे

काठमाण्डौ। नेपाली कम्युनिष्ट अन्दोलनको आमूल र अग्रगामी मूल कार्यक्रम नयाँ जनबादी कार्यक्रम नै हो र यसलाई सही किसिमले  कार्यान्वयन नगरी यसको कार्यभार पूरा हुँदैन । अनि नेपाल र नेपाल जनताका आधारभूत समस्याहरु हल हुँदैनन् भन्ने कुरा एकदमै प्रष्ट छ । यद्यपि कतिपय मात्रात्मक रुपमा बद्लिएका र गुणात्मक स्थितिका सन्दर्भमा यसलाई नयाँ  समृद्ध पार्ने र उन्नयन गर्ने बिषयमा गम्भीर छलफल गर्दा  र बहस चलाउँदा नेपाल र नेपाली जनताको मुक्ति र प्रगतिका लागि  यस कार्यक्रमले समेट्न नसकेका कुराहरु के के बिकसित भएका छन् र के के कुरा असामयिक भएर गएका छन् भन्ने यथार्थ बस्तुगत धरातलमा  खडा हुनैपर्ने हुन्छ ।

मूलतः सामन्तबाद र साम्राज्यबाद बिरुद्ध जनमुक्ति र राष्ट्रमुक्तिका समस्याहरु समाधान गर्ने प्रष्ट उदेश्य र दृष्टिकोणका साथ कमरेड पुष्पलालले प्रस्तुत गर्नु भएको नयाँ जनबादी क्रान्तिको कार्यक्रम सामन्ती अधिनायकबादी पञ्चायतकालीन सन्दर्भका कुराहरुलाई छाडेर अहिले पनि आधारभूतरुपमा  उत्तिकै सामयिक र सान्दर्भिक छ । यो नयाँ जनबादी चरण पार नगरी नेपालमा बैज्ञानिक समाजबादमा प्रवेश गर्ने राष्ट्रिय पूँजीवादको प्रस्थान बिन्दू नै बिकास हुन सक्तैन, क्रान्तिकारी भूमिसुधार सहीत आम कृषि क्रान्ति हुन पाउँदैन र राष्ट्रिय बजार र पूँजीको बिकास तथा रोजगारी सिर्जना हुने स्थिति बन्दैन । यसरी किसान बर्गको मुक्ति र प्रगतिको आधार पनि सिर्जना हुँदैन । अनि बाह्य हस्तक्षेपबाट मुलुक मुक्त रहन पनि सक्तैन । त्यसैले देशको मूख्य उत्पादक र जीवनदायिनी शक्ति किसान बर्गलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हर तहरले अग्रामी दिशामा संगठित,एकीकृत र सशक्तरूपमा परिचालन गर्नु बर्तमान चरणको संघर्षको पहिलो सर्बाेपरी र निर्णायक कार्यभार हो । नेपालमा १५ सेप्टेम्बर १९४९ मा नेपाल पार्टी गठन गर्दा जारी घोषणापत्रमा देशलाई तीनवटा महत्वपूर्ण र मूख्य समस्या सामन्तबाद, भारतीय एकाधिकार पूँजीवाद र बिश्व साम्राज्यबाद(त्यतिबेला एंग्लो–अमेरिकी साम्राज्यबाद भनिएको थियो) बाट मुक्त गर्ने स्पष्ट कुरा उठाइएको थियो । 

आज ती समस्या हल हुनुभन्दा झन जटील र पेचिलो भएर गएका छन् । अहिलेसम्मका जनआन्दोलनहरुले सत्ताको उपरी ढाँचामा सामान्य परिबर्तन आएको भए पनि आधारमा कुनै परिबर्तन आएको छैन । वास्तवमा उत्पादन पद्धति र  उत्पादन सम्वन्धमा आधारभूत बर्गीय परिबर्तन आउनसक्ने  उच्च चरणको  परिबर्तन आउन नसकेकै कारण कृषि प्रधान पिछडिएको स्थितिबाट  अहिले पनि नेपाली समाज गुज्रिरहेको छ । त्यसैले क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरणको एकमुष्ठ कार्यक्रममका साथ कृषि क्रान्तिलाई पूर्णता दिइनु पर्ने कुरा अहिलेसम्म पनि उठिरहेका हुन् र किसान बर्गका समस्या हल नभइ राष्ट्रिय समस्या पनि हल हुन सक्तैनन् भन्ने कुरा निरन्तर चलिरहेको हो । नयाँ जनवादी क्रान्तिले हल गर्नु पर्ने मूख्य कुरालाई यसरी गोल गर्दै त्यसबारे द्विबिधापूर्ण कुरा गरेर समाजबादको पृष्ठभूमि तयार हुँदैन र यस बारेमा जनताले उठाइरहेका प्रश्नहरुले पनि सही उत्तर पाउन सक्दैनन् ।

दोश्रो कुरा अर्ध तथा नबऔपनिबेशिक अबस्थाको अन्त्य किन आबश्यक ? भन्ने कुरा एकदमै आधारभूत महत्वको कुरा छ । बिगतमा राष्ट्रिय स्वाधीनताका बिश्वब्यापी आन्दोलनहरुले बिश्वका धेरै मुलुकहरु उपनिवेशवादबाट मुक्त भए र दोश्रो बिश्व युद्धसम्म आइपुग्दा आमरुपमा औपनिवेशिक युग समाप्त भयो । रुसमा महान लेनिनको क्रान्तिकारी  नेतृत्वमा समाजवादी क्रान्तिको सफलता र बिश्वको सीमित भू भागमै भएपनि समाजवादी ब्यवस्थाको स्थापान तथा छोटो समयमै समाजवादको प्रभावकारी चौतर्फी प्रगतिले गर्दा उपनिवेशवाद कायम राखिराख्न बिश्व साम्राज्यवादलाई सहज थिएन । त्यसैले साम्राज्यवादले परम्परागत शोषण शैली र रुपमा परिवर्तन ल्याउन थाल्यो । अन्य मुलुकका भू-भागमाथि सिधै कब्जा जमाएर प्रत्यक्ष नियन्त्रण र शासन गर्ने परम्पराका स्थानमा मूलतः अब आर्थिक शोषण, साँस्कृतिक उत्पीडन र राजनीतिक हस्तक्षेपका माध्यमबाट आफ्नो अप्रत्यक्ष नियन्त्रण कामय राख्ने बाटो साम्राज्यवादले अख्तियार गर्न थाल्यो । साम्राज्यवादी शोषणको यो नयाँ स्वरुपले तेश्रो बिश्वका देशहरु कानुनीरुपले स्वतन्त्र र सार्वभौम देखिए पनि उनीहरुको स्वतन्त्रता र सम्प्रभूता औपचारिक मात्र रहनपुग्यो । यसका अतिरिक्त बिभिन्न सैनिक संगठनहरूमा पनि देशहरूलाई प्रत्यक्ष वा परोक्षरूपम तान्ने हत्कणडा अपनउन थाल्यो । अहिले यस्ता गतिबिधिहरू प्रायः सबै महादेशमा तीब्र तुल्याइएका छन् ।

आफ्नो राजनीतिक भबिष्यका बारेमा आफै निर्णय गर्न पाउने, बिकासको बाटो आफैले तय गर्न पाउने र आफ्ना प्राकृतिक श्रोत साधनरुको उपयोग आफ्नै देश र जनताको हितमा प्रयुक्त गर्न पाउने उनीहरुको स्वाधीन र आत्मनिर्णयको अत्यन्तै आधारभूत र महत्वपूर्ण अधिकार साम्राज्यवादी–प्रभुत्वशाली देशहरुको हस्तक्षेपले गर्दा कुण्ठित हुदै गयो । यस प्रकार साम्राज्यवादी–प्रभुत्वाबादी शक्तिहरुको दलाली गर्ने शासकहरुको सानो गुटको माध्यमद्वारा अबिकसित र पिछडिएका देशहरु परोक्ष किसिमले पराधिनताको पासोमा पर्दै गए । तेश्रो बिश्वका मुलुकहरुको यही खण्डित सार्वभौमिकता र अपरोक्ष पराधिनताको अबस्थालाई अर्ध औपनिवेशिक र बित्तिय पूँजीवादको आजको शोषणकारी अबस्थामा नब औपनिबेशिक भनेर चित्रण गरिएको हो । तेश्रो बिश्वका प्राकपूँजीवादी चरणबाट गुज्रिरेहका जुनसुकै मुलुक पनि यस अबस्थाबाट पार नभई अर्ध औपनिवेशिक तथा नबऔपनिवेशिक नरहेको निष्कर्श निकाल्नु क्रान्तिकारी आन्दोलनलाई गलत मोड दिने र स्वाधीनताको आन्दोलनलाई कमजोर तुल्याउने कुरा मात्र हुन जान्छ भन्ने यर्थाथ पनि एकदमै प्रष्ट छ ।

निश्चय पनि नेपाल कुनै पनि साम्राज्यवादी देशको प्रत्यक्ष उपनिवेशमा कहिले पनि नपरेको संसारका दुर्लभ मुलुकमध्ये एक रहेको कुरा यथार्थ हो । यो हाम्रा पूर्खाहरुको साम्राज्यवाद बिरोधी संघर्षको परिणति हो भन्ने कुरामा हामीले निश्चय नै गौरब गर्नै पर्दछ । तर बृटिश साम्राज्यवाद बिरुद्धको १८१४—१६ को युद्धमा भएको पराजय र देशले झण्डै आधाजसो भू–भाग गुमाएर गर्नु परेको अपमानजनक सुगौली सन्धि पछिदेखि नेपाल अर्ध औपनिवेशिक अबस्थामा परेको र त्यसपछिका शासक बर्गले अग्रेज उपनिवेशबादीहरुको हितमा काम गर्दै नेपालको स्वाधीनताको गौरबमय परम्परालाई कुण्ठित तुल्याउदै आएको इतिहास पनि एकदमै स्पष्ट छ ।

त्यस क्रममा नै नेपाली यूवाहरुलाई बिश्वका शक्तिशाली राष्ट्रहरुको रक्षा र तिनको सीमा सुरक्षाका निमित्त भाडाको सिपाहीकोरुपमा काममा लगाउने कुरा पनि संस्थागत हुँदै आयो । यसलाई १९४७ मा भएको गोर्खाभर्ति सन्धिले निरन्तरता दिएको पनि स्पष्टै छ । त्यसैगरी १९५० को भारतसँगको ‘शान्ति तथा मैत्री सन्धि’मार्फत नेपाललाई भारतीय सुरक्षा छातामुनि राख्ने तारतम्य पनि मिलाइयो । यही पृष्ठभूमिका आधारमा नेपालको सार्वभौमिकता र स्वाधीनता खण्डित भएको निष्कर्श निकाल्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै देशलाई ‘अर्ध औपनिवेशिक अबस्थामा’ रहेको बिश्लेषण गरेको एउटा ऐतिहासिक वास्तविकता हो ।

यो स्थितिबाट मुक्त नभई नेपाल कानुनीरुपमा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न भनेर लेखिए पनि यथार्थमा अर्ध तथा नब औपनिवेशिक अबस्थामै रहनेछ । नेपाल संयुक्त राष्ट्र संघको सदस्य हुँदा, बिश्व मञ्चहरुमा स्वाधीनता र स्वतन्त्रताको आवाज उठाउँदा, असंलग्न आन्दोनलको सक्रिय सदस्य हुँदा या सार्कको सदस्य राष्ट्र हुदा वा बिश्वब्यापार संगठनको सदस्य हुँदा तेश्रो बिश्वका मुलुकहरुको आवाज बुलन्द गर्दा पनि नेपालको यही अबस्था फेर्नका लागि मद्दत पुग्दछ । ती कारणहरुले नेपालको सार्बभौमिकता र स्वाधीनता अखण्डित छ भन्ने अबस्था सिर्जना हुँदैन भन्ने कुरा बिर्सन हुँदैन । आज त नेपाल बहुराष्ट्रिय निगम(एमएनसी) तथा परराष्ट्रिय कम्पनी(टीएनसी)हरुको शोषणको क्रिडास्थल बनेको छ । यो त्यही अर्ध औपनिवेशिकता कै बद्लिदो रुप अर्थात नबऔपनिवेशिक शोषण बाहेक अरु केही होइन ।यो सत्यलाई ढाकछोप गर्ने कुनै पनि कुराले नेपालको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई भुत्ते बनाउँदछ,गलत मोड दिन्छ र कमजोर पार्दछ । जुन नयाँजनवादी क्रान्तिको एउटा प्रमुख राष्ट्रिय कार्यभार अर्थात आत्मा हो ।

वास्तवमा हिजो कमरेड पुष्पलालले नेपाललाई अर्ध औपनिवेशिक भनेर चित्रण गर्दा जुन सन्दर्भ र तर्ककासाथ बिषयहरु अघि सार्नुभएको थियो ती सन्दर्भ र समस्याहरु आजपनि कायमै रहेका छन् । आजपनि हामी आर्थिक रुपमा परनिर्भर नै छौ । यो हाम्रो आन्तरिक कारणका अतिरिक्त असमान बाह्य ब्यापारिक एवं आर्थिक सम्वन्धका कारणले उत्पन्न भएको स्थिति हो । नेपालमाथि बाह्य साँस्कृतिक प्रभाव र दबाव तथा साँस्कृतिक अतिक्रमण पनि उत्तिकै तीब्ररुपमा हुदै आएको छ । नेपालको लामो समयदेखिको भारतसँगको सीमा समस्या सुल्झिएको छैन ।

कालापानी, सुस्ता लगायतका धेरै क्षेत्रहरुमा हाम्रो भू–भागहरू भारतीय   अतिक्रमणमा परेका छन् ।१९५० को सन्धि, गोरखा भर्ती सन्धिलगायत अन्य कतिपय सन्धिहरु खारेज नहुँदा र नेपालको हितबिपारीत जल सम्पदा सन्धिहरु गरिदा नेपालको राष्ट्रिय हित मात्रै कुण्ठित भएको नभै सार्वभौमिकता नै खण्डित र सन्देहास्पद हुँदैगएको छ र नेपाललाई नबऔपनिवेशिक दोहनको स्थितिमा धकेलिदिएको छ । नेपालको आन्तरिक कमजोरीका कारण बाह्यदबाव, प्रभाव र चासो बढिरहेको मात्रै छैन, बाह्यशक्तिको ‘सुक्ष्म ब्यबस्थापन’ (माइक्रो म्यानेजमेण्ट) (अर्थात ठूला साना चयन, नियुक्ति, सरुवा, बढुवा र खारेजी जस्ता कुरामा पनि बाह्य हस्तक्षेप) बढिरहेको छ । नेपाली समाजको यस्तो अबस्थाको चित्रण गर्दा यसको स्वाधीनता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त ब्यापक नेपाली जनताको एकता र तिनीहरुको हकहितको रक्षागर्ने जनवादी क्रान्तिको आवश्यकता अझ ज्वलन्तरुपमा उपस्थित हुन्छ । जहाँ सच्चा देशप्रेमी, जनवादी, प्रगतिशील बामपन्थी तथा कम्युनिष्ट शक्तिहरुको क्रान्तिकारी एकता अनिवार्य छ । क्रान्तिकारी नेपाली कम्युनिष्ट आन्दोलनमा यीनै कुराहरुलाई आत्मसात गर्दै कमरेड पुष्पलालले भन्नु भए जस्तै ‘लाखौलाख झोपडीको एकता आजको सन्दर्भमा नेपालको राष्ट्रियता र तिनै झोपडीहरुको हकहित नै जनवाद हो’ भन्ने दूरगामी, गम्भीर र सारपूर्ण कुरालाई अंगीकार गर्दै नेपाली क्रान्तिले पूरा गर्नु पर्ने युगीन कार्यभार अर्थात — सामन्तबाद र साम्राज्यवादबाट मुक्तिको बाटोमा निरन्तर अघि बढ्ने अठोट र संकल्प नेपालीजनता समक्षपुनः दोहोर्याउँनु उत्तिकै आवश्यक छ ।

नेपाली कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टी बिश्वभरीका मुक्तिकामी जनताका बर्गीय शोषण र सामाजिक उत्पीडन बिरुद्धका न्यायपूर्ण संघर्षहरुलाई अभिबादन गर्दछ र तिनीहरुसँग ऐक्यवद्धता जनाउँदछ । साथै सबै देशहरुसँग पञ्चशीलमा आधारित समानता, सम्मान, अहस्तक्षेप, अनाक्रमण तथा पारस्परिक लाभ र स्वतन्त्रतामा आधारित सुमधुर सम–मैत्री सम्वन्ध कायम गर्नमा जोड दिन्छ । खासगरी छिमेकी मुलुकहरुसँग यीनै आधारमा सम–मैत्री सम्बन्ध कायम गर्न चाहन्छ ।

हाम्रो मुलुक कुनै पनि बिदेशी शक्तिको परेड मैदान नबनोस् र कसैका बिरुद्ध पनि यो भूमि प्रयोग हुन नपाओस् भन्ने कुरामा नेपाली कम्युनिष्ट आन्दोलन प्रष्ट छ र द्विबिधारहीत ढंगले भइरहनु‘पर्दछ । साथै हाम्रो देशको बिरुद्ध अरु देशको भूमिबाट पनि नेपाल र नेपाली जनताका बिरुद्ध कुनै किसिमको गतिबिधि नहोस् भन्ने कुरामा पनि नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट पार्टी बिशेष जोड दिन चाहन्छ र सजग रहन्छ । नेपालमाथिको बढ्दो अमेरिकी  हस्तक्षेप यतिबेला एमसीसीको नाममा भइरहेको छ   त्यसको पार्टीले लगातार  एकल र संयुक्तरूपमा पनि निरन्तर बिरोध र संघर्ष गरिरहेको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेपालको स्वाधीनता, सम्बृद्धि, सामानता र शान्तिका निमित्त सबै मुलुकहरु र खासगरी छिमेकी मुलुकहरुसँगको सम्वन्धलाई अझ परिमार्जित र बिकसित गर्नुपर्ने आवश्यकता औंल्याउँदछ  र जोड दिन्छ । बास्तवमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट आन्दोलन सर्बहारा बर्गको आन्दोलन भएकोले यसले निश्चय पनि अन्तर्राष्ट्रिय सर्बहाराबादमा दृढ बिश्वास गर्दछ नै । तर पार्टीले राष्ट्रिय दायित्व पूरा नगरी अन्तर्राष्ट्रिय कर्तब्य र दायित्व पनि पूरा गर्न सक्तैन भन्ने कुरामा पनि यो उत्तिकै सचेष्ट छ र रहिरहनु पर्दछ । कमरेड माओको नेतृत्वमा भएको चिनीया नयाँ जनबादी क्रान्तिको महत्वपूर्ण अनुभवले पनि हामीलाइ यथार्ततः यही शिक्षा दिन्छ ।

यी दुइ महत्वपूर्ण बिषयका अतिरिक्त आज बिश्वमा खासगरी जल, थल र नभमा नै जुन पर्याबरण र प्रदुषणको  समस्या खडा भएको र मानब अस्तित्व नै महासंकटमा पर्ने अत्यन्तै गम्भीर स्थिति सिर्जना गरिएको छ त्यो पूँजीवादी अति नाफा केन्द्रित प्राकृतिक श्रोत साधनको जथाभाबी निर्मम दोहन तथा मूलतः मानबद्वेषी आणबिक परमाणबिक हात हतियारको निर्माण  नै हो । यसका बिरुद्ध पनि नेपाल कम्युनिष्ट पार्टीले थप अध्ययन अनुसन्धानका साथ आन्दोलन चलाउनु पर्दछ र अरु शक्तिहरुले यस सम्वन्धमा गरिरहेका आन्दोलनप्रति दृढ ऐक्यबद्धता जनाउनु पर्दछ ।

यसका अतिरिक्त आज आतंकबाद बिश्वमा साम्राज्यबादकै सह– उत्पादनको रुपमा देखा परेको र यसलाई धार्मिक, सामुदायिक,जातीय  र साँस्कृतिक आबरण दिएर जनतालाई परस्परमा लडाउने र  बर्गीय शोषण र सामाजिक उत्पीडिनका बिरुद्धको जनताको आन्दोलनलाई बिभाजन गर्ने कुत्सित मनशाय लुकेको देखिन्छ । यसका बिरुद्ध पनि नेपाल कम्युनिष्ट पार्टी प्रष्ट अडान राख्दछ र जनतालाई बिभाजन गर्ने यस्ता सबै प्रकारका हतकण्डाको बिरुद्ध खडा हुन्छ र हुनु पर्दछ भन्ने सबै क्रान्तिकारी कम्युनिष्ट, बामपन्थी, निष्ठाबान लोकतािन्त्रक तथा सच्चा देशभक्त शक्तिहरू समक्ष जोडदार अपिल पनि गर्दछ ।

 




२०८० मंसिर २६ ०७:४५ बजे

प्रतिक्रिया