सन्दर्भ भ्रष्टाचार दिवस - भ्रष्टाचार केहो र कसरी निर्मूल गर्ने ?

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २४ ०७:३४ बजे

काठमाण्डौ। आज ९ डिसेम्बर  अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । संयुक्त राष्ट्र संघको महासभाले भ्रष्टाचार भयावहताको बोध र विरोधको लागि तय गरेको विशेष अर्थ र महत्वको दिन हो। 

त्यसैले यससन्दर्भमा  सर्वप्रथम भ्रष्टाचार के हो भनेर चिन्नु जरुरी छ । कुनै चिजलाई के हो, कस्तो हो, किन हो र कसरी हो भन्ने कुरा त्यसको अर्थ, परिभाषा र परीक्षण गरेर स्पष्ट रुपमा चिनिसकेपछी मात्र त्यसबारे के कस्तो धारणा बनाउने र त्यसप्रती के कस्तो व्यवहार किन गर्ने भन्ने निष्कर्षमा पुग्नु नै सचेत मानिसले अवलम्बन गर्ने सही विचार, बाटो, विधि र व्यवहार हो ।

 भ्रष्टाचार भ्रष्ट चिन्तनको परिणाम हो ।भ्रष्टाचार भ्रष्ट व्यवहार, आचरण र कृयाकलापको फल हो ।भ्रष्टाचार गलत व्यवस्था, विधिविधान, नीतिनियमको नियती हो । भ्रष्टाचार नीच नेता र स्वार्थी शासकहरुको कुविचार, कुनियत र कुकार्यजन्य शासन-प्रशासनको उपज हो ।भ्रष्टाचार जनता र जनतन्त्रविरोधी, राष्ट्र र राष्ट्रियताविरोधी, विकास र समृद्धी विरोधी गतिविधी हो । भ्रष्टाचार एउटा सर्वाधिक संदिग्ध सोंच, शैली, संस्कार र संस्कृतिको सृजन हो । भ्रष्टाचार एक अनैतिक, अनियमित, अवान्छित, असभ्य, अपारदर्शी र असह्य अपराध हो ।भ्रष्टाचार एक महाकुकृत्य हो, महा अपराध हो र महापाप हो । तसर्थ यो अनिवार्यत: निच्च, तुच्छ र निन्दनीय मात्र होइन, राज्यवाट  दण्डनीय समेत छ । 

अब प्रश्न छ कि यसलाई कसरी निगरानी, निरुपण, नियन्त्रण, निवारण र निर्मूलन गर्न सकिन्छ त ?

 सदविचार र सदआचार, सही सिद्धान्त र सही व्यवहार, सादा शैली र सरल संस्कार तथा सर्वोच्च सभ्यता र समृद्ध संस्कृति अवलम्बन र अनुशीलन गरेर । नैसर्गिक नीति, नियम, न्याय, नैतिकता र निर्देशनको प्राप्ती र पालना गरेर ।शास्त्र र सिद्धान्तहरुको अध्ययन, समाज र संस्कारको अनुगमन, साहित्य र संस्कृतिको अनुसन्धान तथा सभ्यता र स्वच्छताको अवलम्बन गरेर ।उन्नत समाज, उत्कृष्ट संस्कार, उत्तम सभ्यता र उपयुक्त सिस्टमको स्थापना, परिपालना र विकास-विस्तारमा जोड दिने शिक्षा-दीक्षा, शासन-प्रशासन, नीति-नियम, ऐन-कानून, विधी-विधान, संहिता-संविधान, आचार-संस्कार र पद्धति-प्रणालीको अनुकरण, अनुशरण र अनुशासन अवलम्बन गरे-गराएर ।

 निष्ठा-आस्था, लक्ष-उद्देस्य, ध्येय-आदर्श, नीति-नैतिकता जस्ता अमूल्य मूल्य-मान्यता र विचार-सिद्धान्तको अवलम्बन, संरक्षण र संबर्द्धनको औचित्य, महत्व र आवश्यकता बोध गरे-गराएर ।सुशिक्षा र श्लील साहित्य र सही सिद्धान्त स्वच्छ राजनीतिको माध्यमबाट सुन्दर समाज र सर्वोत्कृष्ट संस्कृती स्थापना गर्नको लागि दु:ख, कष्ट, त्याग, तपस्या र बलिदानका कीर्तिमानहरु कायम गरेर ।समाजमा भ्रष्टलाई बाइ बाइ र स्वच्छलाई हाइ हाइ गर्ने संस्कार बसाएर । समाजिक योद्धा-अभियन्ता, राजनीतिक नेता-कार्यकर्ता र राज्यका शासक-प्रशासक आदि सार्वजनिक जीवनका व्यक्तित्व-नेतृत्वहरुले आफ्ना चिन्तन र चरित्रमा रुपान्तरण र पुनःसँस्कार गरेर जीवन-व्यवहारमै सरलता, स्वच्छता, सदाचारिता, पारदर्शिता अवलम्बन गरेर । समाज र राज्यले भ्रष्टाचारप्रति शून्य सहनशीलताको र भ्रष्टाचारीलाई निर्मम कार्वाहीको नीति र कृति लागू गरेर ।

यति गरेर जान सक्ने हो भने लाग्छ, भ्रष्टाचार निर्मूल नै हुन्छ, कथंकदा निर्मूल नै हुन नसके पनि पर्याप्त नियन्त्रण हुन्छ । यसरी मात्र भ्रष्टाचार विरुद्धको यो अन्तर्राष्ट्रिय दिवस मनाउनुको अर्थ र  औचित्य हुनेछ ।

            


२०८० मंसिर २४ ०७:३४ बजे

प्रतिक्रिया