‘प्यालेस्टाइनमा पुन: इजरायलले गरेको नरसँहारको विरोध स्थायी युध्दविराम गर्न माग

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २३ १८:४८ बजे

काभ्रे  । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले  इजरायली फासीवादको बर्बर आक्रमणको सामना गरिरहेका प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।

प्यालेस्टिनको गाजा क्षेत्रमा इजरायलले पुनः सञ्चालन गरेको नरसंहारविरूद्ध नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा शुक्रबार भएको जनसभापछि आयोजित सभामा वैद्यले इतिहासमा प्यालेस्टिनी जनताले युरोपमा दुःख पाएका यहुदी शरणार्थीलाई दयावश शरण दिएको तर गुण बिर्सेर जातिवादी इजरायली शासकहरूले प्यालेस्टिनी निहत्था महिला र बालबालिकाको निर्मम हत्या गरिरहेको बताउनुभयो । नेपालका कम्युनिस्ट नामधारी शासक दलका नेताहरूले प्यालेस्टिनी जनताको पक्षमा एक शब्द नबोल्नुले उनीहरूमा अन्तर्राष्ट्रवादी भावना हराइसकेको बरू विदेशी डलरले मुखमा बुजो लगाएको केन्द्रीय सदस्य वैद्यले जिकिर गर्नुभयो ।

प्यालेस्टिनी जनताको निर्मम हत्या हुँदा पनि चुपचाप बस्नु र उल्टै आक्रमणकारी इजरायलको पक्ष लिनुले अमेरिकी प्रजातन्त्र र मानवअधिकारको पक्षधरता झूटो प्रमाणित भएको उहाँले तर्क गर्नुभयो । प्यालेस्टिनी जनताको जीवन रक्षार्थ तत्काल स्थायी युद्धविराम सम्झौता गर्नुको विकल्प नभएको उहाँले जोड दिनुभयो ।

उहाँले नेपाली युवालाई विदेश पठाएर रेमिट्यान्स भित्याउने नेपाल सरकारको रवैयाकै कारण विपिन जोशीजस्ता युवा इजरायलमा हराएको बताउँदै  सरकारले गोर्खा भर्ती तुरून्तै खारेज गर्नुपर्ने तर्क गर्नुभयो । जाजरकोटका भूकम्प पीडितहरूलाई चीन सरकारले राहत दिँदा पनि असहयोग गर्ने नेपाल सरकारको नीति जनताको पक्षमा नभएको बरू भारतलाई पोस्न नेपालका नदीनाला सुम्पिने गरी देशघाती एमसीसी र एसपीपीजस्ता सम्झौतामा हस्ताक्षर गरेको उहाँले उल्लेख गर्नुभयो ।

२३ लाख प्यालेस्टिनी जनतामध्ये १९ लाख विस्थापित हुनु चिन्ताजनक दृश्य भएको चर्चा गर्दै अध्यक्ष बाटाले संयुक्त राष्ट्र सङ्घको बडापत्रको धारा ९९ लागू गरेर अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई नै खतरामा पारेको इजरायल–प्यालेस्टिनको विषयलाई महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को ध्यानाकर्षण गराउनुपर्ने जिकिर गर्नुभयो । समस्याको तत्कालीन समाधान स्थायी युद्धविराम हुने र प्यालेस्टिनी जनतालाई उनीहरूको भूमि फिर्ता दिनु नै दीर्घकालीन समाधान हुने उहाँले बताउनुभयो ।



२०८० मंसिर २३ १८:४८ बजे

प्रतिक्रिया