टिकटक माथि प्रतिबन्ध लगाउनु सरकारको सामन्ती अधिनायकवादी चरित्र - मशाल

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २ ०८:४२ बजे

काठमाण्डौ। नेकपा(मशाल)का महासचिव सन्त वहादुर नेपालीले आज एक वक्तव्य जारी गरेकाछन। करिब दुई दशकको संसदीय अभ्यासले के पुष्टी गरिदियो भने देशको राजनीति, आर्थिक तथा सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा दलाल पुँजीवादले कब्जा जमाएको छ । त्यसकारण देशको अवस्था झन्‌पछि झन् गिर्दो अवस्थामा पुगेको छ र देश अब असफल राष्ट्रमा परिणत हुँदै गएको हुँदा देशमा कतै विदेशी शक्तिहरूले प्रत्यक्ष हस्तक्षेप गर्ने र देशको अस्तित्व नै समाप्त हुने त होइन ? भन्ने खतरा उत्पन्न भएको छ । देशलाई यो दुरावस्थामा पुर्‍याउने कार्यमा आजका सत्तापक्षीय गठबन्धन तथा प्रतिपक्ष दुवै जिम्मेवार रहेका छन भनिएको छ। 

सत्ता गठबन्धन तथा प्रतिपक्ष दलहरू अहिले “मिशन ०८४” को लक्ष्य प्राप्तितर्फ लागेका छन् । उनीहरूलाई देशको चिन्ता छैन । जनता महङ्गी, भ्रष्टाचार, घुुस, तस्करी, माफियागिरी, कमिशन, नातावाद, कृपावाद, कालो बजारी लगायत लुटतन्त्रबाट आहत छ्रन् । एक करोडभन्दा बढी नागरिक जीविकोपार्जनका निम्ति विदेश पलायन भएका छन् । गाउँ रित्तिएको छ । पुँजी पलायन भएको छ । खर्बौँ ऋणको बोझले देश थिचिएको छ । व्यापार घाटाले देश आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । यही मौकाको फाइदा उठाएर कतिपय राजावादी तत्वहरू पूर्व राजा ज्ञानेन्द्रलाई पुनः सिंहासनमा स्थापित गर्ने सपना देखिरहेका छन् । फेरि निरङ्कुश, तानाशाही र अधिनायकवादी शासन ल्याउन प्रयास गरिरहेका छन् । तर आजको नेपाली समाज धेरै अगाडि बढिसकेको हुनाले राजतन्त्रको पूनस्र्थापना गर्न सकिन्छ भनेर कसैले कल्पना पनि गर्छ भने त्यो मूर्खता शिवाय केही हुने छैन ।  कुनै पनि प्रकारको प्रतिगमनको कडा विरोध गर्दछौ भनि वक्तव्यमा उल्लेख गरेका छन।

काङ्ग्रेस, एमाले, माओवादी, मधेश केन्द्रित लगायतका दलहरूले उत्पन्न गरेको यो सङ्कटको समाधान राजतन्त्रको पूनस्र्थापनाबाट हुन सक्दैन । देशमा पुँजीवादी गणतन्त्र स्थापनापछि जुन प्रकारले देश नव औपनिवेशिकरणतर्फ गएको छ र उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, आदिमा दलाल पुँजीवाद बलियो बन्दै गएको छ तथा जुनप्रकारले संसदवादी दलहरू साम्राज्यवाद तथा विस्तारवादको निर्देशनमा असफल राष्ट्र बनाउदै लगिरहेका छन्, यो स्थितिमा देश अब स्वाधीन, स्वतन्त्र र आत्मनिर्भर रहन सक्दैन भन्ने सङ्केत देखा परेको छ । यो अवस्थामा प्रतिगामी शक्तिहरूका हर्कतहरूको विरोध गर्दै नयाँ जनवादी व्यवस्थाका लागि देशका तमाम देशभक्त, जनवादी, वामपन्थी शक्तिहरू आन्दोलमा उत्रनु पर्ने आवश्यकता भएको छ । नयाँ जनवादी व्यवस्थाको स्थापनाका लागि सच्चा देशभक्त वामपन्थी क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता देखिएको छ । 

सामान्यतः अहिले जनताले युटुव, इन्स्ट्राग्राम, टिकटक, ट्वीटर आदिबाट आफ्नो अभिव्यक्ति प्रकट गर्ने गरेका छन् । त्यसक्रममा कतिपय छाडा र अपराधी मनोवृत्तिका व्यक्तिहरूले सामाजिक संञ्जालको दुरूपयोग पनि गरेका छन् । तर त्यसैलाई आधार बनाएर जनताको अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुनेगरी सामाजिक संजालमाथि नै रोक लगाउनु सरकारको सामन्ती अधिनायकवादी चरित्र देखिएको छ । टिकटकलाई गलत प्रकारले प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई निरुत्साहित गर्न सरकारले विधि तयार गरी नियमन गर्न आवश्यक छ । तर टिकटक माथिको प्रतिबन्ध तत्काल हटाउनु उपयुक्त हुने छ भनि वक्तव्यमा भनिएको छ।


२०८० मंसिर २ ०८:४२ बजे

प्रतिक्रिया