दिपेश र लोकेन्द्रको महाकालीमा अन्त्येष्टि

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १३ ०८:१० बजे

दार्चुला। इजरायलमा मारिएका लेकम गाउँपालिका–५, टकनाका दिपेशराज विष्ट र मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका लोकेन्द्रसिंह धामीका अनगिन्ती सपनाहरू इजरायलमा विलय भए पनि भौतिक शरीरको भने महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । हमास समूहको आक्रमणमा परी मारिएका विष्ट र धामीको शव इजरायलबाट नेपाल ल्याई गत सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । दिपेशको कञ्चनपुरस्थित महाकाली नदीमा र लोकेन्द्रको दार्चुला उकुस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो । मृतक विष्ट र धामीको धार्मिक परम्परा अनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको परिवारजनले बताएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट दुवै जनाको शव काठमाडौँबाट गाउँसम्म ल्याइएको थियो । 

भीमदत्त नगरपालिका–१५, निम्बुखेडास्थित कान्छा बाबु पुष्पराज विष्टको निवासबाट दिपेशराजको शव यात्रा निकालिएको थियो । धामीको भने मालिकार्जुन गाउँपालिकाले पठाएको शववाहनमार्फत गाउँमै शव ल्याएर उकु चिहानमा अन्त्येष्टि गरिएको हो । बिएस्सी एजी अध्ययन गरेर स्वदेशमै रोजगारी गर्ने सपना बोकेका दिपेश र लोकेन्द्रको इजरायलमा मारिएको १६ औँ दिनमा महाकालीमा अन्त्येष्टि गरिएको हो । दुवै जनाको सपना महाकाली नदीमै अन्त्य भएको आफन्तहरू बताउँछन् । 

गत २० असोजमा हमास समूहले इजरायलमा हमला गरेको थियो । सोही हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विष्ट र धामीसहितका १० विद्यार्थीको मृत्यु भएको थियो । ‘लन एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्न गर्न गएका सात विद्यार्थीले ज्यान गुमाएका थिए । परिवारका लागि मात्र हैन समाजका लागि समेत योगदान गर्न सक्ने क्षमता भएका युवा विद्यार्थी धामी र विष्टको मृत्युले ठुलो क्षति पुगेको शुभचिन्तकहरूले बताएका छन् ।   


२०८० कात्तिक १३ ०८:१० बजे

प्रतिक्रिया