राष्ट्रिय भावना भएन भने खर्बपतिहरू नाङ्ले पसलमा झर्ने अवस्था आउछ-बिजुक्छेँ

सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशीहरूको बैङ्कमा पैसा राख्न नहुने धारणा राख्नुभयो

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १ ०८:५१ बजे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर ट्रक व्यवसायी सङ्घ (रूपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को आठौँ अधिवेशनको सोमबार उद्घाटन गर्नुभयो ।कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपालमा विदेशी दलाल पुँजीपतिवर्गको हाबी भइरहेको बताउँदै राष्ट्रिय पुँजीपतिवर्ग मिलेर विदेशी दलाल पुँजीपतिवर्गको विरोधमा सङ्घर्ष गर्नु आवश्यक भएकोमा जोड दिनुभयो ।

उहाँले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारीचालकहरूलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।देशको नीति निर्माण गर्ने थलो संसद् राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उहाँले सदनमा व्यवसायीहरू पुग्न सके सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताउनुभयो ।

पार्किङको लागि ठाउँ–ठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै उहाँले सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशीहरूको बैङ्कमा पैसा राख्न नहुने धारणा राख्नुभयो ।उहाँले व्यवसायीहरूमा राष्ट्रिय भावना भएन भने ट्रक व्यवसायी, अर्बपति, खर्बपतिहरू नाङ्ले पसलमा झर्ने स्थिति आउन सक्नेतर्फ पनि सचेत पार्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले हचुवाको भरमा वर्षौँसम्म जग्गाको कित्ताकाट रोकेको कारण देशको आर्थिक कारोबारमा समेत असर परेको बताउनुभयो ।

नेपालमा चरम बेरोजगारी, राजनैतिक अस्थिरता, भ्रष्टाचारका कारण उत्पन्न आर्थिक सङ्कटका कारण बितेको १९ महिनामा २४ लाख युवाहरूले नेपाल छाडेको तथ्याङ्क रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले गत आ.व. २०७९र८० मा श्रम रोजगारी स्वीकृतिमा नेपालका ८ लाख र अध्ययन गर्नको लागि १ लाख १० हजार युवाहरू विदेसिएको तथ्याङ्क उक्त कार्यक्रममा प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, “सार्वजनिक तथ्याङ्कअनुसार यो आर्थिक वर्षमा चीनका ११ करोड, भारतका ८० लाख र बङ्गलादेशका २० लाख पर्यटकहरू विदेश भ्रमणमा जाने रेकर्ड छ । त्यसको ५ प्रतिशतमात्र नेपाल आउने वातावरण बनाउन सके देशको लागि ठूलो टेवा पुग्ने देखिन्छ ।”

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासङ्घका नवीन प्रजापतिले सडक व्यवस्थित भयो भने राज्य नै व्यवस्थित हुने विचार राख्नुभयो भने ट्रक व्यवसायी सङ्घका पूर्व अध्यक्ष महेन्द्र खायमलीले सङ्घर्षकै कारण स–साना ट्रिपर निर्वाधरूपमा सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

उद्घाटन कार्यक्रम भक्तपुर साकोसको बाँसुरी र वीणाको धुनमा पार्टी अध्यक्ष बिजुक्छेँले पानस प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।बन्द सत्रले लक्ष्मीप्रसाद गोराको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो ।


२०८० कात्तिक १ ०८:५१ बजे

प्रतिक्रिया