कब्जा गरेको प्यालेस्टिनी भूमि फिर्ता र देशभक्त नेताहरूको रिहाइ गर्न - कान्तिकारी कम्युनिष्ट पार्टी माग

इजरायलमाथि प्यालेस्टिनका तर्फबाट भएको सैन्य कारबाहीको समर्थन ।इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरू, श्रमजीवी कामदारहरू तथा पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न र देशमा फर्कन चाहने नेपालीहरूलाई तुरुन्त देशमा फर्काउने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग ।’

bimbonline बिम्ब अनलाइन
२०८० असोज २४ ०८:२५ बजे

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सय वर्षदेखि आफ्नो भूमिमाथि अतिक्रमण गरिरहेको इजरायलमाथि प्यालेस्टिनका तर्फबाट भएको सैन्य कारबाहीको समर्थन गर्दै इजरायलमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छन । पार्टी प्रवक्ता कञ्चनले वक्तव्य जारी गर्दै इजरायल घटनामा घाइते भएका मानिसको स्वास्थ्यलाभको कामना गर्दै अविलम्ब उद्धारका लागि सरकारसँग माग गरेका छन् । उनले साम्राज्यवादको नाङ्गो समर्थन गर्ने दाहाल सरकारको दलालीप्रति खेद पनि व्यक्त गरेका छन् ।

प्रवक्ता कञ्चनले प्रेस–वक्तव्यमा भनेका छन्, ‘करिब एक शताब्दीदेखि इजरायलको कब्जामा रहेको देश प्यालेस्टाइनका उत्पीडित जनताले अतिक्रमणकारी इजरायलका विरुद्ध सैन्य प्रतिरोध गर्दा इजरायलमा अध्ययनरत दसजना नेपाली विद्यार्थीको मृत्यु भएको समाचार प्रकाशित भएको छ । हाम्रो पार्टी मृतक विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ र इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरू, श्रमजीवी कामदारहरू तथा पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न र देशमा फर्कन चाहने नेपालीहरूलाई तुरुन्त देशमा फर्काउने व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

प्रवक्ता कञ्चनले अगाडि भनेका छन्, ‘विदेशी भूमिमा नागरिकहरूको हताहती हुँदा पनि नेपालको दूतावास बेखबर हुनु, सरकारसँग समन्वय गरेको औपचारिकता मात्र देखिनु तर व्यवहारमा क्रियाशील हुन नसक्नु सरकार र यसका निकायहरूको लाचारीपन हो । यसप्रकारको लाचारी र ढिलासुस्तीको हाम्रो पार्टी तीव्र विरोध गर्दछ । इजरायली सत्ताबाट प्यालेस्टाइनी जनतामाथि थोपरिएको अत्याचारप्रति आँखा चिम्लिएर अमेरिकी साम्राज्यवादको गोटी इजरायली सरकारका पक्षमा वक्तव्यबाजी गर्ने दाहाल सरकारको साम्राज्यवादप्रतिको दलाली लज्जास्पद परिघटना हो । हाम्रो पार्टी यसको भत्र्सना गर्दछ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘अमेरिकी साम्राज्यवादको सैनिक बुर्जाका रूपमा रहेको इजरायली सरकारले इजरायलको स्थापना कालदेखि नै प्यालेस्टिनी जनतामाथि कत्लेआम गर्दै आएको छ र प्यालेस्टाइनलाई नै दुई टुक्रामा विभाजित गरिदिएको छ । यसप्रकारको मानवताविरोधी साम्राज्यवादी नीतिको अन्त्य हुनुपर्छ । प्यालेस्टिनी जनताले आफ्नो भूमिको भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । सैन्य शक्ति, सम्पत्ति र प्रविधिको बलमा जनतामाथि हिंसा थोपर्नु, राज्य नै विस्थापित गरिदिनु इजरायली सरकारको सत्ता संरक्षित आतङ्कवाद हो । हाम्रो पार्टी यसको घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै हामी कब्जा गरेको प्यालेस्टिनी भूमि फिर्ता गर्न र देशभक्त नेताहरूको रिहाइ गर्न इजरायल सरकारसँग जोडदार माग गर्दछौँ ।’


२०८० असोज २४ ०८:२५ बजे

प्रतिक्रिया