इजरायलमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी स्वदेश ल्याउन नेकपा (मशाल)को माग

नेपाली विद्यार्थीमाथि गरेको आक्रमण र हत्याको विरोध तथा भत्र्सना

bimbonline बिम्ब अनलाइन
२०८० असोज २२ १९:२० बजे

काठमाण्डौ। नेकपा(मशाल)का महासचिव सन्तवहादुर नेपालीले आज एक विज्ञप्ति निकाली  इजरायलको सेदोत नेगेभमा, जहाँ नेपालका विश्वविद्यालयहरूको तर्फबाट पढ्न गएका ४९ जना विद्यार्थी मध्ये सुदूरपश्चिमका १७ जना विद्यार्थीहरू बसेको बङ्करमाथि हमास समूहका विद्रोहीहरूले आक्रमण गर्दा १० जना विद्यार्थीले ज्यान गुमाएको कुरा समाचार प्राप्त भएको छ । ती मध्ये १ जना हराएको र पत्तो नलागेको कुरा पनि समाचारमा आएको छ । त्यो कुरा नेपालस्थित इजरायली राजदुतले पनि पुष्टि गरेका छन् ।  हमासको आक्रमणमा परी मृत्युवरण गर्नु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछ । शोकमा पर्नु भएका परिवारजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्न अनुरोध गर्दछौ  विज्ञप्तिमा भनिएको छ।

अहिलेको सञ्चार सुविधा भएको संसारमा पनि नेपाल सरकारले मृतक तथा घाइतेहरूलाई स्वदेश फिर्ता ल्याउने विषयमा तत्काल कदम नचाल्नु र बैठक मात्रै गर्नुले सरकारको ढिला सुस्ती र लार्वाही देखिएको छ । तत्काल मृत विद्यार्थीहरूको शव तथा घाइतेहरूलाई स्वदेश ल्याउन र हराएका विद्यार्थीको खोजतलास गर्न साथै द्वन्द्वरत क्षेत्रमा फसेका सम्पूर्ण  नेपालीहरूलाई तत्काल उद्धार गरी स्वदेश ल्याउन  नेकपा (मशाल)ले विज्ञप्ति मार्फत माग गरेका छन । 

हमास विद्रोही समूहले आफ्नो गुमेको भूमि प्यालेस्टाइन क्षेत्र गाँजालाई फिर्ता गराउनको निम्ति इजरायलसित लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ । त्यो दुई देशबीचको सङ्घर्षको प्रश्न हो । तर उसले साधारण जनतालाई, खास गरेर नेपाली विद्यार्थीहरूमाथि ग्रिनेटद्वारा आक्रमण गर्ने र बङ्करभित्र प्रवेश गरेर पनि आक्रमण गर्ने जुन काम गर्‍यो, त्यो निन्दनीय रहेको छ ।  नेपाली विद्यार्थीमाथि गरेको आक्रमण र हत्याको विरोध तथा भत्र्सना गर्दछौ भनि विज्ञप्तिमा उल्लेख गरेका छन ।


२०८० असोज २२ १९:२० बजे

प्रतिक्रिया