नेपालमा रहेका सबै भाषा र संस्कृति नेपाल राष्ट्रकै निधि हुन

bimbonline बिम्ब अनलाइन
२०८० असोज ९ १९:५४ बजे

झापा। नेपाल मजदुर किसान पार्टी र देशभक्त समाजवादी मोर्चाको आयोजनामा पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम आइतबार झापाको दमकमा सम्पन्न भयो ।

कार्यक्रममा अध्यक्ष रोहितले नेपालको विकासमा भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवाद मुख्य बाधक रहेको बताउनुभयो । पटक–पटक नेपालमाथि नाकाबन्दी गर्ने, नेपालमा जलविद्युत् विकास गर्न नदिने, नेपाली वस्तु आयात गर्न र नेपालमा पर्यटक आउनबाट रोक्ने कार्य गरेर नेपालको आर्थिक विकासमा तगारो हालिरहेको उहाँले प्रस्ट पार्नुभयो ।

अध्यक्ष रोहितले अहिले अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवादको काँधमा बन्दुक राखेर उत्तरतिर प्रहार गर्न लागिरहेको स्पष्ट पार्दै अमेरिकाको हिन्द–प्रशान्त रणनीतिसम्बन्धी सम्मेलन भारतमा आयोजना हुनु त्यसको तड्कारो प्रमाण हो भन्नुभयो ।उहाँले रूस–युक्रेन युद्ध वास्तवमा ती दुई देशको युद्ध नभई संरा अमेरिकाको रूससितको छद्म युद्ध भएको प्रस्ट पार्नुभयो । युक्रेनका नवनाजीवादी र फासीवादीहरूलाई हतियार र डलर सहायता गरी अमेरिका र पश्चिमा साम्राज्यवादीहरूले रूसमाथि हमला गरिरहेको उहाँले बताउनुभयो ।

सङ्कीर्ण जातिवाद फासीवादमा पतन हुने स्पष्ट पार्दै उहाँले जर्मनीमा हिटलरले पवित्र आर्य रगत र श्रेष्ठ जर्मन जातिको नारा दिई नरसंहार मच्चाएको र इटालीमा मुसोलिनीले रोमको गौरव फर्काउने र क्याथोलिक धर्म फैलाउने नाममा फासीवाद लागु गरेको बताउनुभयो ।उहाँले अहिले भारतमा हिन्दू धर्मको नाममा आरएसएस, भाजपा र नरेन्द्र मोदी नेतृत्वको सरकारले फासीवाद लादिरहेको पनि प्रस्ट पार्नुभयो ।राष्ट्र, राष्ट्रियता, देश र राज्य भिन्ना भिन्नै अर्थ दिने शब्द भएको बताउँदै उहाँले नेपाल राज्य विभिन्न राष्ट्रियतासहितको देश भएको बताउनुभयो ।

अध्यक्ष रोहितले भन्नुभयो, “विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र धर्मको अभिव्यक्ति नै नेपाल हो । नेपालमा रहेका विभिन्न भाषा र संस्कृति नेपाल राष्ट्रकै निधि हुन् । विविध जातजाति र भाषाभाषीको संस्कृति र सम्पदाहरू विश्व सम्पदा हुन् ।”अध्यक्ष रोहितले देशका सबै भाषाहरूको संरक्षण गरी भाषिक, सांस्कृतिक रूपमा बलियो देश निर्माण गर्न जरुरी भएको बताउनुभयो । सोभियत सङ्घले त्यहाँका सबै भाषाभाषीको विकास गरेर देशलाई बलियो बनाएझैँ यो देशलाई पनि त्यसरी नै समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।उहाँले अरू जाति र वर्गको हितको निम्ति योगदान नगर्नेहरूले आफ्नै जाति र वर्गको मुक्तिका लागि योगदान गर्न नसक्ने बताउनुभयो ।

अध्यक्ष रोहितले नेपाली जनतालाई अल्पमतमा पार्ने नियतले ल्याएको नागरिकता ऐन पारित हुनु र लागु हुनु देश र जनताको निम्ति विडम्बना हो भन्नुभयो ।सो अवसरमा देशभक्त समाजवादी मोर्चाका अध्यक्ष एवं पूर्वमन्त्री गोपाल किरातीले पूर्वमा चलिरहेको पहिचानको आन्दोलनप्रति समर्थन जनाउँदै यसलाई ठूला दल र सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता किराँतीले देशमा राजनीतिक परिवर्तन ल्याउनको लागि भएका आन्दोलन र सङ्घर्षहरूमा सबै जातजाति र भाषाभाषीका जनताले बलिदान र योगदान गरेको तर ती जनताले अधिकार प्राप्त भएको अनुभव गर्न सकेका छैनन् भन्नुभयो ।नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैजूले पुस्तकहरूबारे चर्चा गर्दै नेपाल पनि साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्षेपले गिजोलिँदै गएको बताउनुभयो ।



२०८० असोज ९ १९:५४ बजे

प्रतिक्रिया