प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ३० १९:०८ बजे

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले आउँदो बुधवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको अघिल्लो दिन मङ्गलवार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उहाँ सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै, संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका रहेको छ । उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन् ।प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायतका विषयमा दुई पक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारले बताएको छ ।


२०८० भदौ ३० १९:०८ बजे

प्रतिक्रिया