रूस र उत्तर कोरिया अन्तरिक्ष, सैन्य क्षेत्रमा सहकार्य गर्दै ‘साम्राज्यवाद’विरूद्ध एकसाथ खडा हुने

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २९ ०८:३७ बजे

मस्को (स्पुटनिकर एएफपी) । प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गर्नुभएको थियो । दुवै नेताले मुस्कुराउँदै हात मिलाउँदै केही शब्दहरू आदानप्रदान गर्नुभयो । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।

नेता किमले राष्ट्रपति पुटिनलाई उहाँको व्यस्त कार्यतालिका भए पनि भ्रमणको निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यसबाट उत्तर कोरिया र रुसबिचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएको उहाँले उल्लेख गर्नुभयो ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार प्रजग कोरियाली नेता किम जोङ उनसँग रूसको सुदूर पूर्वमा भेटवार्ता गर्दै पारस्परिक हितका विविध विषयमा छलफल भएको हो ।

छलफलको क्रममा दुई नेताबिच रूस र प्रजग कोरिया अन्तरिक्ष, सैन्य क्षेत्रमा सहकार्य गर्दै ‘साम्राज्यवाद’ विरूद्ध एकसाथ खडा हुने सहमति भएको बताइएको छ ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार यसअघि दुई नेताले विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगको बारेमा छलफल गर्नुभएको थियो । यसबाहेक, पुटिन र किमले ‘संवेदनशील’ मुद्दाहरूमा पनि छलफल गर्नुहुनेछ । नेता उनले ‘कुनै पनि सार्वजनिक खुलासा वा घोषणाको विषय बन्नु हुँदैन’ भनेर जोड दिनुभएको छ ।

चार वर्षमा प्रजग कोरियाली नेताको यो पहिलो विदेश भ्रमण र रूसको दोस्रो भ्रमण हो । किमले पछिल्लोपटक सन् २०१९ मा रूसको भ्रमण गर्नुभएको थियो ।पुटिन– किम जङ उनबिचको बैठकमा आणविक युद्धका जोखिमहरू छलफल नभएको बताइएको छ । रूसी राष्ट्रपति पुटिन र प्रजग कोरियाली नेता किमबिच बुधबार भएको भेटमा आणविक युद्धको जोखिमबारे छलफल नभएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभयो ।

“होइन, यो कुनै पनि छलफल भएको थिएन”, पेस्कोभले रूसी टीभी प्रसारकको प्रसारणमा भन्नुभयो ।यसअघि रुसी राष्ट्रपति पुटिन र प्रजग कोरियाका सर्वोच्च नेता किमबिच सन् २०१९ मा भेटवार्ता भएको थियो ।

वार्ताअघि राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई बताउनुभएको थियो । हतियार आपूर्ति वा सैन्य–प्राविधिक सहयोगबारे छलफल हुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासामा उहाँले त्यस्तो जवाफ दिनुभएको थियो । नेता किमले प्रजग कोरियाको अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहनुभएको बताउँदै त्यसनिम्ति भूउपग्रह सहयोग गर्ने उल्लेख गर्नुभयो ।

रुसी रक्षामन्त्री सर्गेई शोइगु गत जुलाईमा प्योङयाङको भ्रमणमा हुनुहुन्थ्यो । त्यसबेला र हालै द्विपक्षीय संयुक्त नौसैनिक अभ्यासको प्रस्ताव गरिएको थियो । दुई नेताबिचको वार्तामा यी विषयका साथै खाद्यान्न सहायतालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको थियो । नेता किमका साथ कोरियाली जनसेनाका मार्शल पाक जोङ चोन र युद्धक पदार्थ उद्योग विभागका निर्देशक जो चुन लगायत उच्च सैन्य अधिकारीहरू रहेकाले आपसी सैन्य सहयोग आदानप्रदानमा वार्ता केन्द्रित हुने प्रायः निश्चित रहेको विश्लेषकहरू बताउँछन् ।

रुसी राष्ट्रपतिलाई भेटेर नेता किम स्वदेश प्रस्थान

आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर प्रजग कोरियाली सर्वोच्च नेता किम जोङ उन स्वदेश प्रस्थान गर्नुभएको छ ।भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा राष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्कनुभएको रुसी समाचार संस्था आरआईए नोवोस्तीले जनाएको छ । उहाँ राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा हुनुहुन्थ्यो ।

वार्ताको क्रममा प्रजग कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने विश्वास दिनुभएको रुसी समाचार समितिहरूले जनाएका छन् । उहाँले रुसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गर्नुभयो ।राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र मैत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र प्रजग कोरियाको समृद्धिको कामना गर्नुभएको थियो ।



२०८० भदौ २९ ०८:३७ बजे

प्रतिक्रिया