जनप्रतिनिधिलाई भारत छिर्न रोकेको प्रकरणमा भारतीय पक्षले माग्यो माफी

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २९ ०८:२२ बजे

दार्चुला । व्यास गाउँपालिका–१, तिङ्करस्थित चीनसँगको सीमा क्षेत्र छायालेकमा स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटनको कार्यक्रममा गत साता सहभागी हुन गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फर्काइदिएकोमा माफी मागिएको छ ।

सशस्त्र प्रहरी बलले गत शुक्रबार दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ११२ किलोमिटर उत्तरतर्फ तिङ्करमा स्थापना गरिएको नयाँ बिओपी उद्घाटनका लागि स्थानीय जनप्रतिनिधिलाई आमन्त्रण गरेको थियो । त्यहाँ जान लागेका महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी र विद्यार्थी नेता दीपक खातीलाई एसएसबीले तिङ्करबाट फर्काइएको थियो । सुरक्षाकर्मीहरूलाई भने जान दिइएको थियो ।भारतीय भूमि हुँदै जानका लागि भारतीय एसडिएम कार्यालयकै अनुमति रहेको भए पनि जनप्रतिनिधिलाई एसएसबीले फर्काएपछि आफूहरूलाई रोक्नुको कारणबारे जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत भारतीय प्रशासनसँग माग गरिएको थियो ।

जनप्रतिनिधिलाई रोक्नुले नेपाली जनप्रतिनिधिको अपमान भएको भन्दै उहाँहरूले आफूहरू रोकिनुको स्पष्ट कारण नआएसम्म धापको काकडामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणमा रोक लगाइएको थियो । जनप्रतिनिधिमाथि भारतीय सशस्त्र सीमा बल एसएसबीबाट भएको दुव्यवहार वारे स्पष्ट जवाफ नआएसम्म पुल निर्माणमा अवरोध गर्ने चेतावनीपछि भारतीय पक्षले वार्ता गरी माफी मागेको हो ।

स्थानीय जनप्रतिनिधिले बुधबार पुल निर्माणको काम रोकेपछि भारत उत्तराखण्ड अन्तर्गत धार्चुला उपजिल्ला अधिकारी (एसडिएम) दिपेश सासनीले जिल्ला प्रशासन कार्यालय दार्चुला पुगेर सरोकारवालासँग वार्ता गर्नुभएको हो ।पुल निर्माण कार्य रोकिएको दुई घण्टापछि भारतीय पक्ष वार्ता गर्न दार्चुला आएको थियो । सुरुमा भारतीय पक्षले धार्चुलामा बैठक बस्नुपर्ने प्रस्ताव गरे पनि नेपालका जनप्रतिनिधिले अस्वीकार गरेपछि नेपालमा नै बैठक गरिएको थियो ।

बैठकमा भारतीय एसडिएम सासनीले त्यो दिन सञ्चारमा समस्या भएकै कारण एसएसबीबाट गल्ती हुन पुगेको स्वीकार गर्दै अब त्यस्तो गल्ती नदोहारिने प्रतिबद्धता जनाएको भारतीय अधिकारीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।सो बैठकमा सहभागी जनप्रतिनिधिका अनुसार पनि भारतीय पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता कमजोरी हुन नदिने प्रतिबद्धता जनाएको थियो ।

भारतको बाटो भएर दार्चुलाको माथिल्लो भूभागमा जाने जनप्रतिनिधि तथा सर्वसाधारण नेपाली नागरिकमाथि भारतीय पक्षबाट अभद्र व्यवहार हुन नदिनका लागि भारतीय पक्षले गल्ती स्वीकार्दै अब नदोहोर्याउने प्रतिबद्धता जनाएको हो । –गोरखापत्र दैनिकबाट


२०८० भदौ २९ ०८:२२ बजे

प्रतिक्रिया