राजनीतिमा ‘सुवास’ छरेर अस्ताउनुभयो नेम्वाङ

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २६ ०९:२६ बजे

इलाम । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमानदार छवि बनाउनुभएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ हुनुहुन्थ्यो ।  इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिनुभएको थियो  ।विसं २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो । 

विसं २०५६ को संसदीय निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बन्नुभएको थियो ।  उहाँ जनआन्दोलन विसं २०६२र६३ सँगै पुनःस्थापित संसद्का सभामुख हुनुभएको थियो । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ चारपटक सभामुख हुँदा उहाँ सधैँ सर्वसम्मत नै बन्नुभयो ।

नेम्वाङको निधनले इलाम शोकमग्न 

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोर्नुपरेको धेरैको भनाइ छ ।

इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताउनुभयो । नेम्वाङले देश र नागरिकका लागि पुर्याउनुभएको योगदान अतुलनीय हुने बताउँदै उहाँले  देशले नै शोक मनाइरहेको बताउनुभएको छ ।

गएको आमचुनावमा  नेम्वाङसँग थोरै मतान्तरले पराजित हुनुभएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उहाँलाई इलामले सधैँ सम्झिरहने बताउनुभयो । पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छु, उहाँले भन्नुभयो, इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।

उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्योु, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भन्नुभयो, उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भन्नुभयो,म धेरै राजनीति त जान्दिनँ तर उहाँको व्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उहाँले चाल्नुभएको कदम बिर्सन नसकिने बताउनुभएको छ । कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो उहाँले भन्नुभयो, उहाँको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भन्नुभयो, उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ । रासस


२०८० भदौ २६ ०९:२६ बजे

प्रतिक्रिया