प्रचण्ड, ओली र देउवा भ्रष्टाचारी - प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन

बुर्जुवा गणतन्त्रको विकल्पमा जनगणतन्त्र बैज्ञानिक भएको उल्लेख गर्दै जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था हो

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २५ ०७:४७ बजे

रुपन्देही – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले प्रचण्ड, ओली र देउवा भ्रष्टाचारी भएको बताउनुभएको छ ।प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबोडी, प्रिन्टिङ मेशीन, ललिता निवास, गिरीबन्धु, एमसीसी, विभिन्न सन्धि, सम्झौता, विदेशीले दिएको अनुदान र आर्थिक सहयोगमा भ्रष्टाचार गरेको उहाँको दावी छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड, ओली र देउवाले भ्रष्टाचारलाई संस्थागत गरेको बताउनुभयो । उहाँले प्रचण्ड, ओली र देउवालाई सत्ताका लागि कुर्ची बचाउन राजनीति गरेको दावी गर्दै नेपालमा कानुनी रुपमा भ्रष्टाचार संस्थागत भएको बताउनु्भयो ।

देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताउंदै ललिता निवास, सुन काण्ड सहितका सबै भ्रष्टाचारका काण्डहरु झिसमिस गराइएको उहाँको भनाई छ ।उहाँले संसदीय व्यवस्था रहंदासम्म देशले निकास नपाउने बताउंदै संसदीय व्यवस्थालाई दलाल व्यवस्था भन्दै संसदीय व्यवस्था असफल भएको तर्क गर्नुभयो । 

देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउं हुनुपर्ने बताउंदै क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भैरहेको बताउनुभयो ।उहाँले संसदबादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाउंदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताउनुभयो ।बुर्जुवा गणतन्त्रको विकल्पमा जनगणतन्त्र बैज्ञानिक भएको उल्लेख गर्दै जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था भएको नेता बास्तोलाको जिकिर छ ।



२०८० भदौ २५ ०७:४७ बजे

प्रतिक्रिया