म दुईवटा कोठा भएको एउटा सानो कटेरामा बस्छु -राष्ट्रपति हो चि मिन्ह

विश्वविख्यात क्रान्तिकारी नेता हो चि मिन्हको देश भियतनाम त्यस्तो देश हो, जसले ३० वर्षभन्दा बढी अनवरतरूपले साम्राज्यवादीहरूविरुद्ध सफल प्रतिरोध सङ्घर्ष गरेको थियो, जहाँका वीर जनताले फ्रान्सिसी, जापानी र अमेरिकी साम्राज्यवादलाई परास्त गरेका थिए

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २० ०९:२६ बजे
भियतनामका राष्ट्रपति हो चि मिन्ह

 भियतनामी जनताको प्रतिरोधबाट फ्रान्सेली साम्राज्यवादीहरू पराजित भएपछि अमेरिकी साम्राज्यवादले भियतनाममाथि सन् १९५४ देखि सन् १९७५ सम्म भीषण आक्रमण गर्यो । सन् १९६४ मा प्रसिद्ध अमेरिकाली पत्रकार अन्ना लुइस स्ट्रङ दोस्रो पटक भियतनाम जानुभयो । प्रसिद्ध पत्रकारले हो चि मिन्हलाई त्यस दरबारमा भेट गर्नुभयो, जहाँ राष्ट्रपति हो चि मिन्हलाई सन् १९६१ मा भेट गर्नुभएको थियो । त्यसबेला हो चि मिन्हले के भन्नुभएको थियो भने त्यो दरबार अखिल हिन्द चीनका फ्रान्सेली गभर्नर जनरलको लागि, त्यसपछि जापानी जनरल स्टाफदेखि च्याङ काइ सेकका जनरल स्टाफका लागि र फ्रान्सेली कठपुतली सरकारको लागि बनेको थियो । उहाँले अगाडि भन्नुभयो, “म यहाँ बस्दिनँ । म त नजिकै दुईवटा कोठा भएको एउटा सानो कटेरामा बस्छु ।” प्रसिद्ध पत्रकारले छक्क परेर सोध्नुभयो, “त्यसो भए यो दरबार केको लागि त ?”

“राष्ट्रपतिले मुसुक्क मुस्कुराउँदै भन्नुभयो, “हामी यसलाई राष्ट्रपतिले जनतासँग भेट्ने काममा उपयोग गर्दछौँ ।”

भियतनाममा केटाकेटी बिरामी भएर औषधि खान मानेनन् भने केटाकेटीका आमाहरू यसो भन्थे, “नानी औषधि खाएनन् भने अङ्कल होले माया गर्नुहुन्न ।” यसो भनेपछि केटाकेटी औषधि खान्थे । अङ्कल होलाई सम्पूर्ण केटाकेटीले मन पराउँदथे । अङ्कल हो अति प्रिय पात्र हुनुहुन्थ्यो ।२ सेप्टेम्बर १९६९ मा ७९ वर्षको उमेर हुँदा हो चि मिन्हको देहावसान भयो । सम्पूर्ण भियतनामवासीहरू टुहुरा भए । भियतनामभर रुवावासी चल्यो । विश्वभरका जनता शोकाकुल भए । संसारभर नै शोकसभाहरूको आयोजना भयो । शोकलाई शक्तिमा परिणत गर्ने प्रण गर्दै भियतनामीहरू अङ्कल होको सपना साकार पार्न अगाडि बढ्न थाले ।

राष्ट्रपति हो चि मिन्हको देहावसानपछि भियतनामी कम्युनिस्ट पार्टी र सरकारमा आएको नेतृत्वको सोभियत सङ्घको पिछलग्गू बन्ने नीति र कम्पुचियामाथि एक दशकसम्म सैनिक हस्तक्षेप गरिराख्ने कारबाही विश्वभरि आलोचित भइरह्यो । सन् १९९० को दशकको सुरुमा सोभियत सङ्घ ढल्यो र विश्व राजनीतिक रङ्गमञ्चको शक्ति सन्तुलनमा धेरै ठूलो परिवर्तन भयो । यो परिवर्तन सँगसँगै भियतनाममा पनि कतियप नीति र कार्यक्रमहरू परिवर्तित भए । अमेरिकासँग पनि दौत्य सम्बन्ध स्थापित भयो । खुला बजार अर्थतन्त्र भियतनाममा पनि क्रमशः लागु हुन थाल्यो । भियतनाम एउटा कम्युनिस्ट देश हो । आज पनि भियतनाममा कम्युनिस्ट पार्टीले राज्य सञ्चालन गरिरहेको छ । भियतनामले माक्र्सवाद, लेनिनवादमा आस्था राख्दछ ।

अमेरिकाली साम्राज्यवादीले भियतनामी जनताको क्रान्तिकारी युद्धलाई दबाउन अणुबमबाहेक अरू सबै प्रकारका घातक बम तथा हतियारहरूको उपयोग गरे । अमेरिकीहरूले भियतनामका अस्पताल, स्कूल, कारखाना, धान खेतहरूमा जथाभावी बम वर्षा गरेर हजारौँ हजार भियतनामीहरूलाई स्वाहा पारे । अमेरिकी साम्राज्यवादीले यो सबै काम कम्युनिस्टहरूलाई बढ्न नदिन पुँजीवादी साम्राज्यवादीको नाइकेको रूपमा गर्दै थियो । कम्युनिस्टहरूलाई खत्तम गरेर विश्वमा सधैँको लागि पुँजीवादी अधिनायकत्व कायम गर्ने अमेरिकाको उद्देश्य थियो । अमेरिकामा पनि भियतनाममा अमेरिकाको युद्ध नीतिको विरुद्ध पटकपटक दसौँ लाख अमेरिकीहरूले विरोध जुलुस प्रदर्शन गरे । विश्वभरिका शोषित पीडित, शान्तिप्रिय जनताले विरोध गरे ।

सन् १९७३ मा फ्रान्सको पेरिसमा सम्झौता सम्पन्न भयो । यसरी सम्झौता हुनुको मतलब भियतनामी जनताको विजय थियो । भियतनामी युद्धले गर्दा अमेरिकी अर्थतन्त्र डावाडोल भएकोले अमेरिकी जनताले नै अमेरिकी साम्राज्यवादको विरोध झन्झन् चर्को रूपमा गर्न थाले । सन् १९७५ अप्रिल ३० मा भियतनामी मुक्ति सेनाले दक्षिण भियतनामको राजधानी सैगनमाथि विजय प्राप्त गरी दक्षिण भियतनाम गणतन्त्र घोषणा गरे । राष्ट्रपति भवनमा क्रान्तिकारी सरकारको रातो र निलो भुइँमा सुनौलो तारा रहेको झन्डा फरफराइयो । राष्ट्रपति हो चि मिन्हको सपना अनुसार गौरवपूर्ण क्रान्तिकारी झन्डा फरफराएर दक्षिण भियतनाम गणतन्त्रको अस्थायी क्रान्तिकारी सरकार र राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा वर्षौँ वर्षसम्म दीर्घकालीन युद्ध चलाएर दक्षिण भियतनामी जनताले विजय प्राप्त गरी छोडे । यो शानदार विजय भियतनामको र विश्वको इतिहासमा एउटा अति महत्वपूर्ण अध्यायको रूपमा रहनेछ । दक्षिण भियतनामको राजधानी सैगनलाई घेर्ने र सैगनमाथि विजय प्राप्त गर्ने जुन लडाइँ भयो त्यसलाई ‘हो चि मिन्ह’ लडाइँ पनि भनिन्छ । दक्षिण भियतनाम पूर्णरूपले मुक्त भएपछि नेपालले दक्षिण भियतनामको अन्तरिम क्रान्तिकारी सरकारलाई मान्यता प्रदान गर्यो । १९७५ मे १५ को दिन नेपाल र गणतन्त्र भियतनामका बिच राजदूत स्तरमा दौत्य सम्बन्ध स्थापना भयो ।

अमेरिकी साम्राज्यवादीहरू हार खाएर भियतनामबाट टाप कसे । भियतनामी मुक्ति सेनाले सैगन कब्जा गरी गणतन्त्रको घोषणा गर्दा सडकभरि केटाकेटी, युवा, बुढाबुढीहरू नाच्न थाले ।

साम्राज्यवादी, उपनिवेशवादीको पञ्जामा रहेको भियतनाम राष्ट्रपति हो चि मिन्हले देखाउनुभएको र डोर्याउनुभएको फराकिलो बाटोबाट अगाडि बढेर मुक्त भयो । एक समारोहमा हो चि मिन्हले प्रसन्न मुद्रामा, जोशिलो पाराले भन्नुभएको थियो, “हामी दस हजार वर्षसम्म जुझेर आएका छौँ, आवश्यक परे अझ हजार वर्षसम्म जुझ्नेछौँ ।” यसप्रकार हो चि मिन्हले भियतनामी जनताको मनोबललाई अझ मजबुत पार्नुभएको थियो ।

भियतनामी जनताले भाँटा, लट्ठी, भाला, छड र साधारण बन्दुक बोकेर साम्राज्यवादीहरूसँग लड्न सुरु गरेका थिए । अमेरिकाजस्तो विश्वको शक्ति राष्ट्रलाई हराई “वास्तविक शक्ति हतियार होइन, जनता हो” र “वास्तविक विजय हतियारको होइन जनताको हुन्छ” भन्ने भनाइलाई एकपटक फेरि प्रमाणित गरिदिएको छ ।

सन् १९७५ मे, २ का दिन चीनको राजधानी पेइचिङमा दक्षिण भियतनामको पूर्ण विजय भएको उपलक्ष्यमा एक विशाल जुलुस प्रदर्शन भएको थियो । उक्त जुलुस प्रदर्शनमा २५ हजारभन्दा बढी मानिसहरू भेला भएका थिए । दक्षिण भियतनाम गणतन्त्रका राजदूत ट्रान विन्हले आफ्नो सम्बोधनमा भन्नुभयो, “श्रद्धेय राष्ट्रपति हो चि मिन्हको ‘स्वतन्त्रता र मुक्तिभन्दा मूल्यवान अरू केही छैन’ भन्ने शिक्षा ग्रहण गरेर भियतनामी जनताले वीरताका साथ न्यायोचित मुक्ति युद्ध चलाएर महान् विजय प्राप्त गरेको छ ।” फेरि राजदूतले भन्नुभयो, “यो महान् विजय भियतनामी जनताको मात्र विजय होइन बरु हिन्द चीनको जनताको सक्रिय एकताको, चिनियाँ जनताले बढाएको समर्थन र सहयोगको अरू समाजवादी तथा असंलग्न मुलुकहरू र प्रगतिशील अमेरिकी जनतालगायत पाँचाँ महादेशका मित्रहरूको विजय हो ।” सम्बोधनमा उहाँले भन्नुभयो, “भियतनाम र चीन दुई छिमेकी मित्र राष्ट्रहरू हुन् । राष्ट्रपति हो चि मिन्ह र अध्यक्ष माओ त्सेतुङले तयार गर्नुभएको भियतनामी र चिनियाँ जनताबिचको जुन घनिष्ट सक्रिय एकता हो, त्यसमा अहिले सुगन्धित फूलहरू फक्रिरहेका र फलहरू फलिरहेका छन् ।” फेरि उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादीहरूको आक्रमणको विरुद्ध सङ्घर्षमा दक्षिणी भियतनामका जनताले सधैँ चीनको जनता, पार्टी, सरकारले प्रदान गरेको महान् अमूल्य र सक्रिय समर्थन, सहयोग र सद्भावना प्राप्त गरेको छ ।” चिनियाँ जनताका महान् नेता, भियतनामी जनताको श्रद्धेय मित्र अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो, “७० करोड चिनियाँ जनता भियतनामी जनतालाई सधँ बलियो आड तथा भरोसा दिन्छन्, विशालरूपमा फैलिरहेका चीनको भूमि उनीहरूको विश्वासयोग्य, आड र भरोसाको क्षेत्र हो” लाई दक्षिण भियतनामी जनतामा क्रान्तिकारी सङ्घर्षमा आफ्ना सक्रिय सहयोग प्रदान गरेका छन् ।”

“जब जब हामीमाथि गार्हो, अप्ठ्यारो समस्या आइपरे चिनियाँ जनता हाम्रा साथी भए र हाम्रा प्रत्येक जितहरूमा चिनियाँ जनताका ठूलो देन थियो । दुःख सुखमा साथ दिने सक्रिय मित्रताको, सर्वहारा अन्तर्राष्ट्रिय भावनाको यो एउटा महत्वपूर्ण स्वच्छ रूप हो ।”

झन्डै २१ वर्षसम्म अमेरिकीहरूसँग घमासान लडाइँ गरेपछि भियतनामले मिठो श्वास फेर्न सक्यो । साम्राज्यवादी पञ्जाबाट मुक्त भएपछि भियतनाम उत्तर र दक्षिण भियतनामलाई एकीकरण गर्नेतर्फ लागियो । दुइटा भियतनामलाई एउटा सिङ्गो भियतनाम बनाउन लागियो । उत्तर भियतनामको प्रथम राष्ट्रपति हो चि मिन्हको नामबाट दक्षिण भियतनामको राजधानी सैगन सहरको नाम दक्षिणी भियतनामीहरूले सहर्ष हो चि मिन्ह सहर राखे ।

विश्वविख्यात क्रान्तिकारी नेता हो चि मिन्हको देश भियतनाम त्यस्तो देश हो, जसले ३० वर्षभन्दा बढी अनवरतरूपले साम्राज्यवादीहरूविरुद्ध सफल प्रतिरोध सङ्घर्ष गरेको थियो, जहाँका वीर जनताले फ्रान्सिसी, जापानी र अमेरिकी साम्राज्यवादलाई परास्त गरेका थिए । धन्य अङ्कल हो, धन्य भियतनामी जनता, धन्य भियतनाम ।


२०८० भदौ २० ०९:२६ बजे

प्रतिक्रिया