भारत विरुद्ध पाकिस्तान ‘हेड टू हेड’ मा को बलियो ?

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १६ १५:१० बजे

काठमाडौं । एसिया कप–२०२३ मा आज दुई चर्चित चिर–प्रतिद्वन्दी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । राजनीतिक खिचातानीका कारण यी दुई देशबीचको खेल दुवै देशका समर्थकका लागि सँधै विशेष रहेन गर्छ । दुई देशबीचको राजनीतिक असन्तुष्टिको प्रभाव क्रिकेटमा पनि रहँदा भारत र पाकिस्तानले दुईदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नखेलेको एक दशक नाघिसकेको छ ।

भारत र पाकिस्तानले पछिल्लो पटक सन् २०१९ को विश्वकपमा अन्तिम एकदिवशीय क्रिकेट खेलेको थिए । उक्त खेलमा पाकिस्तान ८९ रनले पराजित भएको थियो । त्यसयता यी दुई टिमबीच ट्वान्टी–२० विश्वकप र एसिया कपमा प्रतिस्पर्धा भए पनि दुवै टी–२० संरचनाको क्रिकेट थियो । 

एसिया कपमा पाकिस्तानभन्दा भारतको प्रभाव धेरै छ । एसिया कपमा यी दुई टिमबीच भएको १२ एकदिवसीय खेलमध्ये भारतले सात खेल जितेको छ । बाँकी पाँच खेलको नतिजा पाकिस्तानले आफ्नो पक्षमा पारेको छ । समग्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिमबीच हालसम्म १३२ खेल भएका छन् । जसमध्ये पाकिस्तानले ७३ खेल आफ्नो पक्षमा पारेको छ । ५५ खेलको नतिजा भारतले आफ्नो पक्षमा राख्दा चार खेल भने नतिजाविहीन टुंगिएको थियो ।

एकदिवसीय संरचनामा भएको एसिया कपमा भारतका कप्तान रोहित शर्माले पाकिस्तानविरुद्ध सबैभन्दा धेरै रन बनाएका छन् । रोहितले पाकिस्तानविरुद्धको सात खेलमा ३६७ रन बनाएका छन् । यो सूचीको दोस्रो स्थानमा तीन खेलमा २०६ रनसहित विराट कोहली र तेस्रो स्थानमा चार खेलमा १७९ रनसहित वीरेन्द्र सेहवाग छन् ।पाकिस्तानबाट एकदिवसीय संरचनामा भएको एसिया कपमा भारतविरुद्ध सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा सोएब मलिक छन् । मलिकले पाँच खेलमा ४२८ रन बनाएका छन् । यसको दोस्रो स्थानमा युनिस खान छन् । उनले चार खेलमा २३८ रन बनाएका छन् । तेस्रो स्थानमा रहेका मोहम्मद हाफिजले दुई खेलमा १८० रन बनाएका छन् ।



 



२०८० भदौ १६ १५:१० बजे

प्रतिक्रिया