हुम्लाको कम्युनिस्ट आन्दोलनका बीजक : का. रोहित

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १३ ०८:२४ बजे

 भक्तपुर। नेपालको राजनीति वा नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा ‘रोहित’ नामले ठूलो स्थान ओगटेको छ । कामरेड रोहितको नाम देशको माटो–माटोले सम्मान र श्रद्धाको साथ उच्चारण गर्छ । गम्भीर चिन्तक, राजनीतिज्ञ र संवेदनशील व्यक्तिले वामपन्थी आन्दोलनलाई रोहितकै आँखाले हेर्ने गर्छन् । युगको माग र भविष्यद्रष्टाको रूपमा रोहितलाई चिन्नेमात्र होइन कि उहाँको ठीक समयमा स्पष्ट अडान लिन सक्ने, स्पष्टवादीता र सदैव देश र जनताको मात्र भलो हेर्ने गुणले जोकोही व्यक्ति उहाँको अगाडि नतमस्तक हुन्छन् । अझ पञ्चायतकालको कालरात्रिमा आफ्नो राजनीति सुरू गरेका हरेक व्यक्तिले कामरेड रोहितलाई आफ्नो नेताको रूपमा सम्झन्छन् । त्यो समयका हरेक व्यक्तिले रोहितको नाम सुनेको हुन्छ, उहाँको राजनैतिक पदचापमा कुनै न कुनै समय हिँडेकै हुन्छ ।

‘चिनगीज आइतमोतोभ’ को प्रसिद्ध पुस्तकको नेपाली अनुवाद ‘प्रथम गुरु’ उपन्यासमा ड्युसेनले लेनिनलाई कहिल्यै पनि देखेभेटेका हुँदैनन् । अक्टोबर क्रान्तिपछि देशभर शिक्षाको जग बसाल्ने लेनिनको आह्वानलाई गम्भीरताका साथ पूरा गर्ने तिनै ड्युसेनहरू हुन् । तर, तिनै ड्युसेनहरूले लेनिनलाई न त कहिल्यै भेटेका थिए न त देखेका थिए । बरु लेनिनलाई आदर्श मानेर समाज बदल्न लागिपरेका थिए । उनीहरूले लेनिनका आदर्शलाई आफ्नो हतियार बनाएका थिए । त्यस्तै प्रकारले कामरेड रोहितलाई कहिल्यै नभेटेका, नदेखेका तर उहाँको राजनैतिक पदचाप पछ्याएका कर्णालीको अति विकट क्षेत्रको दुर्गम हुम्ला जिल्लामा बस्ने ड्युसेनका नेपाली संस्करण हुन् प्रेमबहादुर सर ।

प्रेमबहादुर फडेरा अहिले ६० वर्ष पुग्न केही महिना पर्खिरहेका छन् । शिक्षण पेसाबाट अवकाश लिन आँटेका उनी हुम्लामा कम्युनिस्ट आन्दोलनका सुरूका व्यक्तिमा गनिन्छन् । उनका अनुसार हुम्लामा रोहितको विचार पछ्याएर राजनीतिमा होमिने आठ जनामध्ये उनी एक हुन् । तर, सूचनाको सम्प्रेषण, गोपनीयताको कारण उनलाई त्यस्तो लागेको पनि होला । पञ्चायती कालरात्रिमा समग्र कर्णालीमा आन्दोलनको राँको बलेको थियो । त्यो राँकोले जुम्ला, कालीकोट, मुगुदेखि हुम्लासम्मका पञ्चेहरूको सातोलाई डढाइदिएको थियो । यही समयमा प्रेमसरहरूले उक्त आगोलाई हुम्लाको जनजनमा पुर्याएका थिए ।

पञ्चायती व्यवस्थाको चकचकी बढिरहेको ३० को दशकमा पहिलोपटक कामरेड रोहितका साथीहरूले प्रेम सरहरूलाई जुम्लाको खलङ्गामा भेटेका थिए । भेटमा प्रतिबन्धित थुप्रै विषयमा छलफल भए । पञ्चायती व्यवस्थाको समूल नष्ट नभएसम्म र समाजवादी व्यवस्थाको स्थापना नभएसम्म युवाहरूले सङ्घर्ष गर्नुपर्ने निर्णय गरे । ‘सङ्घर्ष, त्याग र बलिदान’ चंखेलीको मान्छे डुबाउने हिउँ नाघेर जुम्ला पुगेका प्रेम सरहरूलाई नयाँ विषय थिएन । हुम्ला अहिले पनि राजधानीसँग जोडिसकेको छैन । हुम्लाको रिमी र ताजाकोटको घरघरबाट छोराछोरीलाई भारत, खाडी र विदेश पठाउने आमाको आँसु अहिले पनि कर्णाली भएर बग्छ । पञ्च र तिनका मतियारका छोराछोरीले मात्र राज्यको सेवा सुविधा भोग गर्ने त्यो युग अहिले पनि सम्पन्न र हुने खाने पहुँचवाला नेता अझ गणतन्त्रवादी नेताको छत्रछायामा बाँचेकै छ । आज पनि आफ्ना ती सङ्घर्षका सुरूका सिद्धान्त जसले प्रेम सरहरूलाई राजनीतिमा होम्यो, तिनलाई उनी जस्ताको तस्तै सम्झन्छन् । सामन्तवादी व्यवस्थाको अन्त्य गरी नयाँ व्यवस्था स्थापना गर्न रोहित पछ्याएका प्रेम सरहरूले आफूले चाहेझैँ नभएकोमा चित्त दुखाउँछन् । तर, राजनीतिमा सम्पर्क महत्वपूर्ण हुँदो रहेछ ।

रोहितको राजनैतिक कक्षाबाट उनले राजनीति सुरू गरे पनि २०४० पछि उनको सम्पर्क टुट्यो । उनले आफ्नो जागिरे जीवन सुरू गरे । हिँडेर छिचोल्न गार्हो पर्ने दुर्गम भेगमा रोहितको पत्र र खबर उनीसम्म आउन छाडे । उनको गाउँमा बिस्तारै रातो झन्डा खसाल्न रातै झन्डा बोकेका मसालहरू देखा परे । उनीहरू पहिले पातला थिए र विस्तारै मोटाउँदै गए । काँचो उमेर र सिद्धान्तमा अपरिपक्व भएको कारण उनी पनि त्यतै लागे । पछि मसाल जनमोर्चा बन्यो, फेरि माओवादी बन्यो । युद्धमा उनले आफ्नो ज्यानको माया मारेरै सहयोग गरे । क्रान्तिकारी युद्धको सञ्चालन कहाँबाट कसरी भइरहेको छ, त्यो उनलाई थाहा हुने कुरै थिएन । युद्ध सकियो गणतन्त्र आयो तर उनले सोचेझैँ अझै भएको थिएन । उनका सिद्धान्त र विचारको त्यो झिल्को सफल भएन । गणतन्त्रपछिको यो दुई दशक अलमलमै बित्यो वा नेतृत्वको यस्तै मन थियो, उनले बुझ्न सकेनन् । अहिले उमेरको यो छेउमा आएर रोहितसँग भेटेर गुनासो गर्ने मन भएको उनी बताउँछन् । सम्पर्क टुटेकोमा उनी मन अमिलो बनाउँछन् ।

अहिले उनका दुई छोरा विदेशमा छन् । आर्थिक बोझले इमानदार र काम गरी खाने उनीजस्ता नागरिक विदेश भासिएका छन् । विदेश भासिएका छोराछोरी स्वदेश फर्कनुपर्ने उनको विचार छ । उनको वरपर अहिले माओवादीको बाक्लो जनमत छ तर पनि विदेसिने युवाको लाम घटेको छैन । भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूले माओवादी पार्टीको नेतृत्व हत्याएकोमा उनी असन्तुष्ट छन् र गुनासो गर्छन् । लेनदेन र शुभ–लाभमा नयाँ पुस्ता जोडिएकोमा उनको मन तीतो हुन्छ । रोहितको पार्टीबारे उनी अहिले पनि श्रद्धा राख्छन् । तर, भेटघाट र सम्पर्कको वातावरण नभएकोमा दुखेसो पोख्छन् ।


२०८० भदौ १३ ०८:२४ बजे

प्रतिक्रिया