अहिले पार्टी भित्रको समस्या विचार भन्दा विधिको हो - उपमहासचिव पुनः

bimbonline बिम्ब अनलाइन
२०८० साउन २० २०:४२ बजे

काठमाण्डौ।नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताएका छन्।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि धारणा राख्दै उनले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताए।

‘भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ। यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो। यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ।’पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको भन्दै उनले पार्टीलाई रूपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए। उनले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राखे। वर्ग संघर्ष र राजनीतिक संघर्षका रूप फेरिएको उल्लेख गर्दै उपमहासचिव पुनले अहिलेको मूल मोर्चा सरकार भएको स्पष्ट पारे।

‘अहिलेको समस्या विचारभन्दा विधिको हो। विधान सम्मेलनबाट यसलाई हल गरौँ। उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ,’ उनले भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु।’ बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको भन्दै उनले अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराए।



२०८० साउन २० २०:४२ बजे

प्रतिक्रिया