कुवेत। परदेशी भूमिमा डेढ दशक बिताउँदा स्वरूप पूरै फेरियो । तर पनि मैले मुक्ति पाउन सकेको छैन । खाडीले स्वरूप बदलेको बदल्यै छ ।देश छाडेर परदेशी भूमिमा आई मैले बनाएको बाटो, मैले बनाएको गगनचुम्बी भवनमा अब मेरो सेल्फी नसुहाउने भइसक्यो झैँ लाग्न थालेको छ । त्यो कालो झोलामा सपना बोकेर हिँडेको । त्यही झोलाको सिरानी हालेर सुतेको । झोला बोकेर हिँड्दा मेरो मात्र सपना थिए ।
दिन बित्दै जाँदा मेरा सपना साझा भए । देश छाड्दा देखेका सपना १५ वर्ष बित्दा पनि पूरा हुने छाँटकाँट छैन । यहाँ दिनरात, भोक निद्रा नभनी कमाएको पैसा बालबच्चाको भविष्यका लागि भनेर उनीहरूको शिक्षामा लगानी गरेको छु ।अहिले त मेरो अर्को सपना पनि थपिएको छ । उनीहरूलाई मैले भोगेका भोगाइहरू भोग्न नपरोस् भन्ने छ । त्यसका लागि राम्रो उच्च शिक्षा दिने मेरो लक्ष्य छ । यसरी गरेको लगानीको पनि प्रतिफल पाइएला भन्ने छैन । आस गर्न मन पनि लाग्दैन ।
मसँग डेढ दशक परदेशी भूमिमा पसिना बगाउँदा अहिले त्यही सपना बोकेको खाली झोला र कपाल झरेर तक्ले भएको तालु र सेतै फुलेको दारी मात्र छ । आफ्नै अनुहार ऐनामा हेर्छु दारी फुलिसकेको छ । अनुहार त चाउरिएछ । हात गोडा दुख्ने बिमार र निराश मन साथमा छ ।अब त बस्छु भन्दा पनि बिस्तारै पठाउने छ यो अरबले मलाई आफ्नै देश । त्यस दिन महिनै पिच्छे हात पर्ने एउटा जागिर पनि जानेछ ।त्यसपछि के हुन्छ अहिले सोच्दा पनि मन आत्तिन्छ ।
प्रतिक्रिया