कोरियाली जनता युद्ध चाहँदैनन् तर अमेरिकाको धम्कीसामु झुक्दैनन्

bimbonline बिम्ब अनलाइन
२०८० साउन १६ १४:२२ बजे

भक्तपुर। कोरियाको ७० औँ विजय दिवसको अवसरमा कोरिया पुनःएकीकरण सहयोग समितिले सोमबार एक प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले दुई कोरियाबिच सन् १९५३ जुलाई २७ मा युद्धविराम मात्र भएको तर शान्ति सन्धि नभएकोले कोरिया प्रायद्वीपमा कुनै पनि बेला युद्ध भड्किन सक्ने धारणा राख्नुभयो ।

उहाँले कोरिया प्रायद्वीपमा शान्तिको निम्ति संरा अमेरिकाले दक्षिण कोरियाबाट अमेरिकी सेना तथा हतियार फिर्ता गर्नुपर्ने भन्दै युद्धको खतरा रहेकैले प्रजग कोरियाले हतियारमा धेरै रकम खर्च गर्नुपरेको भनाइ राख्नुभयो ।अध्यक्ष रोहितले प्रजग कोरियालाई हतियारमा खर्च गराउनको निम्ति शान्ति सम्झौता नगरिएको भन्दै संरा अमेरिका बलियो भएसम्म युद्धको खतरा रहने बताउनुभयो ।

कोरिया युद्धमा अमेरिका पराजित नभएको भए युद्ध अझ लम्बिन सक्थ्यो भन्दै युद्ध लम्बिएको भए युद्धकै कारण तहसनहस भएको रूस र भर्खरै जनवादी गणतन्त्र चीनलाई युद्ध थेग्न गार्हो हुन्थ्यो भन्नुभयो । प्रजग कोरियाले विगत ७० वर्षमा धेरै दुःख खेपेको उल्लेख गर्दै पूर्णतः ध्वस्त भएको प्योङयाङलगायतको पुनर्निर्माण गर्न धेरै वर्ष लागेको बताउनुभयो ।

प्रजग कोरिया नेपालजस्तै सानो भएको तर त्यसले महाशक्तिविरूद्ध युद्ध लड्यो भन्दै उहाँले कोरियाली जनता युद्ध चाहँदैनन् तर  अमेरिकि युद्धको धम्कीसामु झुक्दैनन् भन्नुभयो ।

माओवादी द्वन्द्वको बेला नेपालमा सेना परिचालन नगरिएको सन्दर्भ कोट्याउँदै अध्यक्ष रोहितले माओवादी भारतीय विस्तारवादको गोटी भएकोले सेना हार्नु भनेको भारतसँगको लडाइँ हार्नुजतिकै हुन्थ्यो भन्नुभयो । उहाँले सेना घटाउने कुरा गलत भएको भन्दै देशको रक्षा बलियो नभई हुन्न भन्नुभयो ।

नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले समाजवादी निर्माणमा अगाडि बढिरहेको भन्दै प्रजग कोरियाका जनताले कोरियाली मजदुर पार्टीलाई पूर्णतः साथ र समर्थन गर्दै आएको भनाइ राख्नुभयो ।उहाँले कोरियाली जनताले रगतको मूल्यमा समाजवादी व्यवस्थालाई बचाइरहेको भन्दै संरा अमेरिकी साम्राज्यवाद एकदिन पराजित हुने नै छ भन्नुभयो । राजदूत मानले प्रजग कोरिया स्वतन्त्रता, न्याय र समाजवादको विजयको प्रतीकको रूपमा सदा रहने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति एवम् कोरिया पुनःएकीकरण सहयोग समिति नेपालका अध्यक्ष प्रेम सुवालले अमेरिकी साम्राज्यवादले प्रजग कोरियामाथि विगत ७० वर्षदेखि नाकाबन्दी लगाइरहेको भन्दै तत्कालै नाकाबन्दी हटाउनु पर्ने विचार राख्नुभयो ।उहाँले प्रजग कोरियाले शिक्षा, स्वास्थ्य र रक्षा क्षेत्रमा ठुलो प्रगति गरेको भन्दै प्रजग कोरियाले अपनाएको जुछे विचारले कोरियालाई आफ्नो खुट्टामा उभिन सिकाएको बताउनुभयो ।

कोरिया पुनःएकीकरण सहयोग समितिका सचिव सरोजराज गोसाईले एउटा सानो देशले महाशक्तिलाई पनि घुँडा टेकाउन सक्छ भन्ने इतिहास केलाउन र त्यो इतिहासबाट पाठ सिक्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको हो भन्नुभयो ।


२०८० साउन १६ १४:२२ बजे

प्रतिक्रिया