सुन प्रकरण र अन्य भ्रष्टाचार प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ छ- प्रधानमत्री प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०८० साउन १५ १५:४२ बजे

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको पार्टी पदाधिकारी बैठकमा उहाँले सुन प्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको स्पष्ट पार्नुभयो । यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठुलो मात्रामा सुन बरामद गरेका थियो । हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । मुलुक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचार, अनियमितता, कमिसन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताउनुभएको नेकपा (माओवादी केन्द्) का सचिव दिनानाथ शर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गर्नुभएको छ । उहाँले सो प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।

सरकारले अगाडि बढाएको भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानलाई प्रभावित पारेर अन्यत्रै मोड्न र दोषी उम्काउनका लागि आफ्नो नाम समेत जोडेर प्रचार गरिएको उहाँको भनाइ छ । उपमहासचिव पुनले भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले अगाडि बढाएको अभियानलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिनुभएको थियो ।यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक लगातार बसिरहेको छ । 

केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम् साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ । सो विषयमा समेत आजको बैठकमा छलफल भएको थियो । यस्तै, आगामी मङ्सिरमा विधान सम्मेलनको आयोजना गरी पार्टीको साङ्गठनिक संरचनालाई चुस्त दुरुस्त बनाउने समेत तयारी गरिएको छ ।


२०८० साउन १५ १५:४२ बजे

प्रतिक्रिया