भेनेजुयला पश्चिमी गोलाद्र्धको सबभन्दा ठूलो पेट्रोल उत्पादक देश हो । भेनेजुयलाको राजधानी सहर कराकस हो । कराकसको क्षेत्रफल ९ लाख १२ हजारभन्दा बढी वर्ग किलोमिटर छ यो देश ल्याटिन अमेरिकी ‘मुक्तिदाता’ सिमोन बोलिभारको जन्मभूमि हो । भेनेजुयला संसारको सबभन्दा बढी तेलखानी भएको देश प्रमाणित भएको छ २ करोडभन्दा बढी जनसङ्ख्यामध्ये ६२ प्रतिशत जनता आदिवासीसँग मिश्रित (Mertizos) छन् ।
७२ भन्दा बढी साना–ठूला टापूहरू भएको भेनेजुयला संसारको सबैभन्दा उँचो भरना ‘एन्जेल’ को देश हो । सन् १४९६ मा कोलम्बसले यस देशको भूमिमा पाइला राखेपछि भेनेजुयला स्पेनको उपनिवेश भएको थियो । फ्रान्सेली क्रान्तिको प्रभाव ल्याटिन अमेरिकामा फैलियो । सन् १७८० देखि १८१६–१७ सम्म दक्षिण अमेरिकाको गौरवमय स्वतन्त्रताको अवधि थियो । तर, सन् १८३० मा बोलिभारको मृत्युपछि ‘ग्रेट कोलम्बियाली गणतन्त्र’ टुक्रियो र कोलम्बिया अलग्गिएर पुनः ‘न्यू ग्रेनाडा’ भयो । भेनेजुयला अलग राज्य बन्यो सन् १८५० सम्म त्यहाँ दास प्रथा कायम रह्यो । संरा अमेरिकाको चर्को दबाब थियो । सन् १९५८ मा नयाँ संविधान लागू भयो, ५ वर्षको कार्यकालको राष्ट्रपति र दुई सदनको प्रतिनिधिसभा सुरू भयो । अहिले भेनेजुयला २३ प्रान्तमा विभाजित छ ।
संरा अमेरिकी साम्राज्यवादको कठपुतली सरकारहरूको विरोधमा गुरिल्ला युद्ध चल्दै गयो । ती गुरिल्ला सेनाहरूले अमेरिकी गुप्तचर र सैनिक अफिसरहरूलाई अपहरण गर्थे र सजाय दिन्थे । सन् १९६४ को अक्टोबर महिनामा भियतनाममा अमेरिकी रक्षामन्त्री म्याकनमाराको भ्रमण हुँदा भियतनामी क्रान्तिकारी न्युगेन भान त्रोईले म्याकनमाराको हत्या गर्न खोजेका थिए । न्युगेन असफल भए र उनलाई ज्यान सजायको घोषणा गरियो । त्यसैबेला भेनेजुयाली गुरिल्लाहरूले एक अमेरिकी सैनिक अधिकारीलाई अपहरण गरेर न्युगेन भान त्रोईसँग साट्ने प्रस्ताव राखेका थिए । त्रोईलाई फाँसी दिइएमा अमेरिकी सैनिक अधिकारीलाई पनि गोलीले उडाउने खबरदारी गर्दै भेनेजुयाली गुरिल्लाहरूले आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पूरा गरेका थिए ।
सिमोन बोलिभार १७८३–१८३० सिमोन बोलिभार (Simon Bolivar) भेनेजुयलाको राजधानी काराकसका एक सम्पन्न जग्गाधनी र महाजनका छोरा थिए । उनी सन् १७८३ मा काराकसमै जन्मिएका थिए । उनले अत्यन्त राम्रो शिक्षा पाएका थिए र युरोपको पूरा भ्रमण गरेका थिए । उनले युरोपमा बस्दा भोल्टाएर र रूसो जस्ता क्रान्तिकारीहरूको बारेमा गहन अध्ययन गरे तथा आत्मसात गरे । भोल्टाएर भन्थे – धेरै मुसाको शासनभन्दा एक सिंहको शासन राम्रो हुन्छ रूसो भन्थे – “जनता नै सम्प्रभु हो, राजा त जनताको कारिन्दा हो मानिस सबै दाजुभाइ हुन्, संसारमा कोही दास र मालिक हुँदैन ।”
अमेरिका फर्केर उनले मनमनै प्रतिज्ञा गरे –मेरो देशलाई स्पेनियालीहरूको बन्धनबाट मुक्त नगरेसम्म मैले आराम लिनेछैन । बोलिभारले स्पेनियाली सेनासँग लड्न भेनेजुयाली मुक्तिसेना शत्रुलाई निर्माण गरे । लडाइँमा पराजित गर्न र आफ्नो सेनाको उत्साह बढाउन आफूलाई एक जेनेरलको रूपमा विकास गरे । उनले हब्सीहरूलाई दासताबाट मुक्त गरी आफ्नो सेनामा मिलाए तथा युद्धपछि किसानहरूलाई जग्गा दिने प्रतिज्ञा गरे । उनको काम गर्ने शैलीकै कारण उनी एक मुक्तिदाताको रूपमा स्थापित भए ।
बोलिभारले स्पेनियाली अत्याचारीहरूको विरोधमा लड्न युरोपका प्रगतिशील जनतालाई सहयोगका लागि आह्वान गरे । उनको आह्वानबाट प्रभावित भएर स्पेनियालीहरूको विरोधमा सङ्घर्ष गर्न आयरल्यान्ड, बेलायत, जर्मनी, इटाली र पोल्यान्डका दृढ सङ्कल्प भएका ५ हजार स्वयम्सेवकहरू ल्याटिन अमेरिका पुगे । त्यस मुक्तियुद्धमा सहयोग गर्ने अनेक रूसी स्वयमसेवकहरू पनि थिए । धेरै लडाइँहरूमा अनेक बहादुरी देखाएकामध्ये लेफ्टिनेन्ट कर्नेल तन मिनुटा (Ivan Minuta) पनि थिए । बोलिभार युरोपबाट पहिले हाइटी पुगे र पछि भेनेजुयलाको ओरिनोको पुगेर लडाइँ सुरू गरे ।
महादेशीय मुक्ति सेना सन् १८१९ मा स्पेनियालीहरूबाट न्यू ग्रानाडालाई मुक्त गर्न बोलिभारले दक्षिण अमेरिकाको पश्चिमको उँचो पर्वतमाला एन्डिसको हिमाल पहाड चढेर मद्दत गर्न भेनेजुयला छोडे । उनको फौजमा १२०० लडाकूहरू र ९०० घोडा थिए ।
घना जङ्गल, ठूल्ठूला नदी, अग्ला अग्ला पहाड र हिमालको आँधीबेहरीसँग जुझ्दै बोलिभार अगाडि बढे । ठूल्ठूला गोही, सर्प, विषालु माछा, मांसाहारी माछाहरूको छेलोखेलो भएको नदी–नाला पार गर्दै ती सिपाहीहरू अगाडि बढे । तर, धेरै घोडा हिउँमा चिप्लिएर मरे, धेरै स्वयम्सेवकहरू पहाडबाट चिप्लेर खसी मरे, उचाइमा लेक लागेर मरे । त्यस्ता अनेक हण्डर र ठक्कर खाँदै बाटैमा धेरै साथीहरूलाई सहिदको अन्तिम सलामी दिँदै शत्रुसँग लड्न बोलिभारको फौज मोर्चामा पुग्यो । तिनीहरू वीरतापूर्वक लड्दै गए ।
रूकी नामका एक बेलायती स्वयम् सेवकका कमान्डरले आफ्नो रगत बगिरहेको हातको घाउलाई थिच्दै आफ्नो खुट्टाको भरमा उठेर स्वयम सेवकहरु आह्वान गरे– ‘आफ्नो जन्मभूमिको निम्ति लड ।’ एक स्वयम सेवक चिच्यायो “को हो, बोल्ने ?“ अन्तर्राष्ट्रवादी र क्रान्तिकारी बेलायतीले जवाफ दिए, “म जिउँदै छु ।” एक घण्टापछि उनी सहिद भए ।बोलिभारका वीर विद्रोही सेनाले विजय प्राप्त गर्यो र स्पेनियाली सेनाको पराजय भयो । न्यू ग्रानाडा र भेनेजुयला संयुक्त भयो र बोलिभार विशाल कोलम्बियाको नयाँ संयुक्त गणतन्त्रको राष्ट्रपति भए ।
बोलिभार सत्तामा पुगेपछि उनले दास प्रथा उन्मूलन गरे, मालिकहरूलाई आदिवासी जनताले तिर्नुपर्ने नजराना सबै समाप्त गरे तथा ठूलाठूला जमिनदारहरूको जमिनदारी जफत गर्ने ऐन पनि खेस्रा गराए । तर, भनिन्छ शोषकहरू एक भएपछि त्यो ऐन लागू भएन ।बोलिभारले स्पेनियालीहरूबाट मुक्त गरेका सबै गणतन्त्रलाई एक संयुक्त गणतन्त्रमा सङ्गठित गर्ने सपना देखेका थिए । संरा अमेरिका स्पेनियालीहरूबाट मुक्त भएका ल्याटिन अमेरिकी देशहरूलाई आफ्नै पोल्टामा पार्न चाहन्थ्यो । तर, बोलिभारले उत्तरी अमेरिका (संरा अमेरिका) लाई त्यस्तो नगर्न खबरदारी गरे ।
सन् १८२५ मा बोलिभारले लेखे–उत्तरी अमेरिकीहरू हाम्रो निम्ति विदेशी नै हुन् । यसकारण हामी अमेरिकी (ल्याटिन अमेरिकीहरू) को मामिला सल्टाउन तिनीहरूलाई निमयाउने कुरा म स्वीकार्न सक्दिन । त्यसबेला संरा अमेरिकाका राष्ट्रपति जेम्स मुनरो थिए । उनले जेफरसन, म्याडिसन र अन्य मुख्य–मुख्य प्रतिनिधिसभाका सदस्यहरूसँग सल्लाह गरी अमेरिका अमेरिकीहरूको भनी सन् १८२३ डिसेम्बर महिनामा प्रतिनिधिसभामा सन्देश पठाएका थिए ।
त्यसैलाई ‘मुनरो नीति’ भनियो त्यसको मुख्य उद्देश्य हो–
पश्चिमी गोलाद्र्ध अन्य युरोपेली शक्तिहरूलाई अब उपनिवेश कायम गर्न खुला हुनेछैन । पश्चिमी गोलाद्र्धको कुनै पनि भागका युरोपेली शक्तिहरूले हस्तक्षेप गर्न पाउनेछैनन्, त्यस्तो हस्तक्षेपलाई सं।रा। अमेरिकाको शान्ति र सुरक्षामा खतराको रूपमा लिइनेछ । संरा अमेरिकाले कुनै युरोपेली शक्तिको आन्तरिक मामिलामा हस्तक्षेप गर्नेछैन ।
स्पेनियालीहरूमाथि विजय प्राप्त गरिसकेपछि बाहिरबाट आएर भूमिमाथि कब्जा जमाएका जमिनदारहरू र उठ्दो पुँजीपति वर्गले व्यापक जनताको विरोधमा धार्मिक सङ्ख्या, पादरी र सम्भ्रान्त वर्ग सबैलाई एक गराई गरिबहरूलाई आ–आफ्नो जमिनदारी वा भूमि वितरण गर्न अस्वीकार गरे । तर, पनि अर्जेन्टिना, चिली, पाराग्वे, भेनेजुयला, कोलम्बिया, इक्वेडर, पेरू आदि नौ देशमा बोलिभारलाई मुक्तिदाता मान्छन् ।
पुँजीवादी क्रान्तिका अग्रदूत बोलिभार पछि विचलित भए आफ्नो जीवनका पछिल्ला दिनहरूमा उनी जनताबाट टाढिए । सबभन्दा कठिन र निर्णायक समयमा उनी जनतासँगै रहेर जनताप्रति नै समर्पित थिए । तर, उनी एक पुँजीवादी क्रान्तिकारी थिए र पुँजीवादी क्रान्तिको एउटा सीमा थियो । समाजवादी क्रान्तिको परिस्थिति तयार भइसकेको थिएन । फ्रान्स र स्पेन मिलेर पुनः आफ्नो उपनिवेशमाथि कब्जा गरे ।
सन् १८३० मा क्षयरोगका कारण ४७ वर्षको उमेरमा बोलिभार बिते । तर, ल्याटिन अमेरिकी जनताले उनलाई आज पनि एक राष्ट्रिय वीर वा विभूतिको रूपमा सम्मान गर्छन् र उनलाई अमेरिकी उपनिवेशहरूका मुक्तिदाताको रूपमा मान्छन् । उनको सम्झनामा धेरै–धेरै स्मारकहरू स्थापना गरिएका छन्, अनेक स्थलहरू उनको नाममा नामाकरण गरिएका छन् । बोलिभिया देश उनकै नाममा रहन गएको हो । भेनेजुयलाको मुद्राको नाम नै बोलिभार राखिएको छ ।
यसरी ल्याटिन अमेरिका आज पनि बोलिभारबाट प्रेरित छ । बोलिभियामा जस्तै ल्याटिन अमेरिकामा स्पेनियाली उपनिवेशवादीहरूको विरोधमा भेनेजुयला, कोलम्बिया र पेरूमा सङ्घर्ष भएको थियो र सन् १८५० सम्म ती देशहरूमा दास प्रथा कायम रह्यो भने १८८० को दशकसम्म ब्राजिलमा दासप्रथा कायम थियो । ल्याटिन अमेरिकी जनताको स्वाधीनताको लडाइँ सारमा उपनिवेशवादविरोधी पुँजीवादी क्रान्ति थियो । त्यसको मुख्य उद्देश्य स्पेन र पोर्चुगलको औपनिवेशिक दासताबाट मुक्ति थियो । तर, त्यहाँका ठूलठूला जमिनदारहरूबाट किसानहरूले जग्गा पाउन नसकेका समस्या भने यथावत् नै रह्यो ।
तर, मेक्सिकोमा हिडाल्गोर क्युवामा सान मार्टिनजस्ता मुक्तिकामी र क्रान्तिकारीहरू सङ्घर्ष गर्दै गए । ल्याटिन अमेरिकी देशहरूका अनेक कमी कमजोरीहरूले गर्दा बेलायती र संरा अमेरिकी साम्राज्यवादले ती देशहरूमा आफ्नो आर्थिक प्रभुत्व कायमै राखेर भित्री मामिलामा निरन्तर हस्तक्षेप गरिरहे ।
ह्युगो चाभेज ल्याटिन अमेरिकी मुक्तिदाता सिमोन बोलिभारबाट प्रेरित ह्युगो चाभेज २८ जुलाई १९५४ मा भेनेजुयलाको बारिनास प्रान्तको सवानेट सहरमा जन्मेका थिए । उनका बुबा ह्युगो डे लस रेटोज चाभेज र आमा एलेना फ्रियाज से चाभेज दुवै शिक्षण पेशामा संलग्न थिए । चाभेज मिश्रित जातीय परिवारका हुन् ।
सन् १९७५ मा भेनेजुयलाकै सैन्य विज्ञान प्रतिष्ठानबाट स्नातक उत्तीर्ण भएपछि उनले भेनेजुयलाको सेनामा सेवा गरे । सैन्य विज्ञान र कौशलमा स्नातक चाभेज २१ वर्षको उमेरमा सिमोन बोलिभार विश्वविद्यालयमा राजनीतिशास्त्रको कक्षामा सामेल भए । विश्वविद्यालय बीचमै छोडेर उनले केही साथीहरूसँग मिलेर बोलिभारियालीवाद सैद्धान्तिक आधारलाई एक सामाजिक–राष्ट्रवादी संस्थामार्फत त्यसको विकास गरे ।
तत्कालीन भ्रष्टाचारी राष्ट्रपति पेरेजले अन्तर्राष्ट्रिय मुद्रा कोषको सल्लाहमा आफ्नो देशको अर्थतन्त्र नै खलबलिने गरी मुद्रा अवमूल्यन गर्ने, तलब र ज्याला घटाउने कुकृत्य गर्दा त्यसको विरोधमा २७ फेब्रुअरी १९८९ मा आन्दोलन भयो । त्यस आन्दोलनका क्रममा ३००० मानिस मारिएका थिए ।
चाभेज निरन्तर सैनिक सेवामा लागे र मेजर पदमा पदोन्नति गर्दै लेफ्टिनेन्ट कर्णेल पदमा पुगे । त्यसैबेला अर्थात् सन् १९९० तिर आर्थिक र्हासको कारण मूल्यवृद्धि भयो र जनता कष्टकर जीवन बिताउन लागे । त्यसको विरोधमा आफ्ना साथीहरूसँग मिलेर ४ फेब्रुअरी १९९२ मा ५ सैन्य टोलीलाई सञ्चालन गरी राष्ट्रपति भवन, रक्षा मन्त्रालय, ला कारतोबा भन्ने एक सैन्य विमानस्थल र सैन्य सङ्ग्रहालय कब्जा गरी सैनिक विद्रोह गरे । उनी ३८ वर्षका थिए र उनले १७ वर्ष सैनिक सेवामा बिताइसकेका थिए ।
उनको विद्रोहको योजना राष्ट्रपतिलाई बन्दी बनाउने र शासन सत्ता आफ्नो हातमा लिने थियो तर १४ जना सैनिक मारिए, ५० जना घाइते भए र साधारण जनता ८० जना घाइते भए । सैनिक विद्रोह असफल भयो । सन् १९७० को दशकमा मात्रै एसिया, अफ्रिका, ल्याटिन अमेरिका र संसारमा झण्डै ३ महिनामा एउटा सैनिक विद्रोह हुन्थ्यो । चाभेज पक्राउ परी जेल चलान गरिए, उनले जेलमै गम्भीर अध्ययन सुरू गरे ।भ्रष्ट राष्ट्रपति पेरेजलाई प्रतिनिधिसभाले महाअभियोग लगाई हटायो र सन् १९९४ मा राफेल कालडेरा नयाँ राष्ट्रपति चुनिए । नयाँ राष्ट्रपतिले चाभेज र उनको समूहलाई आममाफी दिए २ वर्षपछि उनी कारागारबाट मुक्त भए ।
एजेन्सी
प्रतिक्रिया