अध्यक्ष बिजुक्छेँसँग चिनियाँ नेता युआनको भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०८० साउन ९ १३:४१ बजे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले भेटघाट गर्नुभयो । जनताको सेवा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवबाट नेपाली जनताले सिकेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले चीनबाट सम्पदा संरक्षण, फोहरमैला व्यवस्थापन, कृषि क्रान्ति, रासायनिक मल कारखाना स्थापनालगायत विषयमा सिक्न सक्ने बताउनुभयो ।

नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्ध धेरै पुरानो भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले चीन–नेपालबिचको उच्चस्तरीय भ्रमणले दुई देशबिचको मित्रतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।चिनियाँ प्रतिनिधिमण्डलका नेता युआन चियाच्युनले चीनको पुरानो मित्रसँग भेटघाटको अवसर पाएको उल्लेख गर्दै नेमकिपाले जनताको सेवा गर्ने राजनैतिक प्रतिबद्धता र सांस्कृतिक सम्पदा संरक्षणमा समर्पणबाट आफू प्रभावित भएको बताउनुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनले चीनको भविष्यको बाटो कोरेको उल्लेख गर्दै नेता युआनले अब त्यो बाटो सफलतापूर्वक अगाडि बढाउन योग्य र साहसिला कार्यकर्ताहरूको चयनमा पार्टीले जोड दिइरहेको बताउनुभयो । चिकपाको २० औँ महाधिवेशनले पार्टी निर्माणमा राजनैतिक, वैचारिक र साङ्गठनिक काम तथा अनुशासनको पक्षमा जोड दिएको पनि उहाँले बताउनुभयो ।

भ्रष्टाचारविरोधी आन्दोलनलाई अगाडि बढाइरहेको उल्लेख गर्दै नेता युआनले समग्रमा २० औँ महाधिवेशनले पार्टीमा राष्ट्रपति सी चिनफीङको नेतृत्व र विचार स्थापित गरेको बताउनुभयो ।भेटघाटमा नेमकिपाको तर्फबाट केन्द्रीय सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुनिल प्रजापति सहभागी हुनुहुन्थ्यो भने चिकपाको तर्फबाट टोली नेतासँगै विदेश विभाग उपप्रमुख कुओ थचउ, छोङछिङ नगरको पार्टी स्थायी समिति सदस्यहरू छन मिङपो र लुओ लीन तथा पार्टी विदेश विभागको दक्षिण एसियाली व्युरो प्रमुख छन सिउपीन सहभागी हुनुहुन्थ्यो ।

भेटघाटअघि पोलिटव्युरो सदस्य युआनलाई भक्तपुर दरबारस्क्वारमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, वाग्मती प्रदेश सांसद् सुरेन्द्रराज गोसाई, उपप्रमुख रजनी जोशी, कार्यकारी अधिकृत विजयकुमार शर्मा, कार्यपालिका सदस्य र वडा सदस्यहरूले स्वागत गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलले भक्तपुरको सिंहदर, दरबार, पचपन्नझ्याल दरबार, पाँचतले मन्दिर अभिरुचिपूर्वक अवलोकन गरेको थियो । प्रतिनिधिमण्डललाई स्थानीय जनताको सांस्कृतिक टोलीहरूले परम्परागत बाजा र नृत्यमार्फत स्वागत गरेका थिए भने परम्परागत पोशाकमा दुईतिर उभिएका महिला र विद्यार्थीहरूले ताली बजाएर स्वागत गरेका थिए ।


२०८० साउन ९ १३:४१ बजे

प्रतिक्रिया