सीटीईभीटीले बढायो अचाक्ली शैक्षिक शुल्क, विधार्थी विरोधमा

bimbonline बिम्ब अनलाइन
२०८० साउन २ १०:४० बजे

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको तीनवटा विषयको शैक्षिक शुल्क वृद्धिको निर्णय पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकै पालामा भएको पाइएको छ । मन्त्री पौडेलले आफ्नो कार्यकाल सकिन पाँच दिन अगाडि मात्रै शुल्क बढाउने निर्णय गरेको भेटिएको हो ।सीटीईभीटीका अधिकारी र शुल्क समायोजन कार्यटोलीको लामो समयदेखिको लबिइङका आधारमा मन्त्रीले जाँदाजाँदै शुल्क वृद्धिको निर्णय गरेको पौडेल निकट स्रोतले बतायो । 

सीटीईभीटीले भने मन्त्रीस्तरीय निर्णय र शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझावका आधारमा निर्णय गरिएको जनाएको छ । जसमा २०७१ र ०७२ सालदेखि तोकिएको शुल्क हालसम्म कायम रहेकाले बढाइएको सीटीईभीटीको दाबी छ । तर, कति वर्षमा कति प्रतिशतका दरले शुल्क बढाउने भन्नेबारे कुनै वैधानिक आधार नभएको सीटीईभीटीका उच्च अधिकारीहरू बताउँछन् । 

कुन विषयमा कति बढाइयो शुल्क ? 

सीटीईभीटीले आगामी शैक्षिक सत्रमा निजी शैक्षिक संस्थाहरूका लागि तीनवटा विषयको शैक्षिक शुल्क वृद्धि गरेको छ । परिषद्ले चिकित्सा शिक्षा अन्तर्गतका प्रमाणपत्र तह नर्सिङ (पीसीएल नर्सिङ), प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र डिप्लोमा इन फार्मेसी (असिस्टेन्ट फार्मासिस्ट) को शैक्षिक शुल्क बढाएको हो ।तीन वर्षे कार्यक्रमका लागि निर्धारित नयाँ शुल्क अनुसार आगामी शैक्षिक सत्र २०८०र८१ देखि लागु हुने सीटीईभीटीले जनाएको छ । 

पीसीएल नर्सिङतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसी तर्फ ८६ हजार ६६० रुपैयाँ शुल्क बढाइएको हो । पीसीएल नर्सिङको यसअघिको शुल्क चार लाख ७५ हजार रहेकोमा अब ६ लाख २४ हजार २३० रुपैयाँ भएको छ । त्यस्तै, एचएतर्फ यसअघिको शुल्क चार लाख चारहजार रुपैयाँ रहेकोमा अब पाँच लाख २३ हजार ८ सय २० रुपैयाँ भएको छ ।  फार्मेसी असिस्टेन्टतर्फ यसअघि तीन लाख ३७ हजार रहेकोमा अब चार लाख २३ हजार ६६० भएको छ । 

शुल्क वृध्दिको विरोधमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट विधार्थी सँगठन अखिल (क्रान्तिकारी)ले सिटिइभीटीको केन्द्रिय कार्यालय ,प्रदेश कार्यालयमा धर्ना घेराउ नारावाजी गर्दै शुल्क घटाउन माग गर्दै आएको कुरा विधार्थी नेता पुष्कर जोशीले वताएका छन।



२०८० साउन २ १०:४० बजे

प्रतिक्रिया