काठमाण्डौ।अहिले नेकाभित्र तिव्र सङ्घर्ष चलिरहेको छ । त्यो अन्तरसङ्घर्षसित त्यस भित्रका कतिपय सङ्गठनात्मक पक्षहरू पनि जोडिएका छन, जस्तै कि नेतृत्वको परिवर्तन वा नेकाको रूपान्तरण । तर ती सबै त्यसका आन्तरिक विषयहरू हुन् र त्यसबारे हामीले केही भन्नु छैन । तर त्यो अन्तरसङ्घर्षको एउटा राजनीतिक पक्ष सम्पूर्ण देशको राजनीति र भविष्य समेतसित जोडिएको छ र त्यसबारे नै यहाँ हामीले केही प्रकाश हाल्ने प्रयत्न गर्नेछौँ । नेकाभित्रको अन्तरसङ्घर्षको राजनीतिक पक्ष के हो ? त्यो जान्नु भन्दा पहिले हामीले अहिले संस्थापन पक्षले लिएको राजनीतिबारे केही बुझ्नुपर्ने आवश्यकता छ । अहिले संस्थापन पक्षले, प्रथम, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा तथा प्रतिगमनका बिरूद्ध अडान लिएको छ । त्यो अडानबाट त्यो पछाडि हट्ने त होइन ? त्यसो गर्यो भने पनि त्यो भविष्यको कुरा हुनेछ । तर अहिले त्यसले त्यस प्रकारको अडान लिएको कुरा प्रष्ट छ । द्वितीय, भारतीय वा अमेरिकी साम्राज्यवाद तथा राष्ट्रियताबारे त्यसले ढुलमुल र अवसरवादी नीति लिएको छ । त्यही कारणले हो कि त्यसले संसदमा एमसीसीलाई पारित गर्यो र पछि नागरिकता संसोधन विधेयकलाई पनि पारित गर्यो । तैपनि भारतीय र अमेरिकी साम्राज्यवाद दुबैले जुन हदसम्म चाहान्छन, त्यो हदसम्म नेकाको सस्थापन पक्ष उनीहरूको पक्षमा जान तयार भएको छैन । उनीहरूले (भारत र अमेरिकाले) चाहान्छन, नेका पूरै नै उनीहरूको पक्षमा सामेल होस् र अहिलेको तटस्थ नीतिलाई परित्याग गरेर चीनका बिरूद्ध पूरै खडा होस् । नेका त्यो हदसम्म जान तयार नभएकोले उनीहरूले नेका वा वर्तमान सरकारमाथि पूरै विश्वास गर्न पनि सकिरहेका छैनन् । यहाँ नेकाको संस्थापन पक्षबारे जे भनियो,त्यो कुरा माओवादी र वर्तमान गठबन्धन सरकारबारे पनि सत्य हो ।
अहिलेको नेकाको नेतृत्वमा परिवर्तन गर्न अभियान चलाउनुको पछाडिको मुख्य राजनीतिक उद्देश्य अहिले नेकाको संस्थापन पक्ष वा सरकारले अपनाइरहेका माथिका दुबै नीतिहरूमा परिवर्तन ल्याउनु पनि हो । उनीहरूको त्यो उद्देश्य पूरा भएमा अहिलेको गठबन्धन टुट्नेछ र ओली, कथित स्वतन्त्र राष्ट्रिय पार्टी र राप्रपा समेतसितको गठबन्धन बन्नेछ । स्पष्ट छ कि त्यस प्रकारको गठबन्धनले देशलाई प्रतिगमनतिर नै लैजानेछ । त्यसका साथै उनीहरूको साम्राज्यवादी शक्तिहरूसितको, मुख्यतः अमेरिकी साम्राज्यवादसितको, निकटता बढेर जानेछ । त्यो अवस्थामा नेपालको तटस्थ परराष्ट्र नीति समेत समाप्त हुने र नेपाल पूरै अमेरिकी सैन्य क्याम्पमा जाने समेत सम्भावना हुनेछ । त्यो अवस्थामा अमेरिकालाई आफ्नो इन्डोप्यासिफिक रणनीति पूरा गर्न, एसपीपीलाई समेत पारित गराउन वा चीनसितको अहिले कायम रहेको मैत्रीपूर्ण सम्बन्धमा पनि छेकबार गर्न मदत पुग्नेछ । वर्तमान गठबन्धन सरकार एसपीपीलाई पारित गर्न तयार नभएको कारणले पनि अमेरिका वर्तमान सरकारप्रति असन्तोष भएको थियो र त्यही स्थितिमा नै त्यसले नेपालमा पहिलेको विभिन्न राजनीतिक पार्टीहरूमा घुसपैठ गरेर, सरकारमाथि दवाव दिएर वा भारतको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी स्वार्थहरूलाई पूरा गर्ने नीतिलाई बदलेर प्रत्यक्ष रूपले हस्तक्षेप गर्ने नीति अपनाएको थियो । त्यही क्रममा नै त्यसले अमेरिकाको ‘फ्रिडम पार्टी’ र त्यसको ‘घण्टी’ चुनाव चिन्ह्को अनुसरण गर्दै नेपालमा पनि घण्टी पार्टीको गठन गरेको थियो । त्यस प्रकारको सङ्गठनको निमार्णका पछाडिको उसको उद्देश्य, एकातिर, अहिले सत्तारूढ गठबन्धनमा भएका राजनीतिक पार्टीहरूको अस्तित्वलाई समेत समाप्त गर्नका लागि धम्की दिने र, अर्कातिर, नेपालको संसद र सरकारमा समेत आफ्नो नियन्त्रण कायम गर्ने उद्देश्यले काम गरेको थियो । त्यो घण्टी पार्टीसित नेकाको प्रतिपक्षको पनि निकट सम्बन्ध रहेको कुरा गत चुनावको बेलामा उनीहरूका बीचमा कायम भएको निकट सम्बन्धबाट पनि स्पष्ट भइसकेको छ ।
अमेरिकाको विश्वव्यापी रणनीति कम्युनिस्टहरूलाई पूरै समाप्त गर्ने रहेको छ । त्यो नीतिलाई नेकाभित्रको प्रतिपक्षले पनि अनुसरण गरेको छ । त्यही नीति अनुरूप नै उनीहरूले नेकाको केन्द्रीय समितिमा वामपन्थीहरूसित चुनावमा कुनै गठबन्धन नगर्नका लागि सङ्घर्ष गरेका थिए । यद्यपी संस्थापन पक्षको बहुमतका अगाडि उनीहरू पराजित हुनु परेको थियो । केन्द्रीय समितिमा वामपन्थीहरूसित कुनै गठबन्धन नगर्ने उनीहरूको नीति बहुमतद्वारा अस्वीकृत भएपनि उनीहरूले देशव्यापी रूपमा नै वामपन्थी उम्मेदवारहरूलाई पराजित गर्न खुला रूपले नै प्रयत्न गरेका थिए र त्यसका लागि कैयौँ स्थानहरूमा एमालेका उम्मेदवारहरूलाई पनि समर्थन गरेका थिए । अब ८४ को चुनावमा पनि वामपन्थीहरूसित कुनै गठबन्धन नगर्ने उनीहरूको घोषित नीति रहेको छ । यो कुुरा स्पष्ट छ कि अहिलेको नेतृत्वमा परिवर्तन गर्नुको पछाडिको उनीहरूको एउटा उद्देश्य अहिले संस्थापन पक्षले वामपन्थीहरूसित अपनाइरहेको गठबन्धनको नीतिलाई बदल्नु पनि हो ।
माथिको संक्षिप्त विवरणबाट अहिले नेकाको सस्थापन पक्षका बिरूद्ध चलाइरहेको सङ्घर्षका पछाडिको त्यसको उद्देश्य खाली त्यसको नेतृत्वलाई मात्र बदल्नु नभएर अहिले संस्थापन पक्षले अपनाइरहेका नीतिहरूलाई बदल्नु पनि भएको र त्यो नै त्यसको प्रधान पक्ष रहेको कुरा प्रष्ट छ । त्यसको अर्थ हुन्छ नेकाले प्रतिगमनका विरूद्ध अहिले जे जति अडान लिएको छ, त्यसलाई परित्याग गरेर एमालेसित गठबन्धन गरोस्, प्रतिगमनका विरूद्धको सङ्घर्षको नीतिलाई बदलोस्, भारत र खास गरेर अमेरिकाका पक्षमा प्रत्यक्ष रूपले उभियोस्, नेपालको तटस्थ परराष्ट्र नीतिलाई भारत र अमेरिकाका नीतिहरूका पक्षमा बदलोस् र वामपन्थीहरूसित गठबन्धनको नीतिलाई परित्याग गरोस् । त्यसरी स्पष्ट छ, अहिले नेकाभित्र चलिरहेको अन्तरसङ्घर्ष खाली त्यसको आन्तरिक विषय मात्र नभएर त्यो देशको सम्पूर्ण राजनीति र भविष्यसित पनि घनिष्ठ रूपले जोडिएको छ । त्यसकारण नेकाभित्र अहिले चलिरहेको सङ्घर्ष कुन रूपमा टुङ्गिन्छ ? त्यसले देशको राजनीतिलाई पनि एक वा अर्काे प्रकारले प्रभावित गर्ने कुरा निश्चित छ ।
(लेखक -नेकपा(मसाल)का महामत्री हुनुहुन्छ)
प्रतिक्रिया