देशभक्त, योग्य र नैतिकवान नागरिक तयार गर्न जोड

bimbonline बिम्ब अनलाइन
२०८० असार ३० ११:४४ बजे

भक्तपुर, ३० असार । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई २०७९ पूरा गरेका विद्यार्थीलाई बुधबार बधाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नयाँ पुस्ताले भूगोल र इतिहासको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।देशका राजनीतिज्ञ तथा शिक्षक, प्राध्यापकहरूमा भूगोल र इतिहासको बारेमा सामान्य ज्ञानसमेत नभएको हुँदा देशको अहित भएको उहाँले बताउनुभयो ।

हाम्रा पाठ्यपुस्तक र पाठ्यक्रममा केही गलत तथ्य, तथ्याङ्क तथा जीवनी राखिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष रोहितले यस्ता गलत तथ्यबारे नयाँ पुस्तालाई शिक्षित पार्न र देशभक्त, योग्य र नैतिकवान नागरिक तयार पार्न भक्तपुरले लामो समयदेखि ख्वप विश्वविद्यालय स्थापनाको प्रयास गरे पनि विदेशी दलाल शासक दल तथा नेतृत्वले ख्वप विश्वविद्यालयको विधेयक अगाडि बढ्न नदिएको तथ्य प्रस्ट पार्नुभयो ।

युवा पुस्तालाई स्वस्थ बनाउन र कुलतबाट टाढा राख्न अनिवार्य सैनिक तालिक दिनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले युवाहरू स्वस्थ, नैतिकवान र देशभक्त भए मात्र देश अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष रोहितले नेमकिपाका कार्यकर्ताहरूको निरन्तरको प्रयासकै कारण आज भक्तपुर देशकै लागि मार्गदर्शन बनेको बताउँदै नयाँ पुस्तालाई इमानदार भएर देश र जनताको सेवामा लाग्न सुझाव दिनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सिकाइ निरन्तर चलिरहने प्रक्रिया भएकोले विद्यार्थी तथा शिक्षकहरू अध्ययनशील बन्नुपर्ने बताउनुभयो ।

नयाँ पुस्तामा देखिएको विदेश मोहले परिवार र नातासम्बन्ध तोडिँदै गएकोले यसलाई रोक्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

समाजका टाठाबाठा र जालीफटाहाहरूले देश लुट्नका लागि नयाँ पुस्तालाई राजनीतिबाट टाढा राख्ने दुस्प्रयास गरिरहेको बताउँदै उहाँले यसतर्फ सचेत भएर योग्य नयाँ पुस्ता राजनीतिमा लागेर देशको सेवा गर्नुपर्ने धारणा राख्नुभयो ।

देशलाई माया नगर्नेलाई कसैले पनि माया नगर्ने भएकोले देशलाई माया गर्ने असल नागरिक बन्न विद्यार्थीलाई उहाँले सल्लाह दिनुभयो ।

नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले देशमा राम्रो अर्थशास्त्री तथा राजनीतिज्ञ नभएकोले देश झन्झन् पछाडि परेको प्रस्ट पार्दै राम्रा विद्यार्थीले यस्ता विषय अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो ।

अहिले विश्व अर्थतन्त्र सङ्कटोन्मुख रहेको अवस्थामा चिनियाँ अर्थतन्त्रले संसारलाई बाटो देखाएको उदाहरण प्रस्तुत गर्दै उहाँले परनिर्भर अर्थतन्त्रले देशको हित नहुने बताउनुभयो ।

विदेशमा अध्ययन गर्न जाने प्रवृत्तिका कारण देशको अर्थतन्त्र कमजोर बनेको प्रस्ट पार्दै यसलाई समयमै रोक्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण्को क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताउनुभयो ।

उहाँले अध्यक्ष रोहितको अवधारणाअनुसार भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन प्रयास गरिरहेको र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति तथा पाँच लाखसम्म शैक्षिक ऋण उपलब्ध गराउँदै आएको जानकारी राउनुभयो ।

ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीलाई अरूको करकाप वा लहैलहैमा लागेरभन्दा आफ्नो रूचि र क्षमताअनुसारको विषय अध्ययन गर्न सल्लाह दिनुभयो ।

अरूलाई उज्यालो दिन आफैँ बल्नुपर्ने भएकोले आफू उदाहरणीय बन्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । नर्सिङ समाज नेपालका अध्यक्ष देविका दनेखूले नर्सिङ विषयको बारेमा विद्यार्थीलाई मार्गदर्शन दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू सीतालक्ष्मी प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, मनिषा श्रेष्ठ, सृष्टि प्रधान तथा पूर्व विद्यार्थी तथा इन्जिनियर मोनिका ख्याजूले विद्यार्थीहरूलाई बधाई तथा मार्ग निर्देश गर्नुभएको थियो भने विद्यार्थीहरू जिया सैंजू र सस्मिका लिम्बुले पनि बोल्नुभएको थियो । कार्यक्रमपश्चात् विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।



२०८० असार ३० ११:४४ बजे

प्रतिक्रिया